arrow

इजिप्टमा सयभन्दा बढी प्रदर्शनकारीलाई पाँच वर्षको काराबास सजाय

logo
प्रकाशित २०७३ जेठ २ आइतबार
egypt-cairo-court.jpg.jpeg
कायरो (इजिप्ट) । इजिप्टको कायरोस्थित दुई अदालतले गएको महिनामा सरकारविरोधी शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका १०१ जना प्रदर्शनकारीलाई पाँच वर्षको काराबास सजाय तोकेको यहाँका अधिकारीले आइतबार बताएका छन् । 
 
अधिकारीका अनुसार इजिप्टको सन् २०१३ मा बनेको एक विवादित कानुनको आडमा उनीहरुलाई काराबासको सजाय तोकिएको हो । सन् २०१३ मा निर्माण गरिएको उक्त कानुनले सडक प्रदर्शनमाथि रोक लगाएको छ । 
 
सडक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका १०१ जनामध्ये ७९ जनालाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर जरिवाना सहित पाँच वर्षको काराबासको सजाय तोकिएको छ । अधिकारीले सजायबारे आधिकारिक सूचना दिने व्यक्ति आँफूहरु नभएकाले आफ्नो नाम गोप्य राखिदिन अनुरोध गरेका छन् । 
 
सरकारविरुद्धको प्रदर्शनमा गएको अप्रिल २५ मा प्रदर्शन गर्न विभिन्न ठाउँबाट इजिप्टको राजधानी कायरो आएका प्रदर्शनकारीमध्ये उक्त दिन करिब एक हजार २०० जनालाई पक्राउ गरिएको थियो । 
 
उनीहरुमध्ये धेरैजसोलाई अनुसन्धानपछि रिहा गरिए पनि करिब ३०० प्रदर्शनकारीलाई कानुनको बर्खिलाप गरी सडकमा उत्रिएको आरोपमा मुद्दा चलाइएको थियो । 
 
इजिप्टको अदालतद्वारा सडकमा शान्तिपूर्ण प्रदर्शन गर्न उपस्थित भएका नागरिकमाथि जेल सजाय तोक्नु नागरिकले सरकारले गरेका काम कारबाहीप्रति असहमति जनाउन पाउने अधिकारप्रति शून्य सहनशीलताविरोधी गतिविधि भएको आन्दोलनरत पक्षले बताएको छ । 
 
यता इजिप्टका राष्ट्रपति अब्देल फताह अलसिसीले सरकारविरद्धको आन्दोलनका नाममा इस्लामिक स्टेट (आईएस) लडाकूद्वारा सिनाइ लगायतका स्थानमा गरेको आक्रमणलाई नियन्त्रण गर्ने तथा राष्ट्रको अर्थतन्त्रलाई बिग्रन नदिन सरकारले आन्दोलन पक्षधर समूहमाथि कडा नीति लिनु परेको बाध्यकारी अवस्था भएको बताइएका छन् । 
 
उनले इजिप्टको मानव अधिकारका घटना पश्चिमी मुलुकको मापदण्ड अनुरुप बन्न नसक्ने बताउदै देशमा अमनचैन कायम गर्न यहाँको कानून बमोजिम सरकार चल्न सक्ने बताए । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