arrow

दुई तिहाइको स्थिर सरकारको अस्थिरताका अढाइवर्ष र पच्चिस उदाहरण

प्रधानमन्त्री ओलीबाटै बैकल्पिक प्रधानमन्त्रीको प्रस्ताव – दुई महिनामा ४५ दिन सरकारको राजीनामा बहस !

logo
केदार सुवेदी,
प्रकाशित २०७७ साउन ६ मंगलबार
oli-25.jpg

साउन २,  गतेका हिसावबाट दुईतिहाइको भनी चिनिएको नेकपाका अध्यक्ष केपी ओली सरकारको पाँचवर्षे कार्यकालको  आधा समय (३० महिना) पुरा भएको दिन हो। 

यसको भोलीपल्ट अर्थात अर्को आधासमय खर्च हुनथालेको दिन यही दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा आधाआधा हुनेगरी आलोपालोको माग छाडेको घोषणा गरे ।

यसले कम्तीमा अबको बाँकी समय सरकार भनिए जस्तो  स्थिर बन्छ कि भन्ने ठाउँ रहला तर प्रचण्डको यस्तो आधाआधाको माग छाडेको यो तेस्रो पटक हो । यता ओलीको बोली त्यस्तो र उता प्रंचण्डको शैली यस्तो भएपछि स्थिरतaको अपेक्षा आफै ओझेलमा पर्ने भए ।

आलोपालोको माग छाडदै उठाउँदै

गएको मंसिरमा पनि उनले यस्तो माँग छाडेका थिए विधिवत निर्णय भएर । त्यही बेलादेखि उनी कार्यकारी अध्यक्ष भन्न थालिएका थिए तर त्यो कार्यकारी कस्तो देखियो भने आफु अध्यक्ष रहेको सचिवालयको बैठक डाक्न नपाउने खालको । त्यस्तो बैठकका लागि उनले पनि अर्का अध्यक्षसंग माग गर्ने  गरेका देखियो । त्यसैकारण होला त्यसको सातौं महिना पुग्दा नपुग्दै सुरु भएको यो दलको स्थाइ समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्रित्वबाट राजीनामा मागे ।

आलोपालो छाडिएको घोषणा भएपछि उनीबाट प्रधानमन्त्रीको राजीनामा मागिएको यो दोस्रो पटक हो । गएको बैशाख १६मा पनि यसरी नै राजिनामा माग भएको थियो जसरी असार १६मा भयो । उनले यस्तो माग अघि सारेपछि अरु सदस्यहरुले पनि यस्तो राजीनामा माग्दै जाँदा स्थाइ समितिका ४४ सदस्य मध्ये १९ जनाले यो माग अघि बढाइरहे असारे बैठकमा । यसपछि बैठक नै स्थगित भएपछि यो क्रम अर्थात राजीनामा माग्ने काम  साउन महिनाका लागि सरेको थियो ।

पछिल्लो समय, दोस्रो पटक, प्रधानमन्त्रीबाट महाधिवेशनको प्रस्ताव आएपछि यो राजीनामा माग ओझेलमा परेको जस्तो देखिन्छ यद्यपि स्थाइ समितिको बैठक निरन्तर स्थगनमा छ गएको असार १८ देखि । त्यो बैठक चल्न दिइयो भने प्रधानमन्त्रीको प्रस्तावले उनको राजीनामा माग  टरेको हो कि सरेको हो भन्ने देखिएला । तर अहिले यति चाहिँ भन्न सकिने नै भयो, बाँकी समयको हालत पनि दिनै पिच्छेको अस्थिरताको यही सुइबाट सुरु भएको  अवस्था प्रकट भएको छ ।

साउन ३ गते प्रधानमन्त्रीले महाधिवेशनको मिति मंसिरका लागि प्रस्ताव गरको कुरा आयो । यस अघि बैशाख १७ मा यस्तै स्थाइ समितिको बैठका प्रधानमन्त्रीले नै  आउँदो असोजमा सम्पन्न गर्ने भनी प्रस्ताव गरेका थिए । तर त्यसले कुनै स्थिरता ल्याएन । कारण मानियो, प्रधानमन्त्रीको कार्यशैली  र त्यस वरीपरीवरीबाट उत्पन्न भएको वतावरण । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले देश यस्तो संकटपूर्ण घडीमा रहेको अवस्थामा न सरकार न पार्टी सबै तिर आलोचनामात्रै भैरहेकोलाई ध्यान दिएको जस्तो पाइएन ।   

