arrow

देशलाई बन्धक बनाईरहेको “प्रधानमन्त्री” पद !

logo
मनोज कुमार कंडेल,
प्रकाशित २०७७ साउन ६ मंगलबार
Singha-durbar-road.jpg

आश्चर्य लाग्छ, जब देश संचालनको प्रमुख कार्यकारी पद “प्रधानमन्त्री”पदले नै देशलाई बन्धक बनाईरहेको देख्दा । हो, आज हामी देखिरहेका छौं, झण्डै ६ महिना देखी “प्रधानमन्त्री”पद “घाडो”भएर उभिएको छ ।

पद आफैमा त के घाडो हुन्थ्यो र तर यसका उत्तराधिकारी सम्झनेहरु र यसका नजिक बस्नेहरुले यो पदलाई डरलाग्दो मजाक बनाएकाछन । पाटीका अध्यक्ष त ३-४ जना बन्न थाले त्यसै गरि संविधान पनि परिबर्तन गरी चाहे जति “प्रधानमन्त्री”बनाउन सक्ने व्यवस्था मिलाउने हो भने कम्तीमा देशलाई नै बन्धकबाट मुक्ती दिलाउन सकिन्थ्यो होला ।

नेता, कार्यक्रर्ता किन र के का लागी ? ढिङ्ग उभिएको छ प्रश्न बनेर । के यिनीहरु केही व्यक्तिहरुको लहड, आग्रहलाई टेवा दिन तिखारिएका टेकामात्र हुन र ? के यिनीहरुमा जिवितता, हेर्ने र सोच्ने क्षमता हुदैन ? यिनीहरु एकाइसौ शताब्दीका रोबोट त पक्कै नहुनु पर्ने हो ।

बलिदान, जनयुद्ध, आन्दोलन, परिबर्तन जस्ता शब्द जनता बहलाउन मात्र प्रयोग गरिएको थियो र ? नेताहरुलाई सोध्नु पर्ने दिन आएको छ । कि यी सबै शब्दहरु इन्द्रजाल जस्तै जनता लठ्याउने जादुमय नाटक मन्चन थियो ? अथवा यि शब्दहरुको परिभाषा नै परिवर्तन गर्नु पर्ने अबस्था सिर्जना भएको हो ?

बिद्धता, बौद्धिक्ता पनि आज किन कित्ता कित्तामा उभिएका छन ? सत्य पनि २ वटा हुन्छ र ? सत्य त सत्य हो । सत्यसँग न भाग्न सकिन्छ न लुक्न । यो त हत्केलाले सुर्य छेकेकोमा बाहादुरी गरे जस्तो न भयो । बास्तवमा हत्केलाले सुर्य होइन आफ्नै आँखा छोपी रहेको हुन्छन ति नौटंकीबाजहरु ।

“प्रधानमन्त्री”पदको भागबण्डाबाट बनेको नेकपा डबल भित्रका डबल अध्यक्ष जति व्यस्त सायद यो देशमा कोही छैन आज । हुनु पर्ने पनि हो । उहाँहरु रातो दिन बालुवाटार, खुमलटार, शितल निबास, कोटेश्बर घन्टौ घन्टा बैठक नै बैठक । लाग्छ डबल अध्यक्ष रातो दिन देश विकासको लागी चिन्तन, मन्थन गरिरहेकाछन् ।

जसरी एक मुर्खले हल्केलाले आफ्नो आँखा छेकेर दुनियालाई सुर्य छेकेको छु भनेर रमाउँछ, कतै यिनीहरु पनि यसरी नै रमाईरहेका त छैनन ? आम नागरिकहरु कोरानाको कहरबाट आक्रान्त छन । व्यापार, व्यावसाय, रोजगार लाथलिङ्ग छ । देश भ्रष्टाचार, अनियमिता र बेथितीले जर्जर भएर थङथिलो भएको छ । भोलीको चिन्ताले ग्रस्त नेपालीहरु आज पनि देश र जनताको भविष्य खोजिरहेकाछन् ।

तर, तर हाम्रा डबल अध्यक्षदय प्रधानमन्त्री पद माथि लुछाचुडी गरिरहेकाछन् । हुन पनि त्यो पाटी मिलनको जोड कुनै देशको भविश्यको खातिर जोडिएको थिएन नै । त्यो आधा आधा प्रधानमन्त्री हुनको खातिर खडा गरिएको एक जादुमय नाटक थियो । त्यही नाटकको अन्त्यको पर्खाइमा रहेको जस्तो भान हुन्छ यो नेपाल मन्च ।

बाढि आओस्, देश नै बगाओस् तर प्रधानमन्त्री पद अटल अमर निशान छाप जस्तै कम्तीमा ५ बर्षको लागी ठप्पा लागोस मेरो निधारमा किनकी म नै “राष्ट्रबादी”हुँ ।

अहँ यो कसरी हुन्छ ? एक चोटी पछाडि फर्केर हेरु त, हामीले आधा आधा अंश लगाएका थियौं । त्यो तमसुक पत्र न च्यातिएको छ न डढाईएको छ कसरी र कस्ले लगायो त्यो निशान छाप ? म कुनै हालतमा मान्दिन !

हाम्रा माहामहिम साक्षीछन, ति पाटी सदस्य भनाउदा भुइमान्छेहरु सबै किनारामा मुन्टो निहुराएर ताली बजाएर बसेका थिए । के ति भुइमान्छेहरुले बजाएको तालीको कुनै मुल्य छैन ? अनि माहामहिमको इज्जतको लागी पनि त तिमीले छोडनु पर्ने हो होइन र ?

