arrow

क्रिकेटमा प्रशिक्षकको खोजी

logo
प्रकाशित २०७७ साउन ६ मंगलबार
nepal-cricket.JPG

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मुख्य प्रशिक्षक नियुक्तिका लागि प्रक्रिया अघि बढाउने भएको छ । हाल रिक्त मुख्य प्रशिक्षकका लागि क्यानले यसै साता दरखास्त आह्वान गर्ने निर्णय गरेको हो ।
 
क्यानको कार्यसम्पादन समितिको बैठकले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सित छलफल गरी मुख्य प्रशिक्षकका साथै महाप्रबन्धक, वित्तीय प्रबन्धक र व्यवस्थापकका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको छ । 

उमेश पटवालले गत वर्ष मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन छ । पहिलो पटक खुला प्रतिस्पर्धाबाट राष्ट्रिय टोलीको प्रशिक्षक छनोट गर्न लागेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । क्यानको बैठकले सातै प्रदेशका लागि सात प्रशिक्षक नियुक्त गर्नसमेत दरखास्त आह्वान गर्ने निर्णय गरेको छ । 

यस्तै विक्रम न्यौपानेलाई नेपाली टोलीको पूर्णकालीन फिजियोका रुपमा नियुक्त गर्ने क्यानले निर्णय गरेको छ । तत्कालका लागि टोलीका सम्बन्धित विषयको समन्वय र व्यवस्थापनको जिम्मेवारीसमेत क्यानले न्यौपानेलाई दिएको छ । मूलपानी क्रिकेट मैदानका लागि सात कर्मचारी थप गर्दै समितिले पोखरा, भैरहवा र वीरगञ्जका लागि एकएक  ‘पिच क्युरेटर’ नियुक्त गर्ने निर्णय गरेको अध्यक्ष चन्दले बताए । 

यसैगरी क्यानका केन्द्रीय सदस्य जयन्ती भट्टको संयोजकत्वमा महिला क्रिकेट विकास समिति गठन गर्ने निर्णय गरिएको छ । उक्त समितिमा प्रदेश समितिमार्फत अन्य सदस्य थप गरिने छन् । आगामी भदौ १५ गतेभित्र क्यानको वार्षिक साधारणसभा सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