- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
साउन ८ गते बिहीबार पत्नी हत्यारा पूर्व डिआईजी रञ्जन कोइराला सर्वोच्च अदालको कैद मिनाहासँगै रिहाइको समाचारले सञ्चार माध्यम भरिएको थिए । सो समाचारको साथै एकै समयमा जेठाजुको हत्या अभियोगमा जेलमा रहेकी एक महिलाको समाचार पनि संचारमाध्यममा आए ।
पूर्व डिआईजी रञ्जन कोइराला ८ वर्ष ६ महिना कैज सजाय भोगेर रिहा भएका हुन् । सर्वोच्च अदालतका प्रधानन्यायाधिस चोलेन्द्र शम्सेर जवरा र न्यायाधिस तेज बहादुर केसीलाई जन्मकैदको सजायँ गर्दा चर्को पर्न जाने हो कि भन्ने चित्तमा लागेको हुँदा छुट दिएको फैसलामा उल्लेख छ । यसको विस्तृत कारणमा नीज हत्याराको बालबच्चाको लालनपालन र शिक्षादिक्षाको बिषय चित्तमा पर्दा जन्मकैदलाई छुट दिएको उल्लेख छ । भलै उनलाई कारागारसम्म लिनका लागि बालबच्चा नगएर प्रेमिका गएकी थिइन् र हाल दुवै छोराहरु जवान (बालिग) पनि भइसकेको अवस्था छ । जसले रञ्जन कोइरालाको आवश्यकता अदालतमा प्रधानन्यायाधिशको नजरमा बालबच्चा (जो हाल बालिग भइसके) का लागि थियो वा व्यवहारमा उनकी प्रेमिकालाई भन्ने प्रश्न जन्मायो । समयले यसको पनि जवाफ देला ।
आफैं अनुसन्धान अधिकृतको रुपमा सशस्त्र प्रहरीमा डिआईजी सम्म भइसकेका कोइरालालाई कानुनको कमजोरी राम्रोसँग थाहा थियो र जसलाई प्रयोग गरे । उनको आर्थिक तथा व्यक्तिगत प्रभाव पनि राम्रो थियो, प्रभावशाली कानुन व्यवसायी (वकिल) लाई बहस गराउन सक्ने हैसियत पनि थियो र त कानुनको उपयोग गर्न पाए । रौतहटको राजपुर बम काण्डका आरोपी मोहम्मद आफताब आलमको बहस विषयमा उब्जिएका प्रश्नको जवाफमा कानुन व्यवसायी (वकिल) हरुले आफ्नो असली व्यवसाय पनि उजागर गरी सकेकैछन् ।
तर अर्को कथाकी पात्र महोत्तरीकी जितनी महतोलाई न त कानुनका पानाहरु थाहा छ, न त पहुँच नै ।
समाचारमा उल्लेख गरिए जस्तै जेठाजुले कुदृष्टिले पटक पटक दुःख दिए पछि हत्या गरिन्, जसमा कुनै पश्चाताप छैन । गलत गर्नेलाई प्रतिवाद गर्दा भएको हत्या अभियोगमा २०७५ मंसिरदेखि जेलमा छिन् । पक्राउ पर्दा गर्भवती रहेकी उनले जेलमै दोस्रो सन्तानलाई जन्म दिइन् । उनी जेल जीवन विताउन थालेको केही समय पछि पतिले अर्को श्रीमती भित्र्याए । अब उनको पक्षमा कसले वकालत गर्ने ? दोस्रो सन्तान त उनीसँग जेलमै छन् भने पहिलो सन्तान सौतेनी आमा र बुबासँग छन् । उनको कसैसँग आर्थिक वा व्यक्तिगत पुहँच छैन । कानुनका कमजोरीसँग खेल्न सक्ने ज्ञान पनि छैन उनीसँग । त्यसैले यो घटनामा त्यती चाडो फौसला हुने आशा गर्न सकिन्न ।
यी दुई घटनाले के प्रष्ट्याउँछ भने आर्थिक वा व्यक्तिगत पहुँच हुनेले कानुनका कमजोरी, न्यायाधिस, प्रधानन्यायाधिसलाई भावनामा बगाएर सुकिला मुकिलाले कसरी न्याय पाउँछन् भन्ने प्रतिनिधि घटना हो भने अर्को घटना निमुखा जनताको न्यायक्षेत्रको भोगाई ।
यदि रञ्जन कोइराला वा सो सरहका व्यक्ति थिइन् जितनी महतो भने सायद यतिका दिनसम्म उनी जेलमा हुने थिइनन् । उनका पनि नाम कहलिएका कानुन व्यवसायी (वकिल)ले लस्करै बहस गर्ने थिए । कानुन व्यवसायी/वकिलहरुले उनको बच्चाहरुको लालन पालन र शिक्षा दिक्षाका विषयमा बहस गर्ने थिए र न्यायाधिसहरुले पनि देख्ने थिए । तर उनको आर्थिक वा व्यक्तिगत पहुँच त्यस्तो रहेन र त आज पनि जेलमै छिन ।
आम नागरिकको बुझाइमा माननीयज्यूहरुले जस्तो संविधान र कानुन बनाए सोही अनुसार न्याय सम्पादन गर्ने न हो न्यायालयले । सम्माननिय प्रधान न्यायाधिस चोलेन्द्र शम्सेर जवारा ज्यू न्यायालय माथि प्रश्न उठाउनु हुन्न । प्रधान न्यायाधिस समेत सम्लग्न फौसलामा त प्रश्न उठाउने कुरै हुन्न । मानहानी तथा अन्य के के कसुरको मुद्दा लाग्दछ क्यारे । त्यसैले तपाईले पूर्व डिआईजी कोइरालाको केसमा गरेको फैसलालाई सलाम गर्दै, जितनी महतोहरुलाई पनि पूर्व डिआईजीकै जस्तो फैसला गर्न सक्ने न्याय प्रणालिको विकास कहिले हुन्छ ?
कागज/प्रमाणमा बालबच्चाको लालनपालन तथा शिक्षादिक्षाका खातिर फैसला गराउन सफल भए पनि व्यवहारत प्रेमिकाको आवश्यकताले पूर्व डिआईजी कोइराला छुटे भन्दा अदालतको मानहानी हुन्छ कि हुन्न प्रधानन्यायाधिस ज्यू ?
जितनी महतोहरु कहिलेसम्म मुद्दाको छिनोफानो कुरेर आफ्नो भविष्य चार कुना भित्र कैद गर्न बाध्य हुन्छन् प्रधानन्यायाधिशज्यू ? पहुँच हुनेका लागि मात्र यो नजिर हो की जितनी महतोहरुको लागि पनि लागु हुन्छ बालबच्चाको लालनपालन र शिक्षादिक्षा ? कहिलेबाट न्यायालयले रञ्जन कोइरालाहरु र जितनी महतोहरुलाई व्यवहारत समान न्याय दिन सक्षम हुने प्रणालीको विकास गर्ला ?