- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
वीपी कोइरालाको जीवन, राष्ट्रिय जीवनमा उहाँको स्थानको बारेमा विचार प्रस्तुत गर्नुभन्दा पुर्व आज पर्न गएको ३८ औं पुण्यतिथि स्मृति दिवशको उपलक्ष्यमा उहाँका प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु । उहाँको भौतिक उपस्थिति नभए पनि उहाँका त्याग, प्रजातन्त्र स्थापनाका लागि गरेको राजनीतिक नेतृत्व र संघर्ष नेपाली समाजका लागि सधैं स्मरणीय छन् र नेपाली काँग्रेस पार्टीका लागि उहाँले प्रतिपादन गरेका सिद्धान्त, आर्दश, दर्शन राजनीतिक यात्रा बनेको छ ।
विश्वेश्वरप्रसाद कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका एक महान् योद्धा हुन् । आफ्नो जीवनमा अत्यन्त कम समय अर्थात् १८ महिना मात्र निर्वाचित प्रधानमन्त्रीका रूपमा सत्ताको नेतृत्व सम्हाल्ने अवसर पाएर पनि चिरकालसम्म सबैको स्मृतिपटलमा रहन र प्रेरणाको स्रोत बन्न सफल कोइराला प्रजातन्त्रका एक महान् सेनानी, समाजवादी चिन्तक एवम् सच्चा राष्ट्रवादी नेताका रूपमा नेपालको राजनीतिक इतिहासमा सुपरिचित छन् । उनी आफ्नो जीवनकालमा त नेपाली राजनीतिको केन्द्रबिन्दु भएर रहे नै, किन्तु देहावसानपछि पनि नेपाली राजनीतिमा उनले एक अमिट छाप छाडेर गएका छन् । त्यसैले वि.सं. २००७ सालको क्रान्तिपछिको ७ दशक लामो प्रजातान्त्रिक आन्दोलनको इतिहास कोइरालाकै सेरोफेरोमा घुमिरहेको आभास मिल्छ ।
२००३ सालमा नेपाली काँग्रेसको स्थापनाकालमा होस् वा सात सालको क्रान्ति, २०१४ सालको सत्याग्रह होस् वा २०३६—०३७ सालको ऐतिहासिक जनमतसंग्रह, यी सबै महत्वपूर्ण राजनीतिक घटनाक्रममा कोइरालाको नेतृत्वदायी भूमिका रहे । नेपाली काँग्रेसको अगुवाइमा भएको सात सालको क्रान्तिबाट नेपालमा एक शताब्दी लामो जहानिया राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापित मात्र भएन, किन्तु उक्त परिवर्तनले नेपाललाई बाह्य संसारसंग सुपरिचित पनि गरायो, जसका कारण नेपालको आर्थिक प्रगतिको द्वार खुल्नुका साथै देशमा एउटा खुला समाजको स्थापना गर्नमा समेत मद्दत मिल्यो । त्यस्तै नेपाली काँग्रेसले सञ्चालन गरेको २०१४ सालको भद्र अवज्ञा आन्दोलनको दबाबकै कारण २०१५ सालमा बालिग मताधिकारका आधारमा पहिलो आमनिर्वाचन सम्पन्न भई तत्कालीन गतिरोधको अन्त्य हुनुका साथै सो चुनावबाट नेपाली काँग्रेस दुई तिहाइ बहुमतले विजयी भई सत्ताको बागडोर सम्हाल्न पुग्यो ।
वीपी नेपालकै इतिहासमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्न पुगे र उनकै नेतृत्वमा नेपाली काँग्रेसको सरकारले क्रान्तिकारी भूमिसुधार, किसानहरूको अधिकारको संरक्षण, जमिनको हदबन्दी, जमिनदारी प्रथा एवम् बिर्ता उन्मूलन आदि कार्यहरू गर्यो । वीपीकै नेतृत्वमा नेपाली काँग्रेसको सरकारले असंलग्न परराष्ट्रनीति अँगाल्नुका साथै निःशुल्क प्राथमिक शिक्षा, प्रगतिशील मजदूर नीति, समाजवादी अर्थव्यवस्था अपनाउने कार्य