arrow

वीपी कोइराला कांग्रेसजनले पढ्न नसकेको ग्रन्थ

logo
राजीव न्यौपाने,
प्रकाशित २०७७ साउन ६ मंगलबार
rajeev-neupane.jpg

आज श्रावण ६ गते ३८ औं वी पी स्मृती दिबस। उहाँको संझनामा केहि लेख्न मन लाग्यो । फेरि मनमा उब्जिरह्यो कि यो सजिलो बिषय चाँही होईन । म वीपी कोईरालाको नाति पुस्ताको मान्छे, न मैले वीपी लाई देख्न पाउँनु, न व्यवहार जान्न पाउनु । तर पनि उहाँले जन्माएको पार्टी नेपाली कांग्रेसको एउटा साधारण कार्यकर्ताका हैसियतले आँट देखाउनु पर्ने बाध्यता मलाई छ । तर मलाई निकै सहयोग पनि भएको छ कि उहाँ सगँ संगत गरेका थुप्रै नेताहरुलाई देख्न र भोग्न आजका मितिसम्म पाईनै रहेको छु । उहाँका लेख रचनाहरु, लिखित रुपमै भएपनि महत्वपूर्ण भाषणहरु, दर्शनहरु र वाणीहरु अध्ययन गर्न भने मैले पाईनै रहेको छु । उहाँको बारेमा लेख्दै गर्दा यो मन, मष्तिकले भ्याए सम्म उच्च मेहेनत गर्ने छु । मेरो लेखाईमा कुनै तलमाथि भएमा मेरो अज्ञानताका कारण हुने छ । कहिँ कतै उहाँप्रति लेखाइमा अन्याय भएमा मेरो लेखाई स्वतः अमान्य भएको मानिने छ । तत्कालिन समयमा दक्षिण एशियाकै प्रजातन्त्रवादी, समाजवादी नेता, वीपी कोईराला नेपालको प्रजातान्त्रिक आन्दोलनका सुत्राधार, प्रजातान्त्रिक आन्दोदनका अथक योध्दा, नेपाली काँग्रेसका संस्थापक नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोईरालाका बिषयमा लेख्न अत्यन्तै गाह्रो बिषय हो । 

