arrow

संक्रमण फैलने त्रास, जंगलमै कुहियो यार्सा

logo
नवीन लामिछाने,
प्रकाशित २०७७ साउन १३ मंगलबार
yarsagumba.jpg

मनाङ । कोभिड–१९ को संक्रमणका कारण यस वर्ष जंगली जडीबुटी सङ्कलन गर्न सकिएन । मनाङलगायत हिमाली जिल्लामा पाइने अमूल्य जंगली जडीबुटी सङ्कलन गर्न नसक्दा जंगलमै कुहिएको छ । जडीबुटी सङ्कलन गर्न जंगल जाने समयमा कोभिड–१९ को संक्रमण फैलिएकाले जडीबुटी खोज्न रोक लगाइएको थियो । यार्सागुम्बा टिप्ने समयमा कोभिडको त्रासले रोक लगाउँदा करोडौँको जडीबुटी खेर गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । 

जिल्लावासीसहित बाहिरी जिल्लाबाट जंगली जडीबुटी खोज्न जाँदा कोभिडको संक्रमण फैलन सक्ने त्रासले रोक लगाउँदा जिल्लाको आयस्रोत नै घटेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशमा बन्दाबन्दी गरेपछि जिल्ला प्रशासन कार्यालय मनाङले यार्सागुम्बा टिप्न रोक लगाएको हो । 

जिल्लाको प्रमुख आम्दानी नै यार्सागुम्बा रहे पनि सङ्कलन गर्न नपाउँदा कुहिएर खेर गएको उहाँको भनाइ छ । महँगो र लोपोन्मुख बहुउपयोगी हिमाली औषधीय जडीबुटी यार्सागुम्बा टिप्ने याममा बन्दाबन्दी गरिएकाले सङ्कलन गर्न नसकेको धेरै नोक्सानी बेहोर्नुपर्ने अवस्था सिर्जना भएको पौडेलको भनाइ छ । “सरकारले शारीरिक दूरी कायम गरेर बस्न र जमघट हुने गरी समूहमा नबस्न निर्देश गरेअनुरूप यार्सागुम्बा टिप्न रोक लगाउँदा कुहिएका छ”, नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले भने । यार्सागुम्बा सङ्कलनमा जाँदा धेरै भीडभाड हुने र जिल्ला बाहिरबाट पनि यार्सा सङ्कलनमा मानिसहरु आउँदा कोभिडको संक्रमणको जोखिम बढ्ने हुँदा निषेध गरिएकाले कुहिएर जंगलमै नष्ट भएका छन् । 

मनाङलगायत गोरखा, लमजुङ, रुकुम, रोल्पा, डोल्पा, धादिङ जिल्लाबाट यार्सा सङ्कलनका लागि मानिसहरु आउने गर्दछन् । यस वर्ष भने कोभिड–१९ को संक्रमण जोखिमले गर्दा यार्सा टिप्न कहीँबाट पनि मानिसहरु आएका थिएनन् । नासो गाउँपालिकाको नाम्के खर्क, डाँफे लेक, चामे गाउँपालिकाको लमजुङ बेसक्याम्प, नार्पाभूमि गाउँपालिकाको चुम्री खर्क, याक खर्क, आइस लेक र मनाङ ङिस्याङ गाउँपालिकाको गुमछाङ, याक खर्क, लेदर, तिलिचो बेसक्याम्पलगायत खर्कहरुमा यार्सा पाइन्छ । 

मनाङकै राजश्व सङ्कलनमा टेवा पुर्‍याउने यार्सा गुम्बा सङ्कलनमा रोक लगाइएपछि आयस्रोतसमेत घटेको संरक्षण व्यवस्थापन समिति (सिएमसी) तथा नासो गाउँपालिकाका अध्यक्ष घलेले बताए । वैशाख दोस्रो सातादेखि जेठसम्मको समयलाई यार्सागुम्बा सङ्कलन गर्ने उपयुक्त समय मानिन्छ ।  

कोभिड संक्रमणको जोखिम बढ्नुभन्दा मनाङमा यस वर्ष यार्सा टिप्न निषेध गरिँदा नै सुरक्षित भएको अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख बाबुलाल तिरुवाले बताए । मनाङको मुख्य आयस्रोतका रूपमा रहेको यार्सागुम्बा टिप्न रोक लगाएर रोगको संक्रमणको जोखिमबाट बचेकाले यस वर्ष जंगलमै कुहिए पनि दुःखित हुनुपर्ने अवस्था नरहेको तिरुवाले बताए । तालाडाँडा, लार्केपास, चीनको सीमामा पर्ने नार्पाभूमि र थोराङ्ला भञ्ज्याङ यार्सा गुम्बा टिप्न जाने नाका हुन् ।

तिरुवाका अनुसार यस वर्ष जंगली जडीबुटीबाट रु ११ लाख ९२ हजार ८१५ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा सात लाख ७७ हजार ९२५ सङ्कलन गरिएको छ । 

त्यस्तै कार्यालयले जडीबुटीबाट रु छ लाख ६४ हजार २२५ रोयल्टी तिरेको उहाँले बताए । गत वर्ष रु २१ लाख ८९ हजार ९५५ राजश्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा १३ लाख १३ हजार ९६५ सङ्कलन भएको थियो । रोयल्टीमा रु आठ लाख ७६ हजार ८४३ खर्च भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