गर्यो । सो नेपाली काँग्रेस सरकारले किसानहरूलाई आर्थिक सहयोग र सहुलियत दरमा ऋण, सहकारी कृषि, घरेलु उद्योगलाई प्रोत्साहन गर्नुका साथै औद्योगिकीकरणका निम्ति अनुकूल वातावरण सृजना गर्दै तथा वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको थियो । तर, त्यो लोकप्रिय सरकार धेरै दिन टिक्न सकेन । तत्कालीन महत्वाकांक्षी राजा महेन्द्रले २०१७ साल पुस १ गते प्रजातन्त्रको गला निमोठे सैन्यबलको आडमा । प्रधानमन्त्री कोइरालालाई अपदस्थ गरी उनको नेतृत्वको सरकार भङ्ग गरियो र पार्टीहरूमाथि प्रतिबन्ध लगाइयो । वीपी कोइराला, गणेशमान सिंहलगायत काँग्रेसका शीर्षस्थ नेताहरूलाई सुन्दरीजल जेल चलान गरियो ।
वि.सं. १९७१ सालमा भारतको बनारसमा जन्मेका वीपी कोइरालाको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक चेतनाले भरिपूर्ण थियो । उनका पिता कृष्णप्रसाद कोइराला बीसौं शताब्दीको शुरुआतमै आफ्नो प्यारो जन्मभूमि नेपाल छाडेर भारतमा निर्वासन निम्ति जान बाध्य भएका थिए तत्कालीन राणाशासकहरूको विरोध गर्नाका कारण । त्यसबखत उनको अपराध थियो राणा शासकहरूलाई एक गरीब नेपाली पुरुष र एक महिलाले लगाएका च्यातिएका दुई जोर लुगा पार्सल गरेर पठाउनु । उनको त्यस पार्सलको उद्देश्य थियो नेपाली जनताको वास्तविक स्थिति सत्ताको उन्मादमा रमाइरहेका राणाशासकहरूले थाहा पाऊन् भन्ने । त्यसबखत राणाशासकहरू आफू भने मोजमस्तीको जिन्दगी बाँचिरहेका थिए । तर, जनता भोकभोकै मरिरहेको उनीहरूका निम्ति चासोको विषय थिएन । अशिक्षा, गरीबी, भोक र रोगले पीडित नेपाली जनताको वास्तविक स्थिति राणा प्रधानमन्त्रीले थाहा पाऊन् भनी कृष्णप्रसादले त्यति शाहस देखाएकोमा उनले आफ्ना सारा सम्पत्ति त्यागेर विदेशमा शरण लिनुपरेको थियो । त्यसबखत वीपीका दाजु मातृकाको उमेर ९ वर्षको थियो भने उनको उमेर ६ वर्षको मात्र थियो । त्यस ६ वर्षको बालकको मानसपटलमा त्यसैबेलादेखि राणाशासनविरुद्ध आगोको ज्वाला दन्किन थालेको हुनपर्छ । जहानिया राणाशासनको अन्त्य गरिनुपर्छ र हुकुमी शासनको बदलामा नेपालमा पूर्ण प्रजातन्त्रको स्थापना गरिनुपर्छ भन्ने सोचले शायद त्यसै बेलादेखि वीपीको मनमष्तिस्कमा जरा गाडिसकेको थियो ।
सन् १९४० को दशकमा दक्षिणतर्फको छिमेकी देश भारतको स्वतन्त्रता आन्दोलनमा भाग लिई जेलसमेत बसेका कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनको आँधीबेहरी ल्याउन दक्षिण एसियाबाट बेलायती साम्राज्यवाद र उपनिवेशवादको अन्त्य जरुरी थियो भन्ने कुरा राम्ररी बुझेका थिए । क्षेत्रीय भूराजनीतिक वस्तुस्थितिको सही विश्लेषण गरेर नेपालको परिस्थिति अनुरूप नयाँ मोडेलको राजनीतिक प्रणालीको परिकल्पना गर्न कोइराला आफ्नो तीक्ष्ण दिमागको उपयोग गर्न चुकेनन् ।
