बीपी विचारको सान्दर्भिकता  

प्रमोदहरी गुरागाँई, प्रकाशित मिति : २०७७ श्रावण ६ मंगलबार
प्रमोदहरी गुरागाँई

मानिसको जीवनमा असल साथी चयन गर्ने अवसर हुन्छ तर असल छिमेकी संयोगको विषय हो । विविध कारणले मानिस बसाइँ सराई गर्दछ । बसाइँ सराई अभाव वा उच्च जीवनको खोजिको परिणाम हो । व्यक्तिलाई अवसर हुन्छ बसाइँ सराईको तर राष्ट्रले बसाइँ सराई गर्न सक्दैन । राष्ट्रको जीवन, आफ्नो छिमेकीसंगको सकारात्मक वा नकारात्मक अन्तरक्रियामा अघि बढिरहन्छ । भूगोल, जनसंख्या, आर्थिक अवस्था, सैन्य शक्ति आदि दृष्टिकोणहरुबाट कुनै पनि राष्ट्र बलियो वा कमजोर हुन सक्छ । तर, असल मनसायको सम्बन्ध सधैंव बलियो हुन्छ । बिश्वासिलो सम्बन्धलाई कुनै पनि तत्वहरुले प्रभावित पार्न सक्दैन । चेतना, बिज्ञान, समय आदिले शक्तिको मापन फेरिइ रहन्छ । 

बीपी कोइरालाको भौतिक शरीर नष्ट भएको ३८वर्ष भयो । राजनीति स्वतन्त्रता,  समान अवसर, समानता र राष्ट्र निर्माणमा बहुआयामिक योगदानको अनिवार्यतालाई बुझेका बीपी कोइरालाको जीवन रोचक, कहालिलाग्दो तर सन्तुलित यात्राको समग्रतामा विश्लेषण गर्न सकिन्छ ।

चुम्बकीय व्यक्तित्व 
झट्ट हेर्दा कवि, दार्शनिक जस्तो लाग्ने बीपीको व्यक्तित्व आकर्षक थियो। बीपी कोइराला सामाजिक संवाद ध्यानपूर्वक गर्नु हुन्थ्यो । यसकै परिणाम थियो, बीपी कोइरालासंग रिसाएका वा असन्तुष्ट मानिसहरु उहासँगको संवाद पछि सन्तुष्ट वा निस्तेज हुन्थे । बीपी कोइरालाको सामु पृथक विचार राख्ने सहज वातावरण थियो । बीपी कोइरालाले आफ्ना समकक्षीहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, शुवर्ण शमशेर राणा, सुर्यप्रसाद उपाध्याय आदि साथीहरुलाई सम्झाउन नसकेको र आफू एक्लो बृहस्पति भएको धारणा बिबिध आलेखहरुबाट पाइन्छ । तथापि योग्य साथिहरुसँगको निरन्तर सहयात्रा बीपी कोइरालाको चुम्बकीय व्यक्तित्वकै परिणाम मान्न सकिन्छ ।

राष्ट्रवादी र कुटनैतिक मर्यादाका स्रोत 
नेपाली वर्तमान राजनीति मुखाले राष्ट्रवादको चपेटामा छ । राष्ट्रियता, राष्ट्रवादी आवरण भावनात्मक ठगी मार्फत सत्तारोहण गर्ने भर्याङ बनेको छ । बीपीले माटोको संरक्षण र नागरिकको अनुहारको आभामा राष्ट्रियता प्रतिबिम्बित हुने बताउनु भएको छ । बीपीले कर्म मार्फतनै नेपालको सार्वभौमिकताको उचाइ अन्य राष्ट्रहरु बराबर भएको प्रमाणित गर्नु भएको छ ।

बीपी कोइराला प्रधानमन्त्री हुँदा नेपालको कुटनितिक सम्बन्ध भारत, अमेरिका, बेलायत र फ्रान्स गरि जम्मा चारवटा देशसंग मात्र थियो । आफ्नो १८ महिने कार्यकालमा थप १६ वटा देशसंग बीपीले कुटनितिक सम्बध निर्माण गर्नुभयो । समकालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु इजरायल र पाकिस्तानसंग सम्बन्ध राखेकोमा सन्तुष्ट थिएनन् । आफ्नो प्रधानमन्त्रीत्वकालमा बीपीले २०१६ माघ ३ देखि १६ गतेसम्म भारतको औपचारिक भ्रमण गर्नुभयो । नेहरु चाहन्थे नेपाल भारतको चाहना बमोजिम उसैको सल्लाहमा मात्र चलोस । तर बीपी दुई देशबिच मैत्रीपूर्ण सम्बन्ध भएपनि दुबैको सम्बन्ध सार्वभौम मुलुकको जस्तो रहनु पर्छ भन्ने मान्यता राख्दथे । यसै अवसरमा नेहरुले बीपीलाई  भन्नुभयो "बीपी तपाईंको लगत्तै हुने चीनको भ्रमणमा यी यी विषयमा कुरा गर्नुपर्छ । " बीपीको उत्तर थियो " चीनसंग के विषयमा कुरा गर्ने वा नगर्ने मलाई थाहा छ । यो नेपालको आन्तरिक मामला हो । "

