arrow

ओलीको निगाह कुर्दै नेकपाका नेताहरु, नाममात्रका निरन्तर वैठकहरु

ओलीलाई रक्षात्मक बनाउन एकजुट भएकाहरु ओलीको मुड कुर्दै

logo
अजयबाबु शिवाकोटी,
प्रकाशित २०७७ साउन ९ शुक्रबार
kp-oli8.JPG

काठमाडौं। असार १० गते स्थायी समितिको वैठकका लागि जुटेको नेकपा त्यसयता निरन्तर वैठकमै छ। म्याराथुन शैलीमा जारी वैठक रोकिदै, सर्दै, बसिरहेको छ। कुन प्रयोजनका लागि बैठक बोलाइएको थियो भन्ने पनि स्थायी समितिका सदस्यहरुले भने भुल्ने बेला भइसकेको छ। यहि बीचमा वैठकको एजेण्डा नै अपहरित हुने खतरा समेत देखिएको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीलाई रक्षात्मक बनाउने मुडमा शुरु भएको बैठक अब ओलीकै मुडमा अघी बढ्ने अवस्थामा पुगेको छ।  

ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजिनामा दिन वाध्य पार्ने सोचका साथ अघी बढेको नेकपा वैठक उनै ओलीको निगाह कुर्नुपर्ने अवस्थामा पुगेको छ। अग्रभागमा रहेर ओली बिरुद्ध मोर्चा खोलेका नेताहरु पनि भिजेको विरोलो जस्तो भइसकेका छन्। स्थायी समितिका वैठकका शुरुका दिनहरुमा फाराकफुरुक गर्ने नेकपाका नेताहरु पनि विस्तारै कर्कलो गले जस्तै देखिन थालेका छन्। पछिल्ला दिनमा चिनियाँ सदासयता बढेपछि त उनीहरुको ओठ तालु नै सुकेको छ। 

नेकपाका असार १० यताका वैठकहरु स्थायी समिति, सचिवालय, दुई अध्यक्षहरु सहयोगी सहित, दुई अध्यक्ष र माधव नेपाल अनि दुई अध्यक्षहरुका बीचमा एक्लाएक्लै भएको देखिन्छ। करिब एक महिनाका बीचमा करिब डेढ दर्जन वैठक बसेपनि नेताहरुका बीचमा सहमति जुट्न नसक्दा निकास निस्किएको छैन। त्यसकारण पनि समय खर्चिदै वैठक सार्ने काम मात्र हुँदै आएको पाइन्छ। यद्यपी पछिल्लो पटक चिनियाँ सदासयता पछि पार्टीलाई एक बनाएर जाने कुरामा नेकपाका मझौले नेताहरु जुटेका छन् जस्को प्रभाव पहिलो पुस्ताका नेताहरुलाई पर्ने देखिन्छ। तर पनि वैठकको म्याराथुन श्रृंखला जारी छ। 

वैशाखमा बसेको स्थायी समितिको खड्गो काटेर आएका केपी शर्मा ओली असार १०गतेबाट शुरु भएको स्थायी समितिका शुरुका दुई दिनमा उत्साहित नै थिए। सीमा विवादमा सरकारले लिएको कदमका बारेमा सबैको प्रशंसा पाइरहेका ओलीले आफ्ना बारेमा भइरहेका प्रशंसा बलि दिनु अघी बोकालाई पर्साउन पुजा गरेजस्तो भनेर बुझेका थिए। १० र ११ गते प्रशंसाका शब्द खर्चिएका नेताहरुले अर्को वैठकमा ति शब्दहरु घरमै राखेर आएर ओलीको राजिनामा केन्द्रीत भए।

त्यही बीचमा मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा उनले बोलेका कुराहरुले नेताहरु रिसाएका थिए। भारतको इसारामा आफूलाई हटाउन लागेको ओलीको अभिव्यक्तिसँग रिसाएका नेताहरुले कडा प्रतिक्रिया असार १६ गतेको वैठकमा राखे। करिब दुई तिहाई ओलीको बिरुद्धमा उभिए। पार्टी नै फुटाउने सम्मको गृहकार्य ओलीले त्यसबीचमा गरेपछि भने फेरि नेकपाका नेताहरु मुटुमाथि ढुंगा राखि हास्नु परेको झै गरेर फेरि ओलीसँग छलफलमा जुटे। यसक्रममा पटकपटक बोलाउँदै स्थायी समिति वैठक सारिने काम भइरह्यो। तर दुई अध्यक्षका बीचमा एक्लाएक्लै सहयोगी सहितका वैठकहरु जारी रहे।  