वीपी कोईरालासँग मेरो परिवारको तीन पुस्ते आस्था र भरोशाको नाता छ । मेरा आदरणिय पिता स्व. गुरुदत्त न्यौपाने, मेरा आदरणिय काका एवं अभिभावकहरु, गोर्खा जिल्ला नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवं जिल्ला बिकास समिति गोर्खाका पूर्व सभापती चन्द्रप्रसाद न्यौपाने, नेपाली कांग्रेस चितवनका पूर्व जिल्ला सभापती टिकाराम न्यौपाने, सत्याग्रही प्रजातन्त्रका सेनानी स्व. चन्द्रकान्त न्यौपाने, सत्याग्रही प्रजातन्तका सेनानी स्व.श्रीधर न्यौपाने र तत्कालिन समयका प्रजातन्त्रका सेनानी स्व.दामोदर तिमल्सेना लगायतहरुबाट मैले पाएको जानकारीनुसार, नेपालको इतिहासमा नै पहिलो पटक जनताको अभिमतध्दारा लिएको निर्वाचन २०१५ साल फाल्गुण ७ गतेबाट शुरु भएको संसदिय निर्वाचनमा नेपाललाई १०९ क्षेत्रमा बिभाजन गरिएको थियो । उक्त निर्वाचनमा नेपाली कांग्रेसले ७४ सिटमा बिजय प्राप्त गरेको थियो । लमजुङ्ग जिल्लालाई क्षेत्र नम्बर १०० र १०१ गरि दुई वटा क्षेत्रमा बिभाजन गरेकोमा मेरो पुख्र्यौली जन्मथलो ऐतिहासीक भूमि दुराडाँडा, देवतापानी १०० नम्बर क्षेत्रमा पर्दथ्यो । उक्त संसदिय निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट हाम्रा काका स्व.कृष्णप्रसाद न्यौपाने र स्व.श्रीकान्त अधिकारीको दावी रहेकोमा, पार्टीले स्व.श्रीकान्त अधिकारीलाई उम्मेदवारी बनाए पछि चुनावी प्रचार प्रसारका क्रममा नेपाली कांग्रेसका संस्थापक नेताहरु वीपी कोईराला, सूवर्ण शम्सेर, गणेशमान सिंह लमजुङको सोतीपसल हुँदै भाईरथी भन्ज्याङवाट कोईरालाफाँट हुँदै घोडामा चढी दुराडाँडा, देवतापानीमा पुगी चुनावी सभालाई संम्बोधन गर्नु भएको, त्यही नजिकका रहेको देवतापानीको खुल्ला खेतमा तयार भएको सामुहिक भान्सामा सबै नेताहरुले खाना खानु भएको थियो। त्यस समयमा महिलाहरुले चोखो एकसरो ध्वती लगाएर भान्से बस्ने चलन थियो । ठूलो भान्सा हुने भएकोले उक्त भान्सामा ८ देखि १० जना सम्म महिला बस्ने गर्दथे । त्यस भान्सामा भान्सेको रुपमा मेरी हजुरआमा स्व.बाटुली देवी न्यौपाने, साईली हजुर आमा स्व.हरीमाया न्यौपाने समेत हुनुहुन्थ्यो । २०१९ सालमा लमजुङ्गबाट बसाई सराई गरि चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.६ देवनगर (साविक गीतानगर गाउँ पञ्चायत वडा नं.—४ देवनगर ) मा स्थायी बसोबास गरी बस्दै गर्दा २०३६ सालको जनमत संग्रह र वी पी कोईरालाको स्वास्थ्य उपचार पछि, तत्कालिन समयमा राजनैतकि रुपमा अन्यौल रहेका बिषय बस्तुहरुलाई स्पष्ट पार्ने अभिप्रायले २०३७ साल फाल्गुण १२ गते बाट चैत्र ५ गते सम्म देशका बिभिन्न ठाँउमा भएका आमसभा र कार्यक्रमहरुलाई संम्बोधन गर्ने क्रममा फाल्गुण २९ गते नारायणगढको क्याम्पा चौरमा भएको आमसभामा वी पी आउने खवरले ७५ बर्ष कि मेरी साईली हजुरआमा हरिमायाँलाई २०१५ सालमा आफैले खाना खुवाएका वीपीलाई नजिकैबाट हेर्ने र फुल दिने जिद्दी गरि आमसभामा जानु भएको थियो। जब वीपीले बोल्ने पालो आएको थियो त्यही बखतमा तत्कालिन पञ्चायतका मण्डलेहरुले बालकुमारी माविको कम्पाउण्डबाट साँढेहरुको गुद्धरमा पेट्रोल राखि आगो लगाई आमसभातिर छोडी दिँदा भागदौडका कारण मान्छे मान्छेले कुचल्दा साईली हजुर आमाको कम्मर  भाँचिन पुग्यो । आर्थिक अवस्थाका कारण, नजिकै उच्च प्रविधिको स्वास्थ्य उपचार सुविधा नभएकाले, घरैमा जडीबुटी उपचार मात्र गर्दा, राम्रो उपचार नपाएरै, थलिएरै २०४० साल भदौ १९ गते मृत्यु भयो । अन्ततः उहाँको वीपीलाई नजिकैबाट देख्ने र फुल दिने इच्छा त पुरा भयो, तर उहाँ आँफै अलि लामो समयसम्म बाँच्ने इच्छा चाँही पुरा भएन । यो घटना हाम्रो न्यौपाने परिवारमा अविस्मरणिय छ । तत्कालिन समयमा वीपी कोईरालासगँ आस्था र भरोसा राख्ने यस्ता परिवारहरु लाखौ लाख थिए । यो त एउटा प्रतिनिधि घटना मात्रै हो ।