बीपीले २०१६ फागुन १३बाट दुई साता लामो चीनको भ्रमणको लागि प्रस्थान गर्नुभयो । बीपीको स्वागतार्थ आफ्नो विदेश मन्त्री र उच्च अधिकारिका साथ चीनियाँ प्रधानमन्त्री चाउ एनलाई स्वयं विमानस्थल पुग्नु भएको थियो । सोही समयमा चीनले नेपालको आर्थिक विकासको लागि बिनासर्त १० करोड भारतीय रुपैयाँ दिन सहमत भयो ।

बीपी माओ त्से तुङ भेटघाट र सगरमाथा प्रकरण
बीपी कोइरालाले चीन भ्रमणको समयमा कम्युनिष्ट पार्टीका अध्यक्ष माओ त्से तुङसंग भेट्ने इच्छा बमोजिम भेट भयो । भेटघाट बीपी कोइराला बस्नु भएको होटलमा नै भएको थियो । भेटमा माओले " सगरमाथालाई दुबै देशको साझा चुचुरो बनाउन र मितेरी चुचुरो नामाकरण गर्न प्रस्ताव गर्नुभयो । " बीपीले असहमति जनाउदै भन्नुभयो " यो त हाम्रो देशभित्र छ । कसरी साझा चुचुरो बनाउने ? " माओले प्रश्न गर्नुभयो " तिम्रो देशमा पर्छ कसरी भन्ने ? यसको नेपाली नाम त छैन । " बीपीले तत्कालै भन्नुभयो , ' यसको नेपाली नाम " सगरमाथा " हो । वरु चिनियाँको नाम छैन , चोमोलुङ्मा त तिब्बती नाम हो ।' भ्रमण अवसरमा दुई देशवीचको सिमाङ्कनको टुङ्गो दुवै देशको बराबरी सदस्य रहने गरि संयुक्त टोली अर्थात् संयुक्त सिमा समिति मार्फत गर्ने सम्झौता भयो ।

नेपालको निमन्त्रणालाई स्विकार गरि चीनका प्रधानमन्त्री चाउ एन लाई नेपाल भ्रमणमा आउनु भयो । २०१७ वैशाख १६गते ग्यालरी बैठकमा आयोजित पत्रकार सम्मेलन मार्फत चाउ एन लाईले भन्नुभयो " हामीले आफ्नो नक्सा फिर्ता गरेर नेपालको नक्सा स्वीकार गरिसक्यौं । सगरमाथा नेपालीको हो । दक्षिणबाट आरोहण गर्नेलाई नेपालले र उत्तरबाट आरोहण गर्नेलाई चीनले अनुमति दिनेछ । नेपाल एउटा सानो मुलुक हो । हामीसंग त्यत्रो बिशाल क्षेत्रफल छ । केही सय वर्ग माइल नेपालले लियो भनेपनि हामीलाई फरक पर्दैन ।"

बीपी कोइरालाकै प्रधानमन्त्रीत्व कालमा २०१७ असार १५ गते मुस्ताङको नेपाली भूमिमा चीनियाँ सेनाको गोलीबाट सुबेदार बमप्रसादको घटनास्थलमै मृत्यु भयो । १७ जना नेपाली कर्मचारी, उनिहरुको घोडा र सामान चीनियाँ सेनाले लिएर गए । उक्त घटनाको भत्सर्ना गर्दै बीपीले चीनका प्रधानमन्त्री चाउ एन लाईलाई पत्र लेखे र ५० हजार क्षतिपूर्ति माग गरे । उक्त घटनामा चीनले " केही तिब्बती बिद्रोहीहरुले चीन-नेपाल सिमानाको चीनियाँ क्षेत्रमा गोलमाल मच्चाएको र बिद्रोहीहरुलाई दबाउने क्रममा उक्त घटना घटेको स्विकार गर्यो । " यस घटनामा चीनले नेपालसंग माफी माग्दै, क्षतिपूर्ति बापत ५०हजार रुपैयाँ समेत पठायो । अब आइन्दा कुनै हालतमा पनि चिनियाँ फौज बिद्रोहीहरुको पिछा गर्दै नेपालतर्फ चीनको सिमाना नाघ्ने छैन भनी प्रतिबद्धता ब्यक्त गर्यो । यो बीपीको कुटनैतिक सफलता थियो ।

