arrow

नागपञ्चमीको दिनको के छ पञ्चांग, साइत, राशिफल, शुभ लाभादि बेला र राहु समय?

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ साउन १० शनिबार
rashifal-horoscope.jpg

काठमाडौं। आज मिति २०७७ श्रावण १० गते शनिबार, इस्वीसंवत जुलाई २५ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चन्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणशुक्लपक्षको पञ्चमी तिथि रहनेछ । आज उत्तराफाल्गुणी नक्षत्र, विष्कुम्भादि योगमा परिध, करणमा कौवल, आनन्दादी योगमा उत्पात रहनेछ । सूर्य कर्कट राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । आज दिनमान ३३ घटि ४८ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर २४ मिनेटमा यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ५६ मिनेटमा हुनेछ । आज नागपञ्चमी अर्थात नागको पूजा गर्ने दिन हो ।

आजको राशिफल
मेषः
समय शुभ छ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ । 

वृषः समय खराब छ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्नेछ । काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अरूको करकापमा परेर इच्छा विपरीत काम गर्नुपर्ला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने वा आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ । 

मिथुनः समय शुभ छैन । अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन् । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै फेला पर्नेछन् । होसियारीसाथ काममा जुट्नुहोला। शुभचिन्तकहरूले भने राम्रै सहयोग जुटाउनेछन् । सामाजिक कामको जिम्मेवारी बढ्नेछ । फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ । एकान्त वास र एकाग्र चिन्तनमा मन रमाउनेछ । टाढिएका आफन्त नजिकिनेछन् । घरायसी काममा समय बित्नेछ ।

कर्कटः समय शुभ छ । भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । पहिले ईस्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । ढिलो गरी प्रारम्भ भए पनि पनि प्रतिष्ठित काम गर्ने मौका छ ।

सिंहः समय राम्रो छैन । आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त बन्नुपर्ला । बिनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन् । साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला । दोहोर्याएर प्रयत्न गर्दा भने काम बन्न सक्नेछ ।

कन्याः समय राम्रो रहनेछ । सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।

तुलाः समय राम्रो छैन । विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल पनि प्रभावित हुन सक्छ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न समय लाग्नेछ । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र आफ्ना काम पूरा नहुन सक्छन् । तापनि अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मनको डर उत्साहमा रूपान्तरित हुनेछ । छर–छिमेकमा केही असमझदारी बढ्न सक्हुनछ । सतर्क हुनुहोला ।

वृश्चिकः समय राम्रो छ । समय लागे पनि आँटेको काम सम्पादन हुनेछ । नयाँ कामको अवसर पनि प्राप्त हुनेछ । नोकरी तथा पेसा–व्यवसायमा राम्रै फाइदा हुनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सहयोगीहरूले साथ दिनाले चिताएका काम बन्नेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

धनुः समय मध्यम खालको रहनेछ । धेरै श्रम परे पनि तत्काललाई कम मूल्य पाइएला। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । आज स्थायीभन्दा अस्थायी पेशाबाट फाइदा हुनेछ । आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छ । भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ने अवस्था आउन सक्छ । लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ ।

मकरः पनि समय भरपर्दो रहनेछैन । लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला । सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ । आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ । वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ । परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । हडबडीले घर व्यवहारमा समस्या निम्त्याउनेछ । तापनि, प्रेम र मित्रताको बन्धन कसिने समय छ ।

कुम्भः समय राम्रो छैन । आम्दानीका स्रोत सबल देखिए पनि काममा खर्च बढ्नेछ । नपुग रकम कर्जामार्फत जुटाउनुपर्ला । श्रमको उचित मूल्यांकन भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ । व्यापार बढे पनि लाभांश कमजोर हुने देखिन्छ । विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला । आँटेको काममा अरूको मुख ताक्नाले सोचेको प्रतिफल हातलागी नहुन सक्छ ।

मीनः समय र स्वास्थ्य राम्रो रहनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । महत्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, कर्तव्यपरायण रहनुहोला । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइएलाख । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ ।

साइतः आज कन्या राशिमा चन्द्रमा छन् त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार हो, पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यताबश अन्य दिशाको यात्रा पनि गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 
बिहान ५:२४ बजेदेखि         ६:५४ बजेसम्म        काल बेला
बिहान ६:५४ बजेदेखि         ८:२४ बजेसम्म        शुभ बेला
बिहान ८:२४ बजेदेखि         ९:५४ बजेसम्म        रोग बेला
बिहान ९:५४ बजेदेखि        ११:२४ बजेसम्म        उद्धेग बेला
बिहान ११:२४ बजेदेखि        १२:५४ बजेसम्म      चर बेला
मध्यान्ह १२:५४ बजेदेखि      २:२४ बजेसम्म        लाभ बेला
दिउँसो २:२४ बजेदेखि        ३:५४ बजेसम्म        अमृत बेला
दिउँसो ३:५४ बजेदेखि        ५:२४ बजेसम्म        काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला।

राहुकाल समयः बिहानमा ९:०० देखि १०:३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७:४२ उत्तर तथा देशान्तर ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



नयाँ