arrow

सरकार ‘इनफ इज इनफ’

कांग्रेस, साझा, विवेकशील दलको समर्थन, प्रधानमन्त्री ओली अटेरी बन्दै 

logo
प्रकाशित २०७७ साउन १९ सोमबार
enouth-is-enough1.jpg

काठमाडौं । कोरोना भाइरसको रोकथामलाई प्रभावकारी बनाउन माग गर्दै दोस्रो चरणको सत्याग्रहमा बसेका सत्याग्रहीको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको छ । १७ दिनदेखि आमरण अनसनमा बसेकाको स्वास्थ्य गम्भीर हुँदासमेत केपी शर्मा ओली नेतृत्वको सरकारले कुनै मतलब गरेको छैन । 

पहिलो चरणमा आमरण अनसन बस्दा ओलीले अस्पतालमा गएर सत्याग्रहीलाई भेटेर माग पूरा हुने र अनसन तोडेर आफूहरुलाई साथ दिन आग्रह गरेका थिए । 

त्यसपछि सात बुँदे सहमति भएको थियो । ती मागहरु पूरा नगरेपछि फेरि आमरण अनसनमा बस्न वाध्य भए । पहिलो चरणमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सत्याग्रह बसेका उनीहरु दोस्रो चरणमा काठमाडौंको बसन्तपुरमा बसेका छन् । 

इनफ इज इनफका अभियन्ता ‘ई’ को स्वास्थ्य गम्भीर समेत बनेको छ । तर सरकारले चासो दिइरहेको छैन । यो आन्दोलनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, साझा पार्टी र विवेकशील नेपाली दलले समर्थन गरेका छन् । 

दिनहुँजसो नेताहरु जाँदै भेट्दै फर्कदै गरिरहेका छन् । तर त्यसको निकास निस्केको छैन । कसैले दलका नेताहरु गएर अभियन्ताहरुको आन्दोलन कमजोर बनेको भनी तर्क गरिरहेका छन् भने सिंगो प्रतिपक्षी दल नै साथमा भएपछि अभियान अझ सफल बन्ने दावी पनि भइरहेको छ ।  

कांग्रेस सभापति शेरबहादुर देउवाले अनसनकारीलाई भेटेर सत्याग्रह त्यागेर आफूहरुको आन्दोलनमा होमिन आग्रह गरेका छन् । त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार अनसनमा बसेका इनफ इज इनफ अभियानका अभियान्ता  ‘ई’ लाई भेटेर मुलुकमा देखिएको समस्याको जड भ्रष्टाचार रहेको बताए । 

केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूका साथ सत्याग्रह स्थल पुगेका पौडेलले नेकपा नेतृत्वको सरकारले जनताको स्वास्थ्यसंग खेलबाड गरेको भन्दै सरकारको हेलचेक्राई विरुद्ध अभियानमा जुटेका युवाहरुको अभियानका आफू र आफ्नो पार्टीको साथ रहेको बताए । 

उनले सरकार तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अटेरी सरकारको संज्ञा दिए । उनले पीसीआरको दायरा बढाउन र क्वारेन्टिन व्यवस्थित गर्न माग गर्दै अभियन्ताहरु अनसन बस्नु दुर्भाग्यपूर्ण भएको पनि पौडेलले बताए । 

सरकारले पीसीआरको दायरा बढाउनु उसको कर्तव्य हो । नागरिकको सुरक्षा गर्नु राज्यको दायित्व हो । 

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले काठमाडौंमा कोरोनाको भयावह स्थिति आउन सक्छ भनेर चेतावनी दिएका छन् । तर राजधानीमा बिना परीक्षण मानिस छिराउने काम कसले गरेको ? 

भारतबाट आउने भारतीयलाई बिना परीक्षण र पीसीआरको रिपोर्ट बिना नेपाल छिराउने काम कसले गरेको ? 

जनता तर्साउने तर व्यवहारिकताबाट चुक्ने सरकारले केवल जनताका लास गन्न खोज्दैछ । 

सरकारलाई व्यवहारिक बन्न आग्रह गर्ने ‘ई’ जस्ता अभियन्तालाई सरकार मार्न खोज्दैछ । 

कोरोनाका नाममा खर्च भएको भनिएको १० अर्बको हिसाब नदिने ओली सरकार भ्रष्ट हो । भ्रष्ट नभए हिसाब दिनुपर्छ । 

सरकार ‘इनफ इज इनफ’ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