हजुर, यसरी आज देशमा “प्रधानमन्त्री”पदको लागी वाकयुद्ध चलिरहेकोछ । अनि अध्यक्षदयको महान इच्छाको खातिर भुइमान्छेहरु सडकमा नेपाली झण्डाको कवच लिएर उभिएकाछन । कोरोनाको यो महामारीमा भुइमान्छेहरुलाई कानून लाग्दैन, नत कोरोना नै संक्रमित हुन्छ ।

भुइमान्छे भन्दा माथिका हावामान्छेहरु (भुइमान्छे भन्दा माथि तर अध्यक्षदय भन्दा तलका मान्छे हावामा अडेको जस्तो भान भएर हावामान्छे भन्न मन लाग्छ) पनि छन उहाहरु सबभन्दा बढि चिन्तीत देखिन्छन । उनीहरुको चिन्ता पनि न देशको छ जनताको छ न भ्रष्ट्रचारको छ । चिन्ता छ त त्यो जादुमय स्वार्थमा एक भएको पाटी दुईहोला की भन्ने । थाहा छैन ति हावामान्छेहरुको स्वार्थ के छ ? तर उनीहरुलाई सिङ्गो पाटी चाहिएकोछ ।

किन सिंगो पाटी चाहिएको छ उनीहरुलाई नि थाहा छैन । मात्र सानो आशा होला, कहि कतै नियुक्ती मिल्ला की ? केही ठेक्कपट्टाहरु हात लाग्ला की ? केही नपाए पनि आफ्ना सन्तान दर सन्तानहरुलाई केही जोहो गर्न सकिएला की ? बस विचराहरु यही बलियो इच्छाशक्ती लिएर बलेको बत्तिमा झुमिरहेकाछन । अन्तत त्यही बत्तीकै रापले मृत्युबरण गरेकाहरु र त्यही बत्तीमा झुमिदा बत्तिनै निभेको इतिहासलाई वेवास्ता गर्दै ।

यो एकताको ३ बर्षले पूर्णत पुष्टि गरेको छ, यो अध्यक्षदयको सत्ता स्वार्थमा उभ्याईएको तासको घर थियो । जब स्वार्थ पुरा हुदैन पक्कै भत्कीनेछ । आश्चर्य लाग्न सक्छ किन यो तासको महल यति विध्न हल्लीदा पनि ढलेकोछैन भनेर । मलाई एक हावामान्छेले भनेको थिए, यो महल ढल्दैन, ढल्ने भए ढलि सक्ने थियो ।

मैले भनेको थिए जबसम्म अध्यक्षदयको स्वार्थ यही महलमा पुरा हुन्छ भन्ने विश्वास रहन्छ तब सम्म अवश्य ढल्दैन । ६ महिना भयो यहि विश्वासको गोलमेड गर्दैछन अध्यक्षदय आज बर्ताको नाममा । जब उनीहरुको विश्वास डगमगाउँछ अनि आ–आफ्नो कुनामा बैठक शुरु हुन्छ ।

अनि भुइमान्छे र हावामान्छेहरुलाई आ–आफ्नो कितामा लाइन लाग्न आदेश हुन्छ । लाज पचेका यी मान्छेहरु मुन्टो निहुराएर लाइन पनि लाग्छन् । फेरी अर्को आदेश आउछ अनि तितर वितर हुन्छन । यसरी आफुलाई बाहादुर देखाई रहेकाछन हाम्रा अध्यक्षदय ।

तर यिनका स्वार्थमा देशलाईनै यसरी बन्धक बनाउने अधिकार कहाँबाट सिर्जित भयो ? अनि देशका माहामहिम प्रत्येक स्वार्थमा साक्षी बस्दा देश अपमानित भएकोमा किन ख्याल गर्दैनन ?

मेरो अन्तमा अनुरोध छ “प्रधानमन्त्री”पदको लागी होइन यी चिन्तन, मन्थन, बैठक देश विकासको पक्षमा गरौं । डरलाग्दो भ्रष्टचार रोक्नको लागी गरौं । हे हावामान्छे र भुइमान्छेहरु हो, कसैलाई पद दिनको लागी लाइनमा नबस्नुहोस । तपाईको पनि आफ्नो स्वभिमान त होला ? जोगाउनुहोस र त देशको स्वभिमान बचाउन सकिन्छ ।

आफ्नो स्वभिमान बचाउन नसक्नेले लाग्दैन देशको स्वभिमान बचाउन सक्छ । यो देशले सत्यबादी नेता, कार्यक्रर्ताहरु खोजेको छ । आफ्ना नेतालाई देबत्वकरण नगर्नुहोस जसले उसैलाई क्षयिकरण गरोस । कम्तीमा भनिदिनुहोस नेतजीहरु तपाईले सुर्यलाई होइन आफ्नो आखा छोपी रहनु भएकोछ ।

देशलाइ यसरी “प्रधानमन्त्री”पदको लोभमा बन्धक नबनाउनुहोस । अब तपाईहरुको स्वार्थमा होइन, देश र जनताको स्वार्थको मुल्यमा पाटी निर्माण गरौं नत्र त्यो पाटीको अस्तित्व विघटनको दिशामा रफ्तारका साथ अघि बढ्नेछ र यीनैले जब आफ्नो स्वार्थ पूरा हुने देख्दैनन विघटन अबश्य गर्नेछन अनि हावामान्छे र भुइमान्छेहरु किनारामा मुन्टो निहुराएर ताली बजाउदै आ–आफ्ना महापुरुषहरुको जयजयकार गरिरहेका हुनेछन् । अनि सिंगो देश रोइरहेको हुनेछ ।



नयाँ