पिता कृष्णप्रसाद कोईराला र माता दिव्या कोईरालाको माईलो सन्तानको रुपमा १९७२ साल भदौ २४ गते भारतको बनारसमा वीपी कोईरालाको जन्म भएको थियो । पिता कृष्णप्रसाद, दाजु मातृकाप्रसाद, भाईहरु गिरिजाप्रसाद, तारणीप्रसाद, केशवप्रसाद कोईराला लगाएत कोईराला परिवारका सबै सदस्यहरु राजनैतिक परिर्वतन र सामाजिक रुपान्तरणका पक्षमा सकृय रहेको थियो। परिवार नै राजनैतिक परिवर्तन र सामजिक रुपान्तरणमा सकृय रहेका कारण वीपीलाई बाल्यकालदेखि नै हरेक बिषयमा चासो राख्ने, समाधानका उपायहरुको पहिचान गरि अगाडी बढ्दै जाने दृढ इच्छा शक्तिले वीपीलाई नेतृत्वमा अगाडी आउने, सबैको प्रिय बन्ने वातावरणको सृजना गरेको थियो। वीपी कोईराला नरिसाई सबै सगँ हाँसी हाँसी बोल्ने, जस्तो सुकै दुःख कष्टहरु आई परे पनि संयमित भएर नेतृत्व समाल्ने, ठूला ठूला जोखिमहरु उठाउन तयार हुने, निडर स्वाभिमानी स्वभावका हुनु हुन्थ्यो । उहाँ सबै उमेरका नेता तथा कार्यकर्ता साथीहरुले सजिलो गरि वीपी बाबु भनि बोलाउँदा खुसि नै हुनु हुन्थ्यो ।

तत्कालिन राणा शासनका बेलामा राजनैतिक परिवर्तन र सामाजिक रुपान्तरणका बिषयमा कुरा मात्रै गर्दा जेल जानु पर्ने, ज्यान समेत जाने र सर्वस्व हरण भई देश निकाला समेत गरिदिने प्रसस्त संभावनाहरु हुन्थ्यो । पिता कृष्णप्रसाद, उहाँ र भाईहरु लगाएत परिवारका सबै सदस्यहरु  राजनैतिक परिवर्तन र सामाजीक रुपान्तरणका अगुवाको रुपमा चिनिनु हुन्थ्यो । त्यसैले तत्कालिन राणा सरकारले उहाँ र उहाँका परिवारका सदस्यहरुलाई पटक पटक जेल सजायँ, सर्वस्वहरण सहित देश निकाला गरेका थिए । पटक पटक जेल जीवन र देश निकाला गर्नु उहाँ र उहाँका परिवारका सदस्यहरुका लागी एक पाटाका दुई सिक्का जस्तै थियो। उहाँ प्रजातान्त्रिक भावनाबाट प्रेरित भएर भारतमा अंग्रेज बिरोधी अभियानमा लाग्दा १९८७ सालमा पहिलो पटक जेलको यातना सहनु पर्यो । नेपाल र भारतमा गरि पटक पटक ३ बर्षको जेल यातना सहनु पर्यो र नेपालको सुन्दरीजल जेलमा मात्रै लगातार ८ बर्ष जेल जीवन बिताउनु भयो । वीपी कोईरालाको जीवन नै सहि रुपमा भन्ने हो भने आज सम्म कसैले पढ्न नसकेको ग्रन्थ हो ।

वीपी कोईरालाले गरिब, किसान, मजदुर, बिध्यार्थी, शिक्षक, निजामती कर्मचारी, व्यापारी, डाक्टर, इन्जिनियर, पाईलट, वकिल, सैनिक, भूपु सैनिक, भूपु राष्ट सेवक, पत्रकारहरु लगाएतका बिषयमा उनिहरुको अवस्था, समस्या, उनिहरुको राष्ट्र निर्माणका लागी क्षमता र योग्यताका बारेमा सबैलाई मान्य हुने सर्बमान्य सिध्दान्त उहाँमा थियो ।

जननायक वीपी कोईरालाले भन्ने गर्नुहुन्थ्यो, हाम्रो देशमा १०० जनामा ९० जना गरिब र श्रमजिवी छन् । जसलाई बिहान बेलुका खान लगाउनको समस्या छ, हो नेपाल भनेको तिनै खान लगाउन नपाउने गरिब किसान र श्रमजिवि मजदुरहरुको हो । जब म नेपालको कल्पना गर्न थाल्दछु तिनै गरिब, श्रमजिवि नेपालीहरुको तस्विर मेरो मनमा झल्झली आउँछ । हामी राजनितिमा लागेको खान नपाएको पेटमा अन्न जाओस्, हाँस्न नपाएको ओठमा हाँसो आओस्, रोगीले समयमा नै औषधी पाओस्, पढ्न नपाएका केटाकेटीहरुले पढ्न पाउन भनेर नै हामीहरु राजनितिमा लागेका हौं। मन्त्री हौंला, ठूलाठूला कुर्सीमा जाउँला भनेर राजनिति गरेका होईनौ । वीपी कोईराला समाजवादका बिषयमा भन्नुहुन्थ्यो कि समाजवाद भनेको, हाम्रो मुलुक किसानहरुको, गरिबहरुको, श्रमजीवीहरुको मुलुक हो । जस्ले गाउँमा बस्ने गरिब, किसान र श्रमजीवीहरुको भलाई गर्दछ । जसले उनिहरुको मुहारमा मुस्कान ल्याउन सक्दछ । त्यहि नै असली समाजवाद हो । के आज  नेपाली काँग्रेस पार्टीमा किसान, गरिब र श्रमजिवीलाई चिन्ने, नेता छ ? के गरिब, किसान र श्रमजिविले नेपाली काँग्रेसको नाम लिन्छ ? जब गरिब र श्रमजिवि जनताले नेपाली कांगेसलाई चिन्दैन अनि कसरी वीपीलाई चिन्दछ ?