आफनै बोलीले बोलाएको राजीनामा

दुईतिहाइको स्थिर भनिएको सरकार तेस्रो वर्षमा प्रवेश गरेको यो ०७७ सालका तीन महिनामा प्रधानमन्त्रीको राजीनामाको उच्चस्तरीय माग दुइपटक भैसकेको छ । त्यसको पछिल्लो पोको प्रधानमन्त्री आफैँले खोले –मलाई हप्ता १५ दिनमै हटाउन खोजिदै छ’ भनेर ।  असार १४ मा उनले यस्तो ‘सार्वजनिक’ भनाइ ‘सार्वजनिक’ गरेका हुन । त्यसमा नामै तोकेर विदेशी र आफना नेताहरु पनि लागेको भनिदिए ।  त्यसपछि उनको राजीनामा माग्न थालिएको हो।

यो ठाउँमा विचारणीय के छ भने पछिल्लो पटकको यस्तो राजीनामाको कुरा पहिले सम्झौता गरे अनुसार आधा आधाको पक्षबाट आएको होइन । तीन महिनामा दुइपटक राजीनामा माग्नुपर्ने अवस्था  र त्यसको वरीपरी यो बेलासम्म  पुरै ४५ दिन  (बैशाख ८–२६  असार १० साउन ४)  विते । यस्तो वातावरण प्रधानमन्त्रीले आफनो काम र बोलीबाट सृर्जित गरेका हुन् ।

यता देशको अवस्था भन्ने हो भने  कोरोना महामारी र भीषण बाढी पहिरोबाट ठुलो जनधनको क्षति भैरहेको बेलाको कुरा थियो यो । यस्तो बेला सामान्य रुपले विभिन्न दलदल मिलेर बनेको सरकाको पनि राजीनामा मागिँदैन । तर यो दुइतिहाइको ठाउँमा त्यस्तो भयो त्यो पनि भरखरै एउटा विषयमा राष्ट्रिय सहमति जुटेको दिनकै वरपर हुने गरी ।

सरकारको आयु तेस्रो वर्ष प्रवेश हुदा नहुँदैको राजीनमा प्रसंग प्रधानमन्त्रीले कुबेलामा ल्याएको राजनीतिक दल विभाजनका लागि सजिलो बनाउने अध्यादेश कारक थियो । त्यसमा प्रधानमन्त्री जो यो पार्टीको अध्यक्ष पनि हुन, उनले त्यही दल फोर्न आटेको शंका उव्जायो । त्यो अध्यादेशलाई त्यही दलका नेताहरुले नेकपा फुटाउने अर्थमा लिए । त्यसको अभ्यास प्रधानमन्त्रीले एउटा अलिक सानो दलमा प्रयोग गरेर देखाएका पनि हुन् जो  सफल भएन र त्यसलाई फिर्ता लिइयो । 

दुई महिनाको समय अवधीमा दोस्रो राजीनामा प्रसंग पनि प्रधानमन्त्रीनै कारक मानिएर आयो । प्रधानमन्त्रीले आफुलाई भारतले हटाउन खोजेका र त्यसमा नेपालका नेताहरुले पनि साथ दिएका भन्ने भनाइ सार्वजनिक गरे पछि यस्तो राजीनामा मग्न थालियो । त्यो भनाई नआउँदाको क्षणसम्म यसको स्थाइ समिति बैठकमा सरकारको आलोचना त भैरहेको थियो तर प्रधानमनत्री र अध्यक्षले दुईवटै पद छाडनुपर्ने भन्ने  बहस बैठकमा प्रवेश भएको थिएन । चारदिनकालागि स्थिति भएको बैठकका बीचमा जब प्रधानमन्त्रीले छिमेकी देशको नामै लिएर र त्यसमा आफना नेताहरुलाई जोडेर आफुलाई हटाउन खोजिएको दावी गरे त्यसपछि यो विषय चर्किएको हो ।

प्रधानमन्त्रीबाटै प्रधानमन्त्रीको प्रस्ताव

पछिल्लो प्रधानमन्त्रीबाट राजीनामा हुनु पर्ने कुरा कतिसम्म  गम्भीर थियो भने दुईतिहाईको (विश्वासको मत लिँदा संसदम ७८ प्रतिशत) को समर्थन  रहेका   यति बलिया प्रधानमन्त्रीले आफैले आफनो विकल्पको प्रधानमन्त्री प्रस्ताव गरेका थिए । गएको बैशाख १७ को यो दलको स्थाइ समिति बैठक विवरण यसको आफै साक्षी छ । प्रधानमन्त्री बाटै प्रस्तावित ती व्यक्ति जीवितै छन ।

