arrow

कृषिको आधुनिकीकरण र व्यावसायीकरणका लागि किसानलाई प्रोत्साहित गर !

logo
भरत प्रधान,
प्रकाशित २०७७ साउन २१ बुधबार
veg-farmer1.jpg

बुटवल। कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि सरकारले प्राथमिकताका आधारमा कार्यक्रम र योजना ल्याउन नसक्दा कृषि क्षेत्रको बिकास हुन नसकेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन्। धानखेतमा माछा पालक कृषक समूह तिलोत्तमा –१० को आयोजना तथा उत्तम साईलेज उद्योगको सहकार्यमा रुपन्देहीको तिलोत्तमा–१०, कान्छीबजारमा मंगलबार आयोजित “समृद्धिका लागि उत्पादन, उत्पादनका लागि सम्वाद” र “उत्पादनका लागि उत्प्रेरणा” कार्यक्रमका सहभागीहरुले सरोकारवालासंगको समन्वयको अभाव र नीतिगत अलमलका कारण कृषि क्षेत्रको बिकासले गति लिन नसकेको बताएका हुन्।

सहभागीहरुले सरकारले किसानका पिरमर्का र समस्यालाई ध्यानमा राखेर कृषिको आधुनिकीकरण र व्यावसायीकरणका लागि किसानलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए। उनीहरुले सरकारी उदासिनता र किसानमा छाएको निराशाका कारण नेपालमा कृषि क्षेत्र खस्कदै गएको भन्दै चिन्ता समेत ब्यक्त गरे।

कृषिको आधुनिकीकरण र ब्यबसायीकरणका लागि सरकारले किसानका लागि मल, बिउ, बिजन लगायतका कृषि सामग्री सहज रुपमा उपलब्ध गराउनुपर्ने उनीहरुको भनाई थियो। कृषि क्षेत्रको बिकास र आधुनिकीकरणका नाममा सरकार ब्यबहारिक भन्दा पनि नीतिगत सिद्धान्तमा अल्झीएको बताउँदै उनीहरुले किसानलाई सरकारी स्तरबाटै प्रोत्साहित गर्न सकिए मात्र कृषि क्षेत्रमा आमूल परिवर्तन गर्न सकिने धारणा ब्यक्त गरे।

सो अवसरमा बोल्दै सामाजिक अभियन्ता डा. दामोदर भुषालले सरकारले किसान लक्षित कार्यक्रम ल्याउन नसक्दा कृषि क्षेत्रको रुपान्तरण र ब्यबसायीकरण हुन नसकेको बताए। सरकारले किसानसंग समन्वय गर्न नसकेका कारण कृषि क्षेत्र असफल भएको बताउंदै भुषालले कृषिको आधुनिकीकरण र व्यावसायीकरणका कुरा सिद्धान्तमै सिमित रहेको जिकीर गरे । कृषि क्रान्तीका नाममा ठूला–ठूला कुरा गरेर करोडौं बजेट तालिम, सेमिनार र सुबिधामा दुरुपयोग भईरहेको समेत उनले बताए। सरकारले तयार गर्ने नीति तथा कार्यक्रमहरु ब्यबहारिक नभएको स्पष्ट पार्दै उनले आन्तरीक स्रोत र साधनको अधिक्तम उपयोग गरेर कृषिको बिकासका लागि किसान स्वयं जागरुक भएर लाग्नुपर्नेमा जोड दिए।

उत्प्रेरणा प्रशिक्षक मुक्तिनाथ गैह्रेले किसानलाई प्रोत्साहनको खांचो रहेको औल्यांउदै समय र प्रविधिको अधिक्तम उपयोग गरेर कृषिमा पनि धेरै मुनाफा आर्जन गर्न सकिने बताए । सो अवसरमा उत्तम साइलेजका सञ्चालक भेषराज पाण्डेले मकै खेती गर्ने आधुनिक तरीका, त्यसको उपयोगिता र मकैबाट आर्जन गर्न सकिने मुनाफा लगायतका बिषयमा प्रशिक्षण दिएका थिए।

समूहका अध्यक्ष राम बहादुर पुनको अध्यक्षता तथा सचिव शिव ढकालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा समूहका सल्लाहकार घनसिंह पुनले समूहको कार्यक्रम र योजनाका बारेमा जानकारी दिए। स्थानीय अगुवाहरू गोपालप्रसाद घिमिरे, कृष्णबहादुर श्रेष्ठ, पत्रकार भरत प्रधान, साइलेज कम्पनीका सञ्चालकहरू कृष्ण गैरे, रूपेश पाण्डे लगायतको उपस्थिति रहेको कार्यक्रममा सो क्षेत्रका ३७ जना कृषकहरूको सहभागिता रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