काठमाडौं । शनिबार सैनिक श्रीमती संघले टुँडिखेलमा गरेको “अमरपंक्षी” नृत्य कार्यक्रमबारे प्रकाशित एवं प्रसारित समाचारहरु प्रति नेपाली सेनाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै नेपाली सेनाको व्यवसायिक मर्यादा, संस्थागत हित र नेपाली सेना विवादमुक्त रहनुपर्छ भन्ने सकारात्मक मनसायसहित प्रकाशित एवं प्रसारित समाचारहरु प्रति नेपाली सेना आभार व्यक्त गर्न चाहन्छ–भनेको छ ।
सेनाले विगतमा टुँडिखेलमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा समेत नेपाली सेनाले प्रत्यक्ष एवम् परोक्षरुपमा सहयोग गर्दै आएको उल्लेख गर्दै सैनिक श्रीमती संघले समेत विगतमा नेपाली सेनाका बहालवाला, भूतपूर्व सैनिक तथा आश्रित परिवारहरु एवं प्राकृतिक प्रकोप लगायतका अवस्थाहरुमा सर्वसाधारणको सहयोगको लागि समेत योगदान गर्दै आएको प्रस्ट्याएको छ ।
भविष्यमा समेत राहत एवं सहयोग गर्ने उद्देश्यले सैनिक श्रीमती संघले गरेको “अमरपंक्षी” कार्यक्रममा उपस्थित कलाकारहरु र दर्शकहरुको सुविधा, सहजता र सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी नेपाली सेनाले अन्य सुरक्षा निकायहरुसँग समन्वय गरी सहयोग प्रदान गरेको सैनिक जनसम्पर्क निर्देशनालयबाट जारी विज्ञप्तीमा भनिएको छ । फेरि पनि राहत कार्य एवं विभिन्न सामाजिक हितका लागि हुने यस किसिमका कार्यक्रममा नेपाली सेनाको सक्दो सहयोग रहने सेनाको भनाई छ ।
यस किसिमका कार्यक्रममा विगतमा समेत विदेशी कलाकारहरु सहभागी हुने गरेको र सो स्तरका कलाकारहरुको आवागमन हुदा सुरक्षा संवेदनशीलता, व्यवहारिकता र विमानस्थलको सुरक्षा चासोमा असर नपर्ने गरी सम्बन्धित सुरक्षा एवं अन्य निकायहरुसँग समन्वय गरि त्रिभुवन बिमानस्थलका उपयुक्त कक्षहरु प्रयोग गर्ने प्रचलन रही आएको सेनाको प्रष्टीकरण दिएको छ ।
यस्तै, विज्ञप्तीमा महत्वपूर्ण व्यक्तिहरुको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखि सुरक्षा व्यवस्था अवलोकनको साथै विमानस्थलमा उपस्थित शुभेच्छुक एवं समर्थकहरुबाट असहज स्थिति सिर्जना नहोस् भन्नको लागि समेत अन्य सुरक्षा निकायको साथ साथै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षार्थ सोही स्थानमा तैनाथ नेपाली सेनाको ईन्जिनियर निर्देशनालयका अधिकृतहरु उपस्थित हुने प्रचलन छ । आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा व्यवस्था अनुगमनको लागि जाने सैनिक व्यक्तिहरुले सैनिक पोशाक प्रयोग गर्नु स्वभाविक नै हो–भन्ने उल्लेख छ ।
यसैगरी, “अमरपंक्षी” कार्यक्रममा सहभागी हुन आएका कलाकारहरुको स्वागतको लागि भने सैनिक श्रीमती संघका पदाधिकारी तथा कार्यक्रम व्यवस्थापकका प्रतिनिधिहरु नै उपस्थित भएको र यसबाट नेपाली सेनाबारे कुनैपनि भ्रममा नपर्नको लागि सबैमा नेपाली सेना हार्दिक अनुरोध गर्दछ–विज्ञप्तीमा भनिएको छ ।