अहिले हामीले सत्य मानी देखिरहेका छौं की असली राष्ट्वादीहरु, प्रजातन्त्रवादीहरु इमान्दार ब्यक्तिहरु जो शोषण, भष्टाचार, दुराचार, अत्याचारको बिरोधमा छन् । बिस्तारै बिस्तार पार्टीका गतिविधिहरुबाट उनीहरु टाढा हुने अवस्था आउँदै छ । तर जसले आज देशलाई, पार्टीलाई यस अवस्थामा ल्याए, जो बाहिरबाट संचालित छन् र अरु राष्ट्रपति बफादार छन् पार्टीभित्र उनिहरुको हालिमुहाली बढ्दै गईरहेको छ । त्यसैले त अहिले राष्ट्रियता, पार्टी र लोकतन्त्रप्रति नै खतरा उत्पन्न भईरहेको छ । 

आज देशमा परिर्वतन भएको यतिका बर्ष भइसकेको तर, देशमा धेरै शासकहरु आए, गए तर देश र जनताले के पाए । यसको जिम्मेवारी लिने कोही छ, महामानव वी पी कोईरालाले २०१६ सालमा यो मुलुकको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुदाँ जनताको बिचमा कसम खाएर भन्नु भएको थियो कि म १५ बर्षमा सबै नेपालीहरुलाई मेरो हैसियत बरावरको बनाउने छु, तर आजसम्म देशमा कति जना प्रधानमन्त्रीहरु भए कसैले यसरी भन्न सकेको छ ।

संविधानका बिषयमा वीपी कोईरालाको आफनो स्पष्ट धारणा थियो कि संविधान भनेको त्यस्तो हतियार हो । जसले जनताको भलाई पनि गर्न सक्दछ र शोषण पनि गर्न सक्दछ । संविधानअनुसार शासन सत्ता सञ्चालन गर्ने शासक पनि प्रजातान्त्रिक आचरणको हुनु पर्दछ । संविधानमा लेखिने कुराहरु जनताको पक्षमा हुनु पर्दछ । त्यसैले त एक थान असली र लोकतान्त्रिक संविधानका लागी हजारौ हजार नेपालीहरुले बलिदानी दिनु पर्यो, हजारौ हजार मानिसहरु घाईते, अपाङ्ग, घरवारबिहीन हुन पुगे । तर देश र नेपाली किसान, गरिब र श्रमजिवी जनताले न्याय भने आजका मितिसम्ममा पनि पाउन सकेका छैनन् ।

