arrow

पानीमा पौडिने- रुखमा चढ्ने अजिङ्गर भेटियो

logo
प्रकाशित २०७७ साउन ९ शुक्रबार
phyton.jpg.jpeg

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका १० मा शुक्रबार दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ । किसान भन्ने ठाउँमा फलेदाका रुखमा उक्त अजिङ्गर देखेपछि खेतमा पानी लगाउन गएका स्थानीयवासीले देखेर डिभिजन वन कार्यालय स्याङ्जा तथा चापाकोट प्रहरीचौकीमा खबर गरेका थिए । 
    
डिभिजन वन कार्यालय स्याङ्जाका डिभिजनन वन अधिकृत कोमलराज काफ्लेले सूचना पाएसँगै नजीकैको इलाका वन कार्यालय दामाचौरबाट कर्मचारी पठाइएको बताए । 

सो अजिङ्गर झण्डै १० फुट लम्बाइ र २५-३० केजी तौलको रहेको जनाइएको छ ।  “कालीगण्डकी नदी नजीकै रहेकाले पनि अजिङ्गर त्यतैबाट आएको हुन सक्छ, यो प्रजातिको अजिङ्गर पानीमा पौडिन र रुखमा सजिलैसँग चढ्न सक्ने खालको हुन्छ”, काफ्लेले भने, “यो संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत भएकाले पनि यसलाई  सुरक्षित गर्नेतर्फ लागिरहेका छौं ।”

अजिङ्गर रहेको ठाउँमा नजान, नजिस्क्याउन र अनावश्यक भीडभाड नगर्न स्थानीयवासीलाई अनुरोध गरिएको वडा नं १० का वडाध्यक्ष रामु कोइरालाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