arrow

प्रदेश दुईका आठैवटा जिल्ला बाढीको जोखिममा, निगरानी गर्न ड्रोन क्यामेरासहित रबरबोट

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ साउन ५ सोमबार
badis.jpg

धनुषा । आइतबारदेखि निरन्तर भइरहेको वर्षाका कारण फेरि प्रदेश नम्बर दुईमा प्रदेशका आठैवटा जिल्ला बाढीको जोखिम बढेको छ। मौसम विद्हरुले भने अनुसार चारदिनसम्म निरन्तर वर्षा हुने बताइएपछि प्रदेशका तटीय क्षेत्रमा सतर्कता अपनाउन निर्देशन दिइएका छन् ।

निरन्तरको वर्षापछि खोलामा जलस्तर बढ्दै गएपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेको हो। खास गरेर वागमती, कमला, बिग्ही, रातु, कोसी नदी क्षेत्रका नागरिकलाई सावधानी अपनाउन प्रदेश नम्बर दुई सरकारले आग्रह गरेको छ  ।

गत वर्ष प्रदेश नम्बर दुईमा बाढीमा बगेर ३८ जनाले ज्यान गरेको थियो भने अन्य पाँचजना माटोको ढिस्कोमा पुरिएर मृत्यु भएका थिए । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बाढीबाट आमनागरिकलाई जोगाउन आफूहरू तयारी अवस्थामा रहेको बताए । पछिल्लो वर्ष आएको बाढी र त्यसबाट भएको क्षतिलाई मध्यनजर गरी प्रदेश सरकारले पूर्वतयारी गरिसकेका मन्त्री यादवले जानकारी दिए। उद्धार एवं बचाव कार्यका लागि प्रयोग हुने सम्पूर्ण उपकरण सुरक्षा निकायलाई जिम्मा लगाइसकेका मन्त्री यादवले बताए । 

मन्त्री यादवले प्रदेश सरकारको तर्फबाट सुरक्षा निकायलाई बाढीबारे निगरानी गर्न ड्रोन क्यामेरासहित मोटर तथा रबरबोट १५ थान, लाइफ ज्याकेट, नाइलन डोरीलगायतका आवश्यक सामग्री उपलब्ध गराइसकेको बताए । यसबाहेक संघीय सरकारसँग समन्वय गरेर हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएका बताए । मन्त्री यादवका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनालाई उद्धार र खोज कार्यसम्बन्धी पूर्व तालिमसमेत दिइएको छ । प्रदेशभित्र तत्काल बाढीको अवस्था नियन्त्रणमा रहेको मन्त्री यादवले बताए ।
 
पूर्वानुमान गरिएअनुसार लगातर वर्षा बाढीका कारण हरेक वर्ष सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका, डाक्नेश्वरी, तिलाठी कोइलाडी, डाक्नेश्वरी, सिरहाको सिरहा नगरपालिका, लहान नगरपालिका, धनुषाको मुखियापट्टि मुसहरनिया, महोत्तरीको जलेश्वर नगरपालिका, मनरासिस्वा, महोत्तरी गाउँपालिका, सर्लाहीको ईश्वरपुर नगरपालिका, विष्णुपुर, चक्रघट्टा, कोडैना र ब्रम्हपुरी गाउँपालिका , रौतहटको गौर, ईशनाथ, राजपुर, परोहा, चन्द्रनगर, बाराको कलैया, फेटा, सुवर्ण र पर्साको पर्सागढी, जगनाथपुर, बहादुरमाई गाउँपालिका बाढीबाट प्रभावित हुँदै आइरहेको मन्त्री यादवले सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