वीपी कोईरालाले चिन्ता ब्यक्त गर्दै भन्नु हुन्थ्यो कि देशको राष्ट्यिस्तरदेखि तल्लोस्तर सम्ममा यहाँ एउटा यस्तो बर्ग हुन्छ । न त्यो सामन्त हो, न पूँजीपती । पूँजीपती बर्गलाई पनि म धेरै राम्रो व्यापार, व्यवसाय गरेर प्रसस्तै धन आर्जन गर्न सकुँ भन्ने, आम्दानी धेरै भएपछि मेरो पनि र देशको बिकाश हुन्छ भन्ने स्वार्थ हुन्छ । तर उसले श्रमजिवि मजदुरहरुको मैले कति शोषण गरि रहेछु भन्ने ख्याल राख्दैन । त्यस्तै अर्को सामन्ती बर्गलाई पनि खेतिपातीमा स्वार्थ हुन्छ । यद्दपी उसले किसान र श्रमजिविहरुको शोषण गर्दछ, तैपनी पानी परोस्, उब्जनी धेरै होस् भन्ने उसको चाहाना हुन्छ । यहाँ एउटा खतरनाक बर्ग छ, देशको मथिल्लो तल्लो तह देखि तल्लो सम्म जो अधिकारको केन्द्रमा बस्दछ धन कमाई रहन्छ । त्यस बर्गलाई देशको, किसानको, गरिबको, श्रमजिविहरुको कुनै वास्ता हुदैन । देशको बजेट र बाहिरबाट बिभिन्न दातृ राष्ट्हरुबाट आएको बजेट समेत अधिकांश हिस्सा प्रत्यक्ष अप्रत्यक्ष रुपमा उसैको पकेटमा जान्छ । देशमा जती ब्यापारको नाउँमा कालो बजारी हुन्छ त्यसमा पनि उसैको हिस्सा हुन्छ । उ केहि काम गर्दैन बिहान उठेदेखि सुटेड बुटेडमा नै हुन्छ, सबै भन्दा धेरै सम्पती आर्जन गरेको हुन्छ । उसको जीवन शैली पूँजीपती र सामन्ती बर्ग भन्दा माथिल्लो स्तरको हुन्छ, त्यो एउटा भुँईफुट्टा बर्ग हो । अहिले नेपाली कांग्रेसको केन्द्रीय तहदेखि स्थानिय तहसम्म त्यहि भुईफुट्टा वर्गको जालोले ढपक्कै ढाकेर कांग्रेसलाई चल्न बल्न नदिई अठ्याई रहेको छ । यो जालो तोड्न नेपाली कांग्रेसका माथीदेखि तलसम्मका इमान्दार र असली नेता तथा कार्यकर्ताले भेउ नै पाउन सकेका छैनन् । किनकी अहिले उनीहरुलाई पार्टी भन्दा गुट ठूलो हो भनी आन्तरिक प्रशिक्षण चलाइएको छ । सबै गुटमा असल मान्छेहरु हुन्छन् भन्ने चेतनाको कमी छ र उनिहरुले गुटका नाममा तिनै भुईफुट्टा बर्गलाई नेता मान्नु पर्ने बाध्यता उनिहरुलाई छ । अब हामी अड्कल लगाउँ त ति गुटमा समर्पित नेता तथा कार्यकर्ताहरुले नेपाली काँग्रेसलाई, जननायक वीपीलाई कसरी चिन्छन् त ? पार्टी जती सुकै पुरानो भएपनि, आर्दश र सिध्दान्त राम्रो भएपनि त्यसमा काम गर्ने सबै तहका नेता तथा कार्यकर्ता असल भएनन् भने आर्दश र सिध्दान्तको केहि अर्थ रहँदैन ।

जननायक वीपी कोईराला कम्यूनिष्टहरु र पुर्व पञ्चहरुका बिषयमा बडो स्पष्ट हुनुहुन्थ्यो की, कम्यूनिष्टहरु जनताका बिचमा कोरा आर्दशका कुरा गरेर, चर्का आकाश पाताल जोड्ने कुरा गर्दछन्, जनतालाई दिग्भ्रमित पार्दछन् । पूर्व पञ्चहरु व्यवहारीकताका कुरा गरेर अलमल्याउने कोशिस गर्दछन् । यिनीहरुसँग कुनै पनि हालतमा सगँसँगै राजनैतिक यात्रा गर्नु भनेको प्रजातन्त्रको हत्या गर्नु जस्तै हो । तर नेपाली काँग्रेसले केबल शक्तीका लागी २०४६ सालको आन्दोलनदेखि आजका मितिसम्म कुनै न कुनै ढगंले नेपालमा रहेका बिभिन्न नामधारी कम्यूनिष्टहरुको सगंतलाई छोड्न सकेको छैन । हाल आएर माथिल्लो तहदेखि तल्लो तहसम्मका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता हुदाँ हुँदा भोट साटासाट गर्ने, सत्ताको मोलमोलाईचा गर्ने देखि, आश्र्चर्य लाग्दो कुरा के छ भने दिउँसो, दिउँसो कम्यूनिष्टहरुको चर्को बिरोध गर्ने, रात परेपछि कम्यूनिष्टहरुसँग सत्ता र नीजि स्वार्थका लागी सम्झौता गर्ने चरित्रले नेपाली काँग्रेसको आन्तरिक संगठन अत्यन्तै कमजोर हुँदै गईरहेको छ ।

