- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मङ्गलबारे । सोमबार राति माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ । इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको उद्धार गरेको हो । माइजोगमाई गाउँपालिका–५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बूलाई नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।
माइजोगमाईको सिरिसे र इलाम नगरापालिका–५ जोड्ने झोलुङगे पुलभन्दा केही माथि रहेको गोठमा दुवैतिरबाट बाढी आएपछि दुवै जना फस्नुभएको थियो । सो खबर पाएलगत्तै पुगेको नेपाली सेनाले उनीहरुको सकुशल उद्धार गरेको थियो । भङ्गालो फाटिएर दुईतिर भएपछि बीचमा रहेको गोठमा उनीहरु आपतमा परेका थिए ।
साँझमा बाढीमा फसेका उनीहरुलाई राति सकुशल उद्धार गरिएको थियो । रातिको समयमा लाइफ ज्याकेट लगाएर आवश्यक सुरक्षाका साथ उनीहरुको सफल उद्धार गरिएपछि परिवारमा समेत खुशीयाली छाएको छ ।
पूर्वी पहाडका विद्युत् उत्पादनमा समस्या
आइतबारदेखि निरन्तर परेको वर्षाका कारण पूर्वी पहाडी जिल्लामा सञ्चालित केही आयोजनाबाट बिजुली उत्पादन बन्द भएको छ ।
अविरल वर्षापछि खोलामा आएको बाढीका कारण इलामसहित पाँचथर र ताप्लेजुङबाट सञ्चालित अधिकांश जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन ठप्प भएको हो ।
जम्मा भएर आएको भेलका कारण कतै विद्युत् उत्पादनगृहभित्र नै पानी पसेर समस्या आएको छ भने कतै पहिरोका कारण पाइपमा समेत क्षति पुगेको काबेली करिडोर प्रसारण लाइन आयोजनाले जानकारी दिएको छ । कतिपय आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको र केही आयोजनाको कम मात्रै बिजुली उत्पादन हुन थालेको छ ।
इलामको पुवाखोला जलविद्युत् आयोजनामा सबै पानी पसेर समस्या भएको छ । त्यस्तै पाँचथरमा सञ्चालित विभिन्न आयोजनाबाट उत्पादन भएको बिजुली घटेको छ ।
पाँचथरमा ३७ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो तर हाल घटेर करिब आठ मेगावाट मात्रै उत्पादन भएको काबेली करिडोरले जानकारी दिएको छ ।
पाँचथर र ताप्लेजुङको सीमामा पर्ने काबेलीका विभिन्न आयोजनाबाट ४० मेगावाट बिजुली उत्पादन हुँदै आएकामा त्यो पनि हाल घटेको छ । वर्षा बढी हुँदा हिउँदका दिनमा कम चलेका आयोजनाको उत्पादन वृद्धि भए पनि पहिरो र बाढीका कारण कतिपय विद्युत् उत्पादनमा क्षतिसमेत भएको छ ।
भोजपुरमा पहिरोको कारण क्षति
लगातारको वर्षाका कारण पहिरो जाँदा भोजपुर जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ । पहिरोका कारण पौवादुङमा गाउँपालिका–५ सानोदुम्मा टीकाराम तामाङको घर पूर्णरुपमा क्षति भएको छ भने सोही वडाका चौहानबारीका जङ्गबहादुर तामाङकोे भान्साघर पुरिएको प्रहरीले जनाएको छ ।
टीकारामको घरको गाह्रो भत्किँदा तामाङको पाँच कुखुरा मरेका छन् । घर भत्किएपछि उनको परिवार स्थानीय गजेन्द्र तामाङको घरमा गई बसेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदीप लामाले जानकारी दिए ।
यस्तै वर्षाका कारण आम्चोक गाउँपालिका–१० पाङ्चामा रहेको लक्ष्मी माध्यमिक विद्यालयको पर्खाल भत्किँदा विद्यालयको शौचालयको सेफ्टीट्याङ्की पूर्णरूपमा क्षति भएको छ ।
त्यस्तै रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा रहेको स्वास्थ्यचौकीको पनि पर्खाल लडेको छ । पर्खाल लडेपछि प्रहरी चौकी वैकुण्ठे जाने भित्री सडक अवरुद्ध भएको छ ।
यसैबीच अरुण गाउँपालिका–४ ओदानेमा पहिरोका कारण बन्द भएको मध्यपहाडी लोकमार्ग एकतर्फीरूपमा सञ्चालनमा आएको छ ।
सोमबार सडकभन्दा माथिबाट पहिरो झरेर अवरोध बनेको राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा आएको हो । पौवादुङ्मा गाउँपालिका–२ स्थित तिवारीभञ्ज्याङमा पनि पहिरोका कारण बन्द भएको मध्यपहाडी लोकमार्गको सडक एकतर्फीरूपमा सञ्चालनमा आएको छ ।