सन् १९५० को दशकताका विश्व पूँजीवादी र साम्यवादी गरी दुई धारमा विभाजित भएको स्थितिमा रुस र चीनद्वारा एकपछि अर्को गरी पूर्वी युरोप र एसियाका केही देशहरूको साम्यवादीकरण गर्ने प्रक्रिया तीव्र बनाइरहेको स्थितिमा उक्त साम्यवादी विचारधाराको समानान्तर युरोपका केही राष्ट्रहरूमा समाजवादी आन्दोलन विस्तार हुँदै गएको थियो । त्यसप्रकार बढ्दो साम्यवादी प्रभावले नेपाललाई पनि छुन सक्ने हुँदा त्यसको प्रभावलाई रोक्न नेपाललाई अन्तर्राािष्ट्रय समाजवादी आन्दोलनको धारमा समाहित गरी नेपाली काँग्रेसलाई २०१२ सालमा प्रजातान्त्रिक समाजवादको नयाँ आदर्शवादी सोचमा ढाल्न वीपी सफल भए । अहिले वीपीको देहावसानको दशकौं पछि पनि त्यही प्रजातान्त्रिक समाजवादको आदर्शलाई अङ्गीकार गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो बेग्लै पहिचान र अस्तित्व कायम राख्न सक्षम भएको छ, नेपाली काँग्रेस पार्टी ।
वीपीको व्यक्तित्व राष्ट्रियस्तरमा मात्र सीमित नभई तत्कालीन भूराजनीतिमा उदाइरहेका एसियाका अन्य राजनेताहरूको दाँजोमा उनी पुगेको कुरामा शंका गर्ने ठाउँ छैन । एसियाका दुई ठूला राष्ट्रहरूका बीच रहेर पनि नेपाललाई आफ्नो बेग्लै अस्तित्व कायम राख्दै विश्वका सामु परिचित गराउन वीपीको ठूलो योगदान रहेको छ । एक सानो अल्पविकसित देशको नागरिक भएर पनि विश्वका अन्य ठूला देशका राजनेताहरूसँग उनी काँधमा काँध मिलाएर हिड्न सक्थे । सन् १९५०–६० को दशकताका भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू र चीनका प्रधानमन्त्री चाउ एन लाईसंग वीपीको मित्रता थियो र उनीहरूवीच बराबर अन्तरक्रिया हुन्थ्यो । वीपीले भारतका समाजवादी नेताहरू राम मनोहर लोहिया र जयप्रकाश नारायण मात्र नभई बर्माका समाजवादी नेताहरूसंग पनि सम्बन्ध राखेका थिए अन्तर्राष्ट्रिय समाजवादी आन्दोलन विस्तार गर्ने क्रममा ।
त्यसबखत नेपालको सरकार प्रमुखका रूपमा नेहरूको निमन्त्रणामा औपचारिक भारत भ्रमणमा जाँदा नयाँ दिल्लीस्थित लालकिल्लामा नेहरूका तर्पmबाट आयोजना गरिएको नागरिक अभिनन्दन समारोहमा वीपीले हिन्दीमा बोलेको देखेर प्रभावित भएका नेहरूले वीपीलाई मलाईभन्दा पनि राम्रो हिन्दी बोल्न आउँदो रहेछ भनी उनको तारिफ गरेका थिए । वीपीले नयाँदिल्ली र बेइजिङको भ्रमणका अवसरमा ती नेताहरूसँग समानस्तरमा आफूलाई राख्दै गरेका भाषण, कुराकानी र व्यवहार सुन्दा उनी एक परिपक्व राजनेता भएको प्रमाणित हुन्छ ।
वीपीले चीन भ्रमणका अवसरमा नेपालका तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको नक्सा त्यहाँका राष्ट्रपति माओत्सेतुङ समक्ष प्रस्तुत गरी सगरमाथामा नेपालको आधा हिस्सा रहेको दाबी गरेका थिए, जसलाई माओले सजिलै स्वीकारेका थिए । त्यस सम्बन्धमा पछि चिनियाँ प्रधानमन्त्री चाउ एन लाई वीपीको निमन्त्रणामा नेपाल भ्रमणमा आउँदा पत्रकार सम्मेलनमा उनले भनेका थिए कि चीन र नेपालका तर्फबाट दुई बेग्लाबेग्लै नक्साहरू प्रस्तुत हुँदा माओले नेपालको दाबीअनुसार सगरमाथा चीन र नेपालको सिमानामा अवस्थित रहेको कुरा स्वीकार गरे । चाउ एनलाईले त्यस बखत भनेका थिए