जननायक वी पी कोइरालाले भन्ने गर्नु हुन्थ्यो की जुनै पनि तहको जनताको प्रतिनिधिले जनताको सेवा गर्दा वा उनिहरुका नाममा योजना बनाउँदा गरिब किसान, श्रमजिवि मजदुरको तस्विर अगागी राखेर योजना बनाउनुपर्छ। के आजका जनप्रतिनिधिहरुले त्यसो गरेका छन्? आजका हाम्रा जनप्रतिनिधिहरुले किसान, गरिब, मजदुरहरुलाई चिन्दछन् ? जव जनप्रतिनिधिहरुले उनिहरुलाई चिन्दैनन् भने, नेपाली काँगेसलाई कसरी चिन्दछन्, वीपीलाई कसरी चिन्दछन् त ? के पार्टीले यस बिषयमा ख्याल राखको छ ?

वीपी कोईरालाको जीवन दुःखै दुःखमा बितेको हामी पाउँदछौ । व्यक्तिगत सुख, सुविधामा उहाँले आफुलाई कहिल्यै पनि ख्याल गर्नु भएन । एउटा स्मरणिय घटना छ, २०१६ सालमा वीपी कोईराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुदाँ, उहाँकी धर्मपत्नी शुसिलाले वीपी कोईरालासगँ काठमाण्डौं एउटा आफ्नै घरको इच्छा राख्दा उहाँले शुसिला आमालाई काठमाण्डौंमा हामीलाई किन घर चाहियो । हामीहरु यहाँ राम्रै सगँ बस्न पाइरहेछौ, बिराटनगरमा हाम्रो आफ्नै घर छ त भनेर सम्झाउनुभयो। अन्ततः शुसिला आमाको काठमाण्डौको घर इच्छा वीपीको जीनकालमा पुरा भएन। वीपी कोईरालाले चाहेको भए त्यो त मामुली कुरा थियो । के आज हाम्रो पार्टीमा यो हिम्मत र तागत भएका नेताहरु छन् । के उनीहरु नेपाली कांग्रेसको चरित्र र आर्दश भित्र उनिहरु पर्दछन् । यो २१ औं शताब्दी हो, सुचना तथा सञ्चारको युग हो यो । मानिस, किसान होला, गरिब होला, श्रमजिवी होला, तर उ सुचनामा धनी छ, सबै कुराको उसले हेक्का राखिरहेको छ। गू र गोबरलाई छुट्टाउन उ सक्दछ। 

आज नेपालमा जननायक वीपी कोईरालाको आर्दश, बिचार, सिध्दान्त, जीवन शैलीलाई बुझ्ने नेता तथा कार्यकर्ता नेपाली काँगेसमा छन् ? दुखका साथ भन्नुपर्छ छैनन्। अलि अलि गर्दै हरेक अधिबेशनबाट बिस्तापित हुँदैछन् । वीपी काईरालाको सिध्दान्त र बिचारलाई नबुझ्ने मानिसहरुको बाहुल्यता भएपछि, आज नेपालको राजनीतिमा वीपी कोईरालाको बिचार र सिध्दान्त अस्ताउन लागेको डाँडा पारिको घाम जस्तै भएको छ । हामी स्पष्टताका साथमा भन्न सक्छौं की, विश्व मानचित्रमा र विश्व राजनितिमा नेपाल प्राकृतिक स्रोत साधनको हिसाबले हराभराको देश हो भने, राजनैतिक र नैतिक रुपले मरुभूमीको देश हो । 

अत्यन्तै शालिन र भ्रद स्वभावका धनी जननायक वीपी कोईरालालाई नेपालमा धेरैले चिन्न र बुझ्न सकेनन् । आज धेरै पक्षहरु पछुतो मानिरहेछन् । धेरैले वीपी नेपालको भूगोलमा जन्म लिनु नै बिश्वमा प्रजातान्त्रिक अभियानका लागी ठुलो क्षती हो पनि भनेका छन् । सौभाग्यले वीपी नेपालमा जन्मनु भएको थियो, तर हाम्रो देशको राजनितिले उहाँलाई पहिचान गर्ने क्षमता समयमै राख्न सकेन । अभूतपुर्व क्षमताका धनी वीपी लाई आज सबैले संम्झी सम्झी पछुतो मानिरहेका छन् । 
(लेखक राजीव न्यौपाने, नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनका सचिब हुन् ।)

email:- rajeevneupane99@gmail.com



नयाँ