असार १८मा स्थायी समिति वैठक वालुवाटारमै बस्यो तर ओली बैठकमा आएनन्। शितल निवासमा राष्ट्रपति भेटेर फर्किए तर वैठकमा छिरेनन्। रोकिएर दुई पटकसम्म बसेको वैठकमा पनि ओली नआएपछि केहि सदस्यहरुले कुरा राखेर वैठक स्थगित भयो। नेताहरुबीच तिक्तता बढेको थियो। अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच संवादहिनताको स्थितिलाई नेकपाका मझौले नेताहरुले तोडे। असार १९ गते ओली र प्रचण्ड सहयोगिहरु बिष्णु पौडेल, जनार्दन शर्माहरुसँगै छलफलमा बसे। त्यो वैठकले असार २१ गते पनि निरन्तरता पायो। शंकर पोखरेल, ईश्वर पोखरेलहरु पनि थपिए। असार २२, २३ र २४ गते पनि दुई अध्यक्षबीच एक्लाएक्लै वैठक भयो। २५ गते पनि दुई अध्यक्षबीच छलफल पछि बाढीपहिरोमा राहत र उद्धारका लागि भन्दै २६ गतेको वैठक २५ गते नै स्थगित गरियो। प्रचण्ड चितवनतिर गए। चितवनमा गएर आफूहरुबीच फुट ल्याउने प्रयास भइरहेको बताए। चितवनबाट फर्किएसँगै ओलीसँग प्रचण्डले असार ३० र ३१ मा फेरि एक्लाएक्लै भेट गरे।   

साउन १ गते भने माधव नेपाल सहित ओली र प्रचण्ड संयुक्त रुपमा करिब साँढे २ घण्टा छलफलमा बसे। ओली र प्रचण्ड एक्लाएक्लै भेट्न थालेपछि माधव नेपाललाई पसेको शंका निवारण गर्न पनि प्रचण्डले सो वैठकमा नेपाललाई लिएर गएका थिए। फेरि २ गते दुई नेताबीच भेट भयो। ३ गते सचिवालय वैठक बस्यो। ४ गते फेरि एक्लाएक्लै वार्ता भयो दुई अध्यक्षबीचमा । ६ गते स्थायी समितिको वैठक फेरि बस्यो तर केहि मिनेटको लागि मात्र । वालुवाटारमै बसेको त्यो वैठकमा पनि ओली गएनन् र वैठक एक हप्ताको लागि पछि सार्दै १३ गतेका लागि बोलाइयो। १३ गते के हुन्छ त कोहि पनि यसै भन्न सक्ने अवस्थामा छैनन्। शंकाको वातावरण अझै छ। नेताहरुबीच शंका निवारण भइसकेको छैन। अविश्वास पनि घटेको छैन। तर यही बीचमा सांगठनिक जीवनमा कमजोर मानिएका ओली बलियो रुपमा देखिदै गएका छन्। राजिनामा माग्नेहरुको स्वर पार्टी एकतामा रुपान्तरण भएको छ। यो ओलीका लागि जीत भन्दा कम छैन। पार्टीको आन्तरिक जीवनमा ओली फेरि बलियो झै देखिए पनि यो म्याराथुन वैठक नसकिदासम्म नेकपाको भविष्य बताउन सकिन् अवस्था छैन।

मंसिरमा हुनै नसक्ने अर्ली महाधिवेशनको ओलीको प्रस्ताव अनुसार अघी जान्छ की ओलीलाई राजिनामा दिन वाध्य पारेर नेकपा अघी बढ्छ त्यो अझै अनिर्णित छ। तर ओलीका राजिनामा मागेका मुखहरु र अघी बढेका खुट्टाहरु पछि सर्न थालेबाट ओलीले यो पटक पनि खड्गो काट्ने देखिन्छ। यत्रो माथापच्ची गरेर पनि चिसो पानीले नै नुहाउन वाध्य भएकाहरुले जनमानस र आफ्ना निकटहरुलाई भनिने सूत्र तयार गरिदैछ। यहि सूत्रलाई अघी सारेर फेरि ओली दुबै पदमा रहने बाटो फराकिलो गरिदैछ। सूत्रधारको रुपमा रहेका उत्तरी छिमेकीको सदासयताको अघी दायाँवायाँ गर्ने हिम्मत कम्तीमा आजको दिनको नेकपाको कुनै नेतामा छैन। त्यो उनीहरुको स्वास्थ्यको लागि पनि फाइदाजनक छैन।

परिस्थिति यस्तो बन्दैछ की पार्टी एकताको नाममा नेकपाका नेताहरुले निकट भविष्यमै फेरि हात उठाएर मुठी कस्दै पार्टी फुटाउन खोज्ने प्रतिक्रियावादीलाई जवाफ दियौ भन्दै आउनेछन्। त्यो दिन सायद अब धेरै टाढा छैन। चर्केर मोर्चा खोल्नेहरु मात्र ओलीको आँखामा परेका छन्। सायद उनीहरुलाई पनि ओलीले माफी दिनेछन अरु सहयोगीलाई अरु समयमा झै ओलीको कृपादृष्टी रहनेनैछ ।



नयाँ