arrow

राष्ट्र बैंकद्धारा कोभिड प्रभावित व्यवसाय वर्गीकरण, पर्यटन व्यवसाय अतिप्रभावितमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन १२ सोमबार
NRB.JPG

काठमाडौं। चालु आर्थिक वर्ष २०७७-०७८मो मौद्रिक नीतिलाई कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गर्दै मौद्रिक नीतिमा भएका व्यवस्था कार्यान्वयन गरर्न-गराउन निर्देशन दिएको हो।

राष्ट्र बैंकले मौद्रिक नीतिमा अति प्रभावित, मध्यम प्रभावित र कम प्रभावित भनि गरिएका व्यवस्थाहरुलाई कार्यान्वयन गराउनका लागि व्यवसायको वर्गीकरण गर्दै निर्देशन जारी गरेको हो। मौद्रिक नीतिमा नै व्यवस्था भएकाले सोको कार्यान्वयनका लागि वर्गीकरणसहीतको निर्देशन जारी गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए।

‘विभिन्न क्षेत्रमा आबद्धहरुसँग छलफल गरेर विश्लेषण गरेरै हामीले वर्गीकरण गरेका हौं’ ढकालले भने, ‘मौद्रिक नीति कार्यान्वयनका लागि आवश्यक निर्देशन पनि जारी गरिएको हो।’

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण अति प्रभावित व्यवसायमा पर्यटन व्यवसायलाई राखिएको छ। पर्यटन व्यवसाय अन्तरगत ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, र्‍याफ्टिङ, टुर अपरेटर, क्यासिनो,  होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होमस्टे, रिसोर्ट, तथा रेष्टुरेन्ट, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष लगायतका क्षेत्र अति प्रभावित वर्गामा राखिएको राष्ट्र बैंकले जानकारी दिएको छ।

त्यस्तै गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार, हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस, चलचित्र उत्पादन, वितरण, सिनेमा हल लगायतका क्षेत्रपनि अति प्रभावित व्यवसायमा रहेका छन्।

त्यस्तै कृषि तथा पशुपन्छिसँग सम्बन्धित वस्तुहरु तरकारी, फलफुल, माछा, मासु लगायतका व्यवसाय पनि अति प्रभावित भनेर राष्ट्र बैंकले वर्गीकरण गरेको छ। त्यस्तै वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक व्यवसाय पनि अति प्रभावित व्यवसायमा वर्गीकरण गरिएको छ। अतिप्रभावित व्यवसायमा प्रवाहित भएको कर्जामा १ वर्षसम्म ग्रेस अवधि थप गर्न सकिने राष्ट्र बैंकले मौद्रिक नीतिमा नै उल्लेख गरेको छ।

त्यस्तै मध्यम प्रभावित व्यवसायमा राष्ट्र बैंकले प्लास्टिक उत्पादक, फलामरस्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण उत्पादक तथा बिक्री वितरण गर्ने व्यवसायलाई राखेको छ। मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको लागि ९ महिना ग्रेस थप गर्न सकिने प्रावधान मौद्रिक नीतिमा नै उल्लेख गरिएको छ। उक्त क्षेत्रमा प्रवाहित भएको कर्जाको साँवा तथा ब्याज भुक्तानीको समय आगामी चैत मसान्तसम्म दिइएको छ।

त्यस्तै राष्ट्र बैंकले न्यून प्रभावित व्यवसायमा जलविद्युत आयोजना, इकमर्स, प्रशोधन, भण्डारण तथा बिक्री वितरण, पेय पदार्थ प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योग व्यवसाय, दैनिक उपभोग्य वस्तु विक्री वितरण गर्ने लगायतका व्यवसायलाई न्युन प्रभावित भन्दै वर्गीकरण गरेको छ। न्यून प्रभावित क्षेत्रमा प्रवाहित कर्जा भुक्तानीको समय ६ महिनासम्मका लागि थप गरिएको छ। न्यून प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको साँवा र ब्याज आगामी पुससम्म भुक्तानी गर्न सकिने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