सगरमाथा दुई देशको सीमानाको उत्तरतर्फ रहेछ र त्यसको चुचुराको झुकावचाहिँ दक्षिणतर्फ रहेछ । त्यसैले दक्षिणतर्फबाट सगरमाथा चढ्न जो कसैले पनि नेपालको अनुमति लिनुपर्ने कोइरालाको प्रस्ताव चीनलाई स्वीकार्य भएको उनले बताएका थिए । वीपी आफ्नो छोटो प्रधानमन्त्रीकालमा दक्षिणतर्फको छिमेकी नयाँदिल्लीसँग मात्र होइन, उत्तरतर्फको बेइजिङसंग पनि मैत्री सम्बन्ध विस्तार गर्न सफल भए । वीपी र चाउ एन लाईले सन् १९६० मा नेपाल र चीनबीच शान्ति र मैत्री सन्धिमा हस्ताक्षर गरेबाट पनि यो कुराको पुष्टि हुन्छ । पञ्चशीलको सिद्धान्तमा आधारित सो सन्धिअन्तर्गत नेपाल र चीनले एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता एवम् भौगोलिक अखण्डताको सम्मान गर्नुका साथै त्यसले दुई देशवीच शान्तिपूर्ण मैत्री सम्बन्ध स्थापित गरी आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई विकसित र मजबुत तुल्याउँदै लैजाने कुरा उल्लिखित छ । यसरी दुई महान् छिमेकी राष्ट्रहरूसँग मैत्री सम्बन्ध प्रगाढ बनाउँदै सहयोग आदानप्रदान गर्दै लैजान वीपी सफल भए । यसरी अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले आफ्नो परिचय एक सशक्त सार्वभौम राष्ट्रका रूपमा देखाउन सफलता पाएको थियो । कोइराला अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा पनि अहम् भूमिका निर्वाह गर्न सफल भएका छन् । सोसलिष्ट इन्टरनेशनल नामक अन्तर्राष्ट्रिय समाजवादी संस्थाको सक्रिय सदस्य भई उनले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय जगतमा पुर्याउन महत्वपूर्ण योगदान दिएका छन् ।
कोइराला आफ्नो राजनीतिक जीवनमा विभिन्न खाले प्रयोगहरू गरी नेपाली राजनीतिलाई एक प्रकारको गति र दिशा दुवै दिन सक्षम भएका छन् । राजा र जनता मिलेर संयुक्त रूपमा लडिएको २००७ सालको क्रान्ति कोइरालाकै अग्रसरतामा लडिएको थियो भने २०१७ सालको तानाशाही कदमपछि उनले पटकपटक सशस्त्र क्रान्तिको आह्वान गरेका थिए । तर, परिस्थितिको प्रतिकूलताका कारण त्यो सफलताको मार्गमा अघि बढ्न सकेन । २०१७ सालको प्रजातन्त्र विरोधी कदमको लगत्तै पछि नेपाली काँग्रेसले सशस्त्र क्रान्तिको नारा दिएको थियो कोइरालाको नेतृत्वमा । तर, त्यसै बखत उत्तर र दक्षिणका छिमेकी राष्ट्रहरू चीन र भारतबीच तनाव बढेका कारण अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकूल हुन गई सो रणनीति कार्यान्वित हुन सकेन । फलस्वरूप काँग्रेसले फरक कार्ययोजना अपनाउँदै देशभित्र र बाहिरबाट प्रजातन्त्र पुनः स्थापनाका निम्ति सङ्घर्षका कार्यक्रमहरू सञ्चालित गर्दै लग्योे । वीपी र उनका राजनीतिक सहकर्मी गणेशमान सिंह लामो समयको जेल जीवनबाट छुटकारा पाई भारतमा निर्वासन निम्ति जाने क्रममा पनि फेरि दोस्रोपटक सशस्त्र क्रान्तिको नारा दिइएको थियो । तर, छिमेकी देश भारत तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले लागू गरेको सङ्कटकालको मारमा