असारको अर्को राजीनामा प्रसंगमा पनि त्यसरीनै प्रधानमन्त्रीबाटै बैकल्पिक प्रधानमन्त्रीको प्रस्ताव भएका पात्र चर्चामा आए । पहिलोपटकका पात्र हुन बामदेव गौतम भने दोस्रो पटकका पात्र सुवास नेवाङ । यी दुवै भौतिक रुपमा सबैका सामुन्ने नै छन ।

यो माथिको विवरण असारको हो । आफनो आयु अढाइ बर्षबाट उकालोलागको दिन साउन ३ को सचिवालय बैठकमा पनि  प्रधानमन्त्रीले आफ्नो बिकल्पमा उपयुक्त पात्र खोजेर ल्याए आफू राजीनामा दिन तयार भएको बताएका भन्ने समाचार  विवरण बाहिर आयो । त्यसमा भनिएको छ – ‘सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा आफ्नो विकल्पमा कसलाई ल्याउन खोजेको प्रष्ट पार्न सचिवालय सदस्यहरुलाई आग्रह गरेका छन् ।‘प्रधानमन्त्रीबाट मलाई हटाउन खोजेर कसलाई ल्याउन खोज्दै हुनुहुन्छ तपाईंहरुले स्पष्ट रुपमा बताउनुस’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेकपाका एक सचिवालय सदस्यले भने ।’

यसले नै जनाउछ यो राजीनामा प्रसंग सामान्य थिएन । यदि त्यो कुनै असन्तुष्टले उठाएको र तत्कालनै कुनैप्रकारले टालटुलबाट हुने भन्ने लागेको भए प्रधानमन्त्रीले कसै अरुलाई प्रधानमन्त्री बन्ने, बनाइ दिने भन्ने प्रस्ताव गर्थे होलान ? बाहिरनै आइसकेको विवरण हो – यसमा अन्तरराष्ट्रिय शक्ति नै लागे  पछि तत्कालका लागि त्यो स्थिति टर्दै गएका टिप्पणीहरु भैरहेका थिए ।

सरकार अस्थिरताका २५ नमूना शृङ्खला

ओलीले जनमत त पाए तर टिकाउन सकेनन् । प्रधानमन्त्रीले भने जस्तो आफुलाइ हटाउन लागेको भनी देखाइएको बाह्यकारण यो सरकारलाई हटाउने कारक हुँदै होइनन् । आफनो दलभित्रबाट जन्मिएको कारण र त्यसलाइ यथोचित व्यवस्थापन गर्न नसकदा वा नेतृत्व चुक्दा यो अस्थिरता खडा भयो र देशमा जेजस्ता दुःखकष्ट भएपनि सत्तारुढ दलका रमिता मात्रै हेर्न नागरिक विवश भए । ती श्रृखंलाका केहि नमूना –   

एक: एमाले र माओवादी संयुक्त भएर चुनावमा जाँदा जस्तो परिणाम आयो त्यो दुइतिहाईको हाराहरी अर्थात त्यसका लागि १२ मतले मात्रै  कम थियो । तर त्यस अनुसार सरकार गठन हुदा २०७४ फागुन ३ मा ओलीको नेतृत्वमा त्यो दलको मात्रै बन्यो । यहीँबाट सुरुभएको थियो स्थिरता जुन ०७७ साउन २ मा पुरै आधा समय वित्दाको क्षणमा झनै चर्को रुपमा प्रकट भयो ।

दुई: २०७५ जेठ ३ मा यी दूई दल विलय भएर नेकपा जन्मियो । यसको अघिल्लो दिन (२ जेठ) मानै यो एकताको  जग नै  ‘सरकारमा आधाआधाको आलोपालो’ भन्नेबाट निर्माण गरेका थिए नेतृत्वबाट । पाँच वर्षका लागि भएको आवधिक निर्वाचनको मतका विरुद्ध नेकपाका नेताहरुले सत्तालाई सुरुमै जसरी भागवण्डा गरेका थिए त्यसपछि निरन्तर रुपम प्रकट हुनथालेको यो दलभित्रको अन्तरकलह र सरकारमा अस्थिरताको त्यही मान्छन विज्ञहरु ।

