arrow

नाकाबन्दीको बेलाको भन्दा पनि घट्यो सवारी साधनको आयात

logo
प्रकाशित २०७७ साउन १२ सोमबार
department-of-custome-new-pic-.jpg.jpeg

काठमाडौं। कोरोना भाइरसका कारण प्रभावित भएको वैदेशिक व्यापार अन्तरगत सवारी सधानको आयात ह्वात्तै घटेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७६-०७७मा सवारी साधनको आयात अघिल्ला आर्थिक वर्षहरुको तुलनामा ह्वात्तै घटेको हो।

कोरोना भाइरसको रोकथाम गर्ने भन्दै गरिएको लकडाउनमा केही समय सवारी साधनको आयात रोक्दा त्यसको प्रभावस्वरुप आर्थिक वर्ष २०७२-०७३को भन्दा पनि कम आयात भएको देखिन्छ। आव २०७२-०७३मा भारतले करिब ५ महिना लामो नाकाबन्दी लगाउँदा अत्यावश्यक वस्तुका साथै सवारी साधनको आयात समेत प्रभावित बनेको थियो।

आर्थिक वर्ष २०७२-०७३मा ६६ अर्ब २० करोड रुपैयाँ बराबरका सवारी साधन नेपाल भित्रिएका भन्सार विभागको तथ्याङ्क छ। सो आर्थिक वर्षको  तुलनामा गत आर्थिक वर्षमा करिब १ अर्ब रुपैयाँले सवारी साधनको आयातमा कमी आएको विभागको तथ्याङ्कबाटै देखिन्छ। विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७६-०७७मा कुल ६५ अर्ब २ करोड रुपैयाँ बराबरको सवारी साधन नेपाल भित्रिएका छन्।

गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्ष २०७५-०७६को तुलनामा २५ अर्ब रुपैयाँ कमले सवारी साधनको आयात भएको छ। आव २०७५-०७६मा ९१ अर्ब ३१ करोड रुपैयाँ बराबरका सवारी साधन नेपाल भित्रिएका थिए।

यता दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन विक्रेताहरुले लकडाउनका बेला सवारी सधानको कारोबार नै नभएका कारणले आयात घटेको प्रतिक्रिया दिएका छन्। दुई पाङ्ग्रे सवारी साधन भेष्पा स्कुटरकी ब्राण्ड म्यानेजर करुणा पुडाशैनीले लकडाउनमा सवारी साधनको कारोबार नै ठप्प रहेको बताउँदै पछिल्लो समय लकडाउन खुलेसँगै कारोबारमा सुधार आउने आशा पलाएको बताइन्।

त्यस्तै चार पाङ्ग्रे सवारी साधनका नेपालस्थित आधिकारिक विक्रेताहरुले पनि पछिल्लो समय ग्राहकको राम्रो प्रतिक्रिया आइरहेको भन्दै लकडाउनमा घटेको व्यापार विस्तारै उकासिनेमा आफुहरु आशावादी रहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