परेपछि भारतीय राजनीति इन्दिरा गान्धी समर्थक र विरोधी गरी दुई खेमामा विभाजित हुन पुग्यो र भारतीय समाजवादी नेताहरू जयप्रकाश नारायण तथा राममनोहर लोहियासंग बढी सामीप रहेका वीपीको सशस्त्र क्रान्तिको नारा व्यवहारमा लागू हुन सकेन । भारतमा सङ्कटकालका कारण आफ्नो राजनीतिक गतिविधि सङ्कुचित हुन पुगेपछि राजनीतिमा सधैं क्रियाशील र गतिशील रहिआएका वीपी त्यो उकुसमुकुसको वातावरणमा छटपटाउन थाले र राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरी २०३३ सालमा स्वदेश फर्के । त्यसबखत नेपालमा पञ्चायतरूपी एकदलीय तानाशाही व्यवस्था विद्यमान थियो र वीपीलाई स्वदेश फर्किनु खतराको घण्टी बजाउनु सरह थियो । त्यसबखत वीपीले भनेका थिए, मेरो घाँटीमा सात ओटा मसिना डोरीहरू बाँधिएका छन् त्यसको अर्थ हो उनीमाथि राजद्रोहका सात ओटा मुद्दा लागेका थिए । हरेक मुद्दामा ज्यान सजायसम्म हुन सक्थ्यो । तर, वीपी त्यसरी विनामतलबको जोखिम मोलेर नेपाल फर्केका थिएनन् । उनले सम्भावित जोखिमको राम्ररी हिसाबकिताब गरेका थिए नेपाल फर्कनुअघि ।
समाजवादी सिद्धान्तको प्रयोगः
मानौं हाम्रो देशमा कुल ५० लाख मिटर कपडा उत्पादन हुन्छ भने डेड करोड जनता तत्कालीन जनसंख्या अनुसार सबैलाई बराबरी बाड्दा त एकजनालाई एक बित्ता मात्र पुग्छ, त्यसबाट कसैको पनि आवश्यकता पूर्ति हुँदैन । त्यसैले पहिला उत्पादन बढाउनुपर्यो र उत्पादन बढाउन पूँजी चाहियो, त्यसको निम्ति पूँजीवाद आवश्यक हुन्छ । उत्पादन पर्याप्त मात्रामा भयो भने मात्र समान रूपमा वितरण गर्न सकिन्छ भन्ने उनको निष्कर्ष थियो । तर, उनी फोर्डको जस्तो मास प्रडक्सन अर्थात् अत्यधिक संख्यामा उत्पादनले मात्र नेपाल जस्तो अल्पविकसित देशको समस्या समाधान हुन नसक्ने विचार व्यक्त गर्दै वितरणमा समानताका लागि समाजवाद आवश्यक पर्ने कुरामा जोड दिन्थे ।
वीपी पश्चिमी देशहरूको विकासको मोडेल हामीले हुबहु नक्कल गर्नुहुन्न भन्ने विचार राख्थे । उच्च प्रविधिको आयात हाम्रो देशलाई सुहाउँदैन, हाम्रा निम्ति अहिलेको भन्दा अलिकति सुधारिएको प्रविधि भए पुग्छ, जसलाई यहाँका जनताले सम्हाल्न सक्छन्, उनको तर्क निकै व्यावहारिक थियो । पश्चिमी प्रविधिको नक्कल गरे त्यसलाई सीधा यहाँ आयात गर्ने प्रवृत्तिले हामीकहाँ गरीब झन् गरीब र धनी झन् धनी बन्ने स्थितिको सृजना हुन्छ भन्ने उनको सोचाइ छ ।
वैदेशिक सहायताबारे त्यसका नकारात्मक पक्षबारे निकै सशङ्कित हुँदै वीपी भन्थे, यस प्रकारको सहायताले हाम्रो विकास प्रक्रियालाई कुनै फाइदा पुग्दैन । त्यसले त केवल त्यस्तो एक त्यस्तो अभिजात्य वर्गको सृजना गर्छ, जसले हाम्रो देशको अर्थतन्त्रको समग्र विकाससंग कुनै प्रकारको सरोकार राख्दैन । यस प्रकारको आर्थिक सहायताले केवल भ्रष्टाचार र गैरकानूनी व्यापारलाई मात्र प्रोत्साहन मिल्छ भन्ने धारणा उनी राख्थे ।