तीन: यो सम्झौता भएको चौथो महिना दोस्रो अध्यक्षले पत्रकार सममेलन नै गरेर तत्कालै मन्त्रिपरिषद् हेरफेर गर्ने जानकारी गराएका थिए । यो २०७५ भदौ  २० को कुरा हो। सरकारको प्रमुख प्रधानमन्त्री एकजना छन् तर मन्त्रिपरिषदको फेरवदल भने अर्को व्यक्ति वा पदाधिकारीबाट हुँदै गरेको भन्ने सन्देश आफैमा अनौठो र सरकार प्रमुखका लागि एउटा चुनौती थियो भाग लगाइएको समय पनि चलाउन पाउने नपाउने भन्ने कुरामा । 

चारः त्यसको भोलीपल्ट यी अर्का अध्यक्षले नै आफनो भारत भ्रमण क्रममा  २१ गते भारतको ‘द प्रिन्ट’ कि पत्रकार ज्योती मलहोत्रासँग संवाद गर्दै आलोपालो सहमतिको उठान, अढाइ वर्षपछि आफू प्रधानमन्त्री बन्ने दाबी गरे । भागबण्डाको सम्झौतालाई यो पहिलो पटक र त्यो पनि विदेशी भूमिमा  सार्वजनिक गरिएको घटना बन्यो । पछि बहालवाला प्रधानमनत्रीले यस्तो आलोपालाको कुरा उता गएर किन गरेको  भनी प्रष्टिकरण माग्दा आफुले नबोलेको कुरा छापिएको भनेर जवाफ आएको थियो । यो भ्रमणमा प्रचण्डलाई भारतले बहालवाला प्रधानमन्त्री भन्दा बढी स्वागत गरेको देखियो । यी सबैले यो सरकराको आयु अब दुई वर्षपनि नरहेको भन्ने घोषणा हो । यो बेलासम्म ओली सरकारले सात महिना विताइसकेको थियो । यो अनुसार हुँदा यो सरकारसंग २३ महिना मात्रै बाँकी रहेको अवस्था प्रकट भयो । 

पाँच: यही ०७५ वर्षको असोजमा काठमाडौं–७ मा वामदेव गौतमलाइ उपचुनाव लडाउने र भावी प्रधानमन्त्रीको उमेदवार खडा गर्ने तयारी सुरु भयो । यो बेलासम्म बामदेवलाई उनको चुनावमा ओलीपक्षले हराएको भन्ने स्थापित भैसकेको थियो । उनलाइ यसरी खडा गर्ने भनेको पुरा होस्-नहोस् तर त्यो आलोपालो भनिएको साढे दुइ वर्षको समय भित्रै पनि सरकार फेरवदल हुन्छ भन्ने सन्देश मानियो । यसमा काठमाडौं–७ मा वामदेव गौतमलाइ ठाउँ छाडिदिने रामवीर मानन्धरको राजीनामा पहिले प्रचण्डको हातमा दिइनुपनि एउटा सन्देश नै थियो । यो राजीनामा  र बामदेवको यस्तो उम्मेदवारीका बारे अध्यक्ष ओलीको कडा प्रतिवाद आयो । त्यसपछिको महिना कात्तिक ५ गते काठमाडौ–७ को प्रतिनिधिसभाका सदस्यबाट राजीनामा दिएका रामवीर मानन्धरको राजीनामा ओलीले अस्वीकृत नै गरिदिए ।

छ: यो क्रम बढदैजाँदा २०७५ पुसको तेस्रो साता ललितपुरको एक अपार्टमेन्टमा सचिवालका पाँचजना नेता बसेर अनौपचारिक गठबन्धन निर्माण गरे । यो गठवन्धन पनि सरकारको सन्दर्भमा रहेको मानियो त्यसबेला । यो ठाउँमा सचिवालय सदस्यको बहुमत पक्ष ओली सरकार विरुद्धमा खुल्न थालेको रुपमा लिइएको  थियो ।

सात: पार्टी विलय भएको दोस्रो वर्ष पुरा हुँदै गर्दा २०७६ जेठ १५ गते एउटा लामो अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले आलोपालो सहमतिको उठान विधिवत उठान गरेर त्यो सम्झौता पालना नगरे ठूलो दूर्घटनाको संकेत दिए । यो अन्तावार्ताले देशको राजनीति र सरकारको स्थिरता माथि एकडेढ महिना नै प्रभाव पारी रह्यो ।