नेपाली कांग्रेसलाई भारत परस्त भन्ने आरोप लगाताररुपमा आजपनि लगाइरहेका छन् । तर सत्यता चीनसंगको सिमा विवादमा भारतका बीपीको समकालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले भारतीय संसदलाई सम्बोधन गर्दै " नेपालमाथि कुनै प्रकारको आक्रमण हुनु भारतमाथिको आक्रमण हो " भन्ने अभिव्यक्ति दिनुभयो । बीपीले नेहरुको भनाइप्रति कडा प्रतिवाद गर्दै भन्नुभयो " नेपाल सार्वभौम मुलुक हो । नेहरुको अभिव्यक्तिप्रति हामीलाई आपत्ति छ । " बीपीले सार्वभौम देशको प्रधानमन्त्रीको हैसियतमा आफ्ना समकक्षीहरुसंग संवाद गर्नु हुन्थ्यो । भारतको इसारामा चल्न कदापि तैयार हुनुभएन । तसर्थ विश्लेषकहरुको विश्लेषण छ, २०१७ पौष १ गतेको घटनामा अप्रत्यक्षरुपमा भारतको बीपीसंगको असहमति पनि प्रमुख कारणहरु मध्ये एक हो । 

राष्ट्रियताको सन्दर्भमा बीपीले राजाको घाँटीमाथि आफ्नो घाँटी भएको अभिव्यक्ति दिनुभएको छ । विश्व राजनीतिमा भइराखेको परिवर्तन, घटनाक्रम र हेर्दा हेर्दै सिक्किमको भारतमा भएको विलय जस्ता घटनाक्रमको विश्लेषणबाट राष्ट्र जोगाउन उक्त धारणा व्यक्त गर्नुभएको हो । यसकै परिणाम हो, मेलमिलापको नीति र बीपीको स्वदेश आगमन ।

वर्तमानमा नेपालमा बिस्तारै चीन हावी भएको विश्लेषणबाट पुष्टि गर्न सकिन्छ । सार्वभौम देश नेपालमा बाह्य शक्ति हावी हुनु ठीक होइन । छिमेकी राष्ट्रहरुसंग नजिक र टाढाको सम्बन्धको झल्को अझै गम्भीर चुनौती हो । यसै सन्दर्भमा बीपीले २०३८ पौष १४गते " हाम्रा छिमेकीहरुलाई चिढाउने काम हामीहरुले गर्नु हुँदैन । म जहिले पनि जोड दिन्छु चीन र भारतको मित्रता होस् भनेर । हिन्दुस्थान वा चीनमा निर्भर रहेर कोही यहाँ राजनीति गर्न चाहन्छ भने त्यो कदापि सफल हुदैन । " भन्ने सत्य प्रकट गर्नु भएको छ ।

प्रजातान्त्रिक समाजवादका प्रणेता
साम्राज्यवादी अवस्थामा बलिया देशले कमजोर देशमा सैन्य उपस्थिति गराएर उपनिवेश खडा गर्दथे । समयले कोल्टे फेर्यो । अहिले आर्थिक माध्यमबाट नव उपनिवेशको निर्माण जारी छ । प्रजातान्त्रिक पद्धतिबाट समानता उन्मुख समाज प्रजातान्त्रिक समाजवादको मेरुदण्ड हो । तसर्थ न त पूँजीवादी, न त साम्यवादी तर प्रजातान्त्रिक समाजवादको व्याख्या र सिद्धान्त निर्माण मार्फत विश्वसामु नेपालको विकास सम्बन्धि छुट्टै धार प्रतिपादन गरेर बीपीले नेपाललाई औपनिवेसिक दलदलबाट बच्ने सुत्र प्रदान गर्नु भएको छ।

साहित्यिक व्यक्तित्व
राजनीतिमा प्रजातन्त्रवादी, कानुनी राज र सामाजिक न्यायको पक्षपाती बीपी कोइरालाको भिन्नै साहित्यिक छवि छ । बीपीले साहित्यका माध्यमबाट मानवअनुभुतिको विस्तार र सौन्दर्यको संस्थापनलाई जोड दिनु भएको छ । आजभन्दा करिब ५० वर्ष अघिको लेखनको प्रतिकुलतामा मनोवैज्ञानिक उपन्यास र कथाहरूको सृजना चानचुने विषय होइन । बीपी साहित्यिक मार्गबाट पनि मानवीय हृदयमा बस्न सफल हुनु भएको छ । वर्तमानमा उठेका लैङ्गिक सवाल , मनोवैज्ञानिक घर्षण र मानवताको घुमाउरो अभिव्यक्ति सुम्निमा, नरेन्द्र दाइ, हिटलर र यहुदी लगायतका सृजनाहरुमा पाइन्छ ।

अन्त्यमा, तस्विरमा माल्यार्पण र प्रतिमा निर्माणको कर्मकाण्डले मात्र कांग्रेसको गरिमा जोगिन्न । जरुरी छ, चित्रको स्मरणसंगै चरित्रको अनुकरण । बीपी, प्रेमील स्मरण र भावपूर्ण श्रद्धाञ्जली ३८ औं स्मृतिमा ।
@PramodHariGura1

सम्बन्धित समाचार

नयाँ