arrow

कपिलवस्तुको समुदायस्तरमा फैलियो कोरोना

logo
मणि प्रसाद गैह्रे ,
प्रकाशित २०७७ साउन १३ मंगलबार
kapilbastu3.jpg

कपिलवस्तु। मंगलबार एकैपटक जिल्लाका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यी संक्रमित सबै शिवराज नगरपालिकाका हुन्। स्वास्थ्य कार्यालय कपिलवस्तुले आफ्नो आधिकारीक फेसबुक पेजमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३४ जना संक्रमित मध्ये १३ जना समुदायस्तरका रहेका छन्।

यस्तै १२ जना भारतबाट आएका छन् भने अरु तेस्रो मूलक दुवई, कतार र साउदी अरेवियाका हुन्। सरकारले तेस्रो मुलुकमा अलपत्र परेका नागरिकलाई नेपाल फर्काएसंगै शिवराज नगरपालिकामा घर हुनेहरु आइरहेका छन्। जसमध्ये संयुक्त अरब इमिरेट्स (दुबई) बाट आएका ४ जना, कतारबाट आएका ३ तथा साउदी अरेबियाबाट आएका २ जनामा कोरोना पुष्टि भएको हो।

नगरपालिकाको वडा नं. १ का हालै भारतबाट एक व्यक्ति आएका थिए। उनलाई होम क्वारेनटाइनमा बस्न भनिएको थियो। तर, ती व्यक्ति होम क्वारेनटाइनमा नबसेर गाउँ गाउँ चाहर्ने, बजारमा किनमेलका लागि निस्कने गरेका थिए। कोरोना भाइरसको कुनै लक्षण नदेखिएका कारण उनी आफुलाई कोभिड १९ छैन् भन्ने भ्रम थियो।

पछि शिवराज नगरपालिकाले उनलाई पीसीआर परिक्षण गराए लगत्तै उनमा कोरोना पुष्टि भएको थियो। उनलाई कोरोना संक्रमण देखिएपछि शिवराजमा हंगामा मच्चिएको थियो। सोही अनुसार नगरपालिकाले पीसीआर जाँचलाई तीव्रता दिएको थियो।

पछिल्लो समय ८८ जनाको स्वाब संकलन गरेर काठमाडौं पठाइएको मध्ये ३४ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए। आफु अहिले काम विशेष ले कार्यालय बाहिर रहेको भन्दै पौडेलले ३४ जना संक्रमित मध्ये १३ जना समुदायस्तरका रहेको पुष्टि गरे।

‘पछिल्लो समय नगरबाट झण्डै ८८ जनाको पीसीआर जाँच गरेर काठमाडौं पठाएका थियौं, जसमध्ये ३४ जनामा पोजेटिभ रिपोर्ट आएको छ, प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने “१३ जना समुदायस्तरका हुन् भन्ने खबर आएको छ, को को हुन् ? स्वास्थ्यका साथीहरुले डाटा संकलन गर्दैैहुनुहुन्छ।”

नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीका अनुसार कोरोना संक्रमणको शंका लागेकाहरुलाई नगरपालिकाले पीसीआर जाँच गरेको बताए। नगरका केहि कर्मचारी, शिक्षक, जनप्रतिनिधि, सर्वसाधारण लगायतको पीसीआर जाँच गर्दा १३ जनामा संक्रमण देखिएको उनले बताए।

प्राय विदेशबाट फर्किएकाहरुमा कोरोना देखिने गरेपनि अहिले नेपालमै रहेकालाई कोरोना देखिदा त्रास छाएको उनले बताए। तर, आत्तिनुपर्ने स्थिति नभएको र स्वास्थ्य मापदण्ड अपाउनुपर्ने आवश्यकता रहेको उनले बताए।

मंगलबार थपिएका सबै संक्रमितलाई होम क्वारेनटाइन देखि नगरले निर्माण गरेको क्वारेनटाइन राख्ने तयारीमा शिवराज नगरपालिका रहेको छ। घरमा छुट्टै कोठा, छुट्टै शौचालय, छुट्टै धारा भएकाहरुलाई होम क्वारेनटाइनमा राख्ने र यी सुविधा नभएकाहरुलाई नगरले निर्माण गरेको क्वारेनटाइनमा राख्ने नगरपालिकाले जनाएको छ। पछिल्लो पटमा कपिलवस्तुमा कोरोना चेकजाच नै नगरिएकोले संक्रमितको संख्या नदेखिएको स्थानीयले बताएका छन्। समुदायस्तरमा कोरोना देखिएपछि जिललाबासीमा त्रास बढेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