वीपी यसरी महात्मा गान्धी र सुमेकरका ग्रामीण स्वावलम्बी अर्थतन्त्रका विचारहरूबाट प्रभावित भएको देखिन्छ । हेनरी फोर्डको जस्तो केवल मुनाफा केन्द्रित अत्यधिक उत्पादनको सिद्धान्त नेपाल सुहाउँदो नहुने उनको सोचाइ छ । त्यस प्रकारको अर्थतन्त्रको मोडेलबाट विश्वमा उपलब्ध सीमित स्रोत र साधनहरू समाप्त हुने स्थिति उत्पन्न हुन सक्ने र त्यसबाट विकास दिगो नहुने विचार उनी राख्थे । त्यसैले वैकल्पिक विकासका मोडेलको खोजी गरिनुपर्ने आवश्यकता उनी औंल्याउँछन् ।
सरकारी कार्यालयमा राजारानीको फोटो टाँगेको देखेर उनी भन्थे, त्यहाँ एउटा हलो जोतिरहेको किसानको पनि फोटो राखियोस्, ताकि योजनाहरू बनाइदा किसानलाई ध्यान दिन सकियोस् । हाम्रो देश गाउनै गाउले भरिएको हुनाले किसानको हित भएमा मात्र देश अघि बढ्न सक्छ भन्ने उनको दृष्टिकोण निकै व्यावहारिक थियो ।
वीपीको विचारमा उपयुक्त राजनीतिक संयन्त्रविना, जसमा जनताको स्वार्थ गाँसिएको हुन्छ, आर्थिक विकास पनि सम्भव हुन्न । सो विचार उनले १९८१ ताका सिड्नी, अष्ट्रेलियामा सम्पन्न सोसलिष्ट इन्टरनेशनलको एसिया प्रशान्त क्षेत्रको सम्मेलनमा बोल्दै व्यक्त गरेका थिए । राजा महेन्द्रले २०१७ सालमा सैनिक बलले सत्ता हातमा लिदा आर्थिक विकासलाई राजनीतिबाट अलग राख्न सकिन्छ भन्ने विचार राखेका थिए । तर, उनको त्यो प्रयास सफल भएन, वीपी भन्छन् । राजाद्वारा सत्ता हत्याएपछि नेपालको अर्थतन्त्र झन् डामाडोल भयो र देश झन् गरीब भयो भन्ने उनको निष्कर्ष छ ।
२०१५ सालको आम चुनावमा नेपाली काँग्रेसको विजयपछि प्रधानमन्त्री भएका कोइरालाले भनेका थिए नेपाली काँग्रेसलाई तीनचोटी चुनाव जिताउनुहोस्, मेरो जत्तिकै मध्यम आय भएको नेपालीको स्तरमा सारा नेपाली जनतालाई पुर्याउछु ।’ 'मेरो सानो घर, केही जग्गा र एकजोडी गाईगोरु छन् विराटनगरमा' भन्दै अर्को दुईपटक चुनाव जितेपछि सबै नेपाली आपूmसरह हुने उनले परिकल्पना गरेका थिए । तर, १० वर्षमा नै देश विकास गर्छु भनी राजा महेन्द्रले सत्ता कब्जा गरेर केही पनि गरेनन्, उनले पछि २०३७ सालको जनमतसंग्रह अगाडिका आमसभाहरूमा बोल्ने क्रममा सो विचार व्यक्त गरेका थिए ।
वीपीले आजभन्दा साढे ७ दशकअघि नै समावेशी प्रजातन्त्रलाई आत्मसात् गरेको कुरा सुन्दा आश्चर्य लाग्छ । उनका क्याबिनेटमा त्यसै बखत मधेशी, नेवार, जनजाति, महिलालाई स्थान दिएर जातीय र वर्गीय सन्तुलन मिलाइएको थियो । द्वारिकादेवी ठकुरानी वीपीका क्याबिनेटका मन्त्री हुन्, जो नेपालकै इतिहासमा पहिलो महिला मन्त्रीमा गनिन्छन् । त्यसैगरी उनले गणेशमान सिंह, जमानसिंह गुरुङ, प्रेमबहादुर आङदेम्बे, रामनारायण मिश्र, परशुनारायण चौधरीजस्ता व्यक्तित्वहरूलाई आफ्नो मन्त्रीमण्डलका सदस्य बनाएबाट उनी कति दूरदर्शी रहेछन् भन्ने कुरा स्पष्ट हुन्छ ।
सन्दर्भ सामग्रीहरू:— वीपी कोइरालाका सार्वजनिक भाषणहरू, विभिन्न पत्रपत्रिकामा प्रकाशित वीपीका अन्तर्वार्ता र जेल जर्नल लगायत पुस्तकहरु ।
(लेखक भट्ट नेपाली काँग्रेस बैतडीका युवा नेता हुन ।)