arrow

दुई दशकको प्रयासपछि चितवनको माडीमा विजुली बल्ने भो; परीक्षण सफल

logo
नारायण ढुंगाना।
प्रकाशित २०७३ जेठ १ शनिबार
electricty.jpg.jpeg
 चितवन। दक्षिण चितवनको माडी नगरपालिकामा दुई दशकको प्रयासपछि आज रातिदेखि विद्युत् परीक्षण सफल भएको छ । उपभोक्ताको फिडरमा इतिहासमै पहिलो पटक आज विद्युत् पुगेको हो । 
 
आज साँझ माडीको उपभोक्ताका लागि पठाउने विद्युत् प्रसारण लाइनमा विद्युत् पठाएर परीक्षण सफल भएको ऊर्जा मन्त्रालयअन्तर्गत उक्त परियोजना हेर्दै आएको योजना तथा प्राविधिक सेवा विभागका सहायक प्रवन्धक विश्वरञ्जन मिश्रले जानकारी दिनुभयो । 
 
“हामीले अहिले सफल परीक्षण गर्‍यौँ, अब स्थानीयलाई विद्युत् दिन कुनै समस्या छैन”– मिश्रले भन्नुभयो– “मागअनुसार प्राथमिकताका आधारमा विद्युत् वितरण हुन्छ ।” 
 
माडीमा २०५१÷५२ देखि नै विद्युत् ल्याउनका लागि पहल भए पनि सफल हुन सकेको थिएन । उक्त समयमा गाडिएका पोलका अझै केही अवशेष बाँकी भएका बेला दुई दशकपछि बल्ल माडीमा विद्युत् पुगेको छ । अहिलेसम्म स्थानीय सोलार र टुकीको सहारामा थिए । 
 
एक वर्षअघि नै विद्युत् उपभोग गर्नुपर्नेमा प्राविधिक समस्याका कारण सफल हुन सकेको थिएन । अहिले भने सबै परीक्षण सफल भएपछि माडीवासी उत्साहित भएका छन् । 
 
माडीमा विद्युत् पठाउन दुईवटा फिडर रहेका छन् । सो फिडरमै आज विद्युत् परीक्षण भएको हो । दुर्ई दशकको पर्खाइपछि स्थानीयको बिजुली बाल्न पाउने आशा पूरा हुन लागेकाले आफूहरु खुसी रहेको स्थानीय गोविन्द न्यौपानेले बताउनुभयो । 
 
गएको बुधबार माडीको शव स्टेसनमा विद्युत् पुर्‍याइएको भएपनि उपभोक्ताको फिडरमा छाडिएको थिएन । 
 
अहिलेसम्म विद्युत् बाल्ने आशा बोकेर बसेका उपभोक्ता यो वर्षदेखि भने उपभोग गर्न पाउने भएपछि खुसी भएको स्थानीय ओमनाथ पाण्डेले बताउनुभयो । 
 
चितवनको सदरमुकाम भरतपुरबाट करिब ४० किमी दक्षिणमा माडी नगरपालिका पर्छ । यो क्षेत्र जान चितवन निकुञ्ज पार गरेर जानुपर्ने भएकाले अहिलेसम्म विद्युत् बाल्न नसकेको हो । अहिले निकुञ्जमा करिब आठ किमीमा जमिनमुनिबाट तार लगिएको छ । 
 
विगतका समस्यालाई समाधान गरेर विद्युत् माडी पुर्‍याइएको चितवनका विद्युत् इन्जिनियर राजेन्द्र पौडेल बताउनुहुन्छ । भरतपुर–माडी ३३ केभी ग्रामीण विद्युतीकरण आयोजना र चनौली–जगतपुर ३३ केभी विद्युतीकरण आयोजनाले यहाँ काम गर्दै आएको छ । 
 
अहिले माडीको एक तिहाइ क्षेत्रमा पोल गाडेर तारसमेत टाँगिएको छ । पहिलो चरणमा पोल गाडेको क्षेत्रमा पनि विद्युत् प्रवाह गर्न स्थानीयले दबाब दिँदै आएका छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