आठ: यही क्रममा २०७६ भदौमा ओली इतरका नेताहरुले यो सरकारलाई पूरा कार्यकाल सरकार चलाउन नदिने तर्फ सहमति गर्दै  आलोपालोलाई तिव्रतापूर्वक कार्यान्वयन गराउन सकेसम्मको बल प्रयोग गर्ने भन्ने समझौता भयो यो पक्षमा । यसो गरिनु भनेको यो सरकारको आयु सकिँदैछ भन्ने अर्को सन्देश दिनु थियो । यो अनुसार हुँदा ०७७ साउन २ अघिनै ओलीको पालो सकिने थियो ।

नौ: सरकारको स्थिरतामा निरन्तर हस्तक्षेप जस्तो हुनेगरेपछि २०७६ मंसिर ४ गते सचिवालय बैठकद्वारा २०७५ जेठ २ गतेको आलोपालो सहमति खारेज गरिदियो । अध्यक्ष प्रचण्डले नै आफू कार्यकारी अध्यक्ष भएपछि यो आलोपालो छाडेका भन्ने घोषणा गरे ।

दशः तर फेरी सरकारप्रति नै लक्षित गरेर २०७६ पुस २३ गते भैँसेपाटी गठबन्धनको अर्को जन्म भयो । वामदेवलाई राष्ट्रियसभामा लैजाने परिघटनाको पनि जन्म । यो गठवन्धन अरुबेलाको भन्दा निकै बलियो मानिएको थियो ।

एघार: त्यो गठवन्धनको प्रभावमा नै यो वर्षको फागुन १० गते संविधान संशोधनका लागि कार्यदल गठन, माधव नेपाल संयोजक, खिमलाल देवकोटा र सुवास नेम्वाङ सदस्य । यो कार्यदलले दिएको सुझावको आधारमा राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान शंसोधन गर्ने तयारी । तर यसको व्यापक आलोचना भएपछि फागुन १४ गते नेपाल संयोजक रहेको यो कार्यदल विघटन, वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय भने यथावत ।

बाह्र: धेरै किचलो बढी रहे आफनै दल फुटाएर र त्यस पछि सरकार चलाउने अपुग हुने संख्याका सांसदलाई अर्कोदलबाट तानेर संख्या पुर्‍याउने भित्री उददेश्यका साथ मन्त्रिहरुले विरोध गर्दागर्दै प्रधानमन्त्रीबाट राजनीति दल विभाजनलाइ सजिलो बनाउने भनी चिनिएको विवादास्पद अध्यादेश २०७७ वैशाख ८ गते जारी । प्रधानमनत्रकिो राजीनामा माग्नेसम्मको चर्को विरोध भएछि १२ गते अध्यादेश फिर्ता ।

तेह्र: प्रधानमान्त्रीको यस्तो कदमबाट चिढिएका स्थाइसमिति सदस्यहरुले २०७७ वैशाख १० गते बैठक माग । हस्ताक्षरकर्ताहरु २० जनाको संख्या । ४४ सदस्य मध्ये यो बैठक बोलाउन ठूलो संख्या भएको अवस्था। प्रधानमन्त्रीको अध्यादेशले उव्जाएको प्रतिकृया मानिएको ।

चौध: २०७७ वैशाख १५ गते प्रधानमन्त्री ओली हटाउन सांसदहरुको हस्ताक्षर सुरु  प्रधानमन्त्रीद्वारा पनि जवाफी हस्ताक्षर संकलन । प्रधानमान्त्रीका पक्षमा बालुवाटारमा गरिएको हस्ताक्षर संकलनमा आवश्यक बहुमत नपुगेका भन्ने विवरण सार्वजनिक । 

पन्ध्र: यो विवादबीचमा २०७७ वैशाख १७ गते बसेको सचिवालय बैठकमा अर्काअध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्रीको राजीनामा माग । यो बेलासम्म सचिवालयमा ओली अल्पमतमा । 

सोह्र: २०७७ वैशाख २० गते वामदेव गठबन्धनबाट पछि हटेर ओलीपक्ष बहुमतमा पुगोको स्थिति प्रकट । तत्कालका लागि ओलीको सत्ता सङ्कट टरेको अनुमान  । यो बीचमा बामदेवलाई प्रधानमन्त्री बाटै प्रधानमन्त्री बन्न प्रस्ताव । यो प्रसतावकाबारे बामदेवबाटै जानकारी । त्यही प्रस्तावबाट बामदेवले क्याम्प परिवर्तन गरको खुलासा । 

