arrow

सुपरमाई हाइड्रोलाई लिएर इलामका स्थानीय आन्दोलित

logo
प्रकाशित २०७७ साउन १३ मंगलबार
hydropower.jpeg

इलाम । इलामको एक हाइड्रोपावर परियोजनाले प्रभावित क्षेत्रको वातावरण जोगाउन कुनै काम नगरेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । खोलामा पानी नै नछोडी हाइड्रो सञ्चालन गर्ने गरेको र  तोकिएभन्दा अन्य खोलाबाट समेत पानी ल्याएर हाइड्रोमा लगाएको भन्दै स्थानीयवासी आक्रोशित भएका हुन् । 

निर्माणाधीन सुपरमाई हाइड्रो परियोजनाले प्रभावित क्षेत्रका बासिन्दाको मागलाई बेवास्ता गरेको भन्दै स्थानीयवासी आन्दोलित भएका छन् । माईखोलाको पानीबाट निर्माण भइरहेको हाइड्रोले प्रभावित क्षेत्रमा समस्या थपेको भन्दै स्थानीयवासी सङ्गठित भएर आन्दोनमा उत्रिएका हुन् । परियोजना प्रभावित क्षेत्रका बासिन्दाले सङ्घर्ष समिति नै गठन गरेर आन्दोलन शुरु गरेका छन् ।

माईखोलाको पानीबाट निर्माण हुनुपर्ने हाइड्रोले अन्य साना खोला, खोल्साबाट समेत पानी मिसाएको स्थानीयवासीले बताएका छन् । बर्खाको समयमा जे जस्तो भए पनि हिउँदका दिनमा हाइड्रोसँग पानी माग्नुपर्ने स्थिति आएको स्थानीयवासी कुशबहादुर थेवेले बताए । 

परियोजनाको मुख्य पानीको स्रोत माईखोला मात्र हुनुपर्ने स्थानीयवासीको भनाइ छ तर हाइड्रोले ससाना खोला र खोल्साबाट पानी ल्याउन थालेपछि बस्तुभाउलाई खुवाउन र सिँचाइ गर्न पानी नभएको उनीहरुको जिकिर छ । माईखोला आसपासबाट बग्ने इङलाखोला र समाहखोलाको पानी प्रयोग गर्न नदिने उनीहरुले बताएका छन् । 

सङ्घर्ष समितिले इङला र समाहखोलाको पानी ल्याउन बनाइँदै गरेको संरचना तत्काल रोक्न आग्रह गरेको छ । प्रभावित क्षेत्रका बासिन्दाले पटकपटक सञ्चालकसँग आफ्ना गुनासा राख्दा पनि कुनै सुनुवाइ नभएपछि सङ्घर्ष समिति निर्माण गरेर आन्दोलनमा उत्रिनु परेको समितिका संयोजक गोपाल थेवेको भनाइ छ । 

परियोजना सञ्चालन भएपछि मेगावाटअनुसार स्थानीयस्तरमा सामाजिक उत्तरदायित्वको रकम बेहोर्नु पर्ने प्रावधान हुन्छ तर सो रकमको पारदर्शितासमेत नरहेको उनको भनाइ छ । आफ्ना माग सम्बोधन नगरे कानूनी प्रक्रियामा जान आफूहरु तयार रहेको समितिले बताएको छ । सहायक खोलाको पानी मिसाउँदा सो क्षेत्रमा सुक्खा लाग्ने र खोलामा कमिला कुद्ने भएकाले पनि सो स्थिति आउन नदिन जनप्रदर्शनदेखि कानूनी उपचारसम्मको बाटो रोज्नुपर्ने दिन आएको समितिका सचिव मानबहादुर गुरुङले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