arrow

कांग्रेससँग टुटेको नातालाई फेरि जोड्न आएको छु

logo
सुनिल बहादुर थापा
प्रकाशित २०७७ साउन १४ बुधबार
sunil-bahadur-thapa.jpg

नेपालमा भएका सबै राजनीतिक परिवर्तनको नेतृत्व गरेको नेपाली जनतालाई रैती र प्रजाबाट मुक्ति दिलाई सम्प्रभु नागरिक तुल्याएको नेपाली कांग्रेसमा प्रवेश गर्दाको क्षण अपार हर्ष र खुशी लागेको छ । यो अवसरमा नेपाली कांग्रेसका पार्टीका संस्थापक नेताहरु स्वर्गीय विश्वेश्वर प्रसाद कोइराला, सुवर्ण समशेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरीजा प्रसाद कोइराला, सूर्य प्रसाद उपाध्याय, महेन्द्र नारायण निधी र सुशिल कोइराला लगायतका संस्थापक नेताहरुका साथै राप्रपाका संस्थापक स्वर्गीय सूर्य बहादुर थापाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँहरुका आदर्श र मार्ग दर्शनको अनुकरण गर्ने प्रतिवद्धता सहित कांग्रेसका श्रद्धेय सभापतिज्यू, वरिष्ठ नेताहरु सहित समस्त केन्द्रीय नेतृत्वप्रति आभार व्यक्त गर्दछु ।

देशको परिस्थिति भयावह, प्रजातान्त्रिक शक्ति कमजोर, अधिनायकवादी शक्ति मौलाएको अवस्था, नेपाल प्रजातान्त्रिक विश्वबाट टाढिँदै र एक्लिदै गएको, विदेश नीतिमा सन्तुलन गुमेको, लोकतान्त्रिक संस्थाहरु अत्यन्त कमजोर, लोकतन्त्रका आधारभूत स्तम्भहरु कमजोर र धराशायी, आर्थिक अवस्था दयनीय र सोचनीय रहेका छन् । 

लोकतन्त्रको मौलिक स्वरुप बचाएर यसलाई सबल राष्ट्रियताको आधार र नेपालीको जीवन शैली तुल्याउन पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापाले भन्नु भएझैं संसदवादी कित्ताका लोकतान्त्रिक शक्तिहरु बीच वृहत् एकता र सहकार्य हुनु आवश्यक रहेको छ । वृहत लोकतान्त्रिक मोर्चाको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने र शक्ती सन्तुलन बनाउनु आवश्यक छ । लोकतन्त्रको संरक्षण, सम्बद्र्धन र संस्थागत विकासको गुरुत्तर दायित्व फेरि पनि नेपाली कांग्रेसको काँधमा आएको छ । यो दायित्व र भूमिकाको लागि म सहितका साथीहरु कांग्रेसमा प्रवेश गरेका हौं ।

स्वर्गीय प्रधानमन्त्री सूर्य बहादुर थापा राष्ट्रिय राजनीतिमा प्रजातान्त्रिक धार सवल र सशक्त हुनु पर्दछ अनि मात्र सबैखाले अधिनायकवाद परास्त हुन्छन भन्ने सोच राख्नुहुन्थ्यो । उहाँले राप्रपालाई वैकल्पिक प्रजातान्त्रिक शक्ति वनाउन चाहनु भएको तर उहाँको निधन पश्चात् राप्रपाले वैकल्पिक प्रजातान्त्रिक शक्तिको सट्टा बैकल्पिक अधिनायकवादी शक्ति वन्ने बाटो लिएको हुँदा हामीले पार्टी परित्याग गरेका हौं ।

यो प्रवेशको सन्दर्भमा धेरैको चासो पनि देखियो र साथै मलाई एउटा पुरानो कथाको याद आयो । करिव १२ सय वर्ष अगाडी पर्सियामा पार्सीहरुलाई देश निकाला गर्दाखेरी एउटा जहाजभरी पार्सीहरु गुजरातको सञ्जनमा पुग्दा त्यस बखतको गुजरातीहरुले गुजरातमा ठाउँ छैन भनी एउटा गिलास भरी दुध जहाजमा पठाइ तिमीहरु फर्केर जाउ भन्ने सन्देश दिएका थिए । तर पार्सीहरुले दुधमा चिनी घोलेर पठाएर हेर हामी तिमीहरुसँग मेलमिलाप गरेर अटाउने ठाउँ हुन्छ भनेपछि गुजरातीहरुले पनि उनीहरुलाई स्वागत गरे । तसर्थ आज म र मेरा साथीहरु यहि भावना बोकेर नेपाली कांग्रेसमा प्रवेश गरेका छौं ।

म फेरी नेपाली कांग्रेससँग टुटेको नातालाई फेरि जोड्न आएको छु । मलाई थाहा भएसम्म पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्य बहादुर थापा सायद २००८ सालमा विराटनगरको नेपाली कांग्रेसको कोषाध्यक्ष भएको र पछि धनकुटाको प्रथम सभापति भएको सुनेको छु । आज मेरो प्रवेशले त्यो पुरानो टुटेको साइनोलाई जोड्न आएको छु । कतिले बाउले खोलेको पार्टी छोडेर जानु हुन्न भन्ने दवाव पनि दिए र अनेकौं कुराहरु पनि लेखे तर स्वर्गीय सूर्य बहादुर थापाले खोलेको पार्टीले अहिलेको बेला उहाँले अवलम्बन गरेको सिद्धान्त र विचारबाट विचलित हुनुको साथै अर्को बाटो गएकोले पनि हामीले नेपाली कांग्रेस प्रवेश गरेका छौं र राजनीतिक भावनाले नभै यथार्थ र आवश्यकता तथा मागको अनुसार चल्नु पर्दछ ।

समष्टिमा हामी स्वर्गीय विपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति र स्वर्गीय सूर्य बहादुर थापाको परिवर्तनलाई आत्मसात् गर्ने विचारको संगममा खडा भएर हामी नेपाली कांग्रेसमा प्रवेश गरेका हौं । अन्त्यमा देशभरका लोकतान्त्रिक शक्ति तथा लोकतन्त्रमा विश्वास गर्ने राप्रपाका स्थानियदेखि केन्द्रिय तहसम्मका सम्पूर्ण साथीहरुलाई यसै मञ्चबाट नेपाली कांग्रेसमा प्रवेश गर्न हार्दिक आव्हान गर्दछु । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