सत्र: २०७७ वैशाख २० गतेको सचिवालय बैठकमा बामदेवका नाममा टियरग्या स हानेको भन्ने प्रधानमन्त्रीको व्यंग्य पूर्ण जानकारी  । यो बीचमा चिनीया राजदूतबाट सबैनेता संग भेटवार्ता ।

अठार: सदस्यहरुको हस्ताक्षरबाट बोलाइएको २०७७ वैशाख २५ गतेका लागिको  स्थायी कमिटी स्थगित । यसपछिको  वैशाख ३१ स्थायी कमिटी पनि बैठक नबसी स्थगित ।

उन्नाइस: २०७७ असार १० गते स्थायी कमिटी बैठक सुरु । विभिन्न कार्यक्रम रहेको भनी त्यसपछि असार १६ गते सम्मका लागि बैठक स्थगित । 

बीस: स्थायी समिति बैठक पर सरेको यही बीचमा २०७७ असार १४ गते ६९ औं मदनजयन्ती कार्यक्रम प्रधानमन्त्री निवासमा आयोजित । त्यसैदिन प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति । भारतले आफूलाई हप्ता १५ दिन भित्रै हटाउन लागेको र पार्टीकै सदस्यले सहयोग गरेको आरोप ।

एक्काइस: २०७७ असार १६ गते प्रधानमन्त्री ओलीको १४ गतेको अभिव्यक्तिलाई लिएर प्रचण्ड, नेपाल, खनालसहित १६ स्थायी कमिटी सदस्यद्वारा राजीनामा माग । प्रचण्डले भारत होइन आफुले राजीनामा मागेको भन्ने स्पष्टोक्ती । यहीँ बाट बहसको विषयान्तर ।

बाइस: २०७७ असार १७ गते झम्सिखेलको होटेलमा ३१ जना स्थाइ समिति सदस्यका भेला, प्रधानमन्त्रीलाई दुवै पदबाट हटाउने निर्णयलाई झनै प्रभावकारी ढंगबाट प्रस्तुत गर्ने थप दृढता व्यक्त  ।

तेइस: २०७७ असार १८ गतेदेखि स्थायी कमिटी बैठक एक दिन विराउदै बोलाइदै  र  स्थगित गरिदैका २०,२२,२४ र  २६ सम्मजारी । २६ पछि एकैचोटी साउन २ मा । साउन २ बाट पनि पर सरेर ४ गते । त्यो बाट पनि फेरी पर सरेर साउन  ६ गतेका लागि तय । असारका प्रारम्भिव बैठक स्थगन भैरहेकै एक दिन असार १८ मा प्रधानमन्त्रीबाट पूर्वसभामुख तथा नेकपा संसदीय दलका उपनेतालाई  प्रधानमन्त्री बनाउने भन्ने प्रस्ताव अर्का अध्यक्ष समक्ष प्रस्तुत । यो पक्षबाट त्यो प्रस्ताव अस्वीकार ।

चौबीस:  साउन २ को स्थाइ समिति बैठक स्थगित गरेर साउन ३ मा सचिवालय बैठक बोलावट । त्यसमा प्रधान्त्रीबाट मंसिरमा महाधिवेशनको प्रस्ताव । प्रचण्ड र ओली मिलेका आरोप । यसैदिन मिलापत्रका लागि दुवै अध्यक्ष राष्ट्रपति निवासमा साढे दुईघण्टासम्म । पार्टीका काममा राष्ट्रपतिको प्रयोग भएकोमा व्यापक आलोचना । प्रचण्डबाट ‘परिवन्दमा पारेर’  राष्ट्रपतिकहाँ लगिएको  भन्ने आरोप ।

पच्चिस: यो ०७७ असारमा यता नेकपाका निरन्तर यस्तो तानातान चलिरहदा फेरी चिनियाँ राजदूतको सकृयता । कुनै कार्यक्रम नभै राजदूतको यस्तो भेटघाट राष्ट्रपतिसम्म नै । नेपाल सरकारको प्रतिनिधि विना नै राजदूतले राष्ट्रपति भेटेको र त्यसका लागि राष्ट्रपति पनि तयार भएकोमा व्यापक आलोचना । यसबारे राष्ट्रपतिदेखि प्रधानमन्त्री र परराष्ट्र मन्त्रालय समेत मौन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