arrow

गाउँपालिकामै एक जना पनि संक्रमित नदेखिएपछि खोलियो विद्यालय 

logo
प्रकाशित २०७७ साउन २२ बिहिबार
school-sinduli.jpg

काठमाडौं। पछिल्लो समय मुलुकका अधिकांश क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । सरकारको बुधबारको तथ्याङ्क अनुसार नेपालभरि संक्रमित हुनेको संख्या २१ हजार ३ सय ९० जना पुगेको छ । कोरोना भाइरस नियन्त्रणकै लागि भनेर गत चैत ११ देखि लगाएको लकडाउन समेत खुला गरेर सरकारले संक्रमितको संख्याका आधारमा स्थान विशेषलाई मात्रै लकडाउन गरिरहेको अवस्था छ।

लकडाउन गरेर मुलुकको अर्थतन्त्र नै नकारात्मक हुने भन्दै सरकारले लकडाउन खोल्दै निश्चित संस्थाहरु समेत चलाउन दिने निर्णय गरिसकेको छ। यद्यपि सरकारले शैक्षिक संस्थाहरु पनि नखोल्ने भन्दै शैक्षिक संस्था सञ्चालनको जिम्मा स्थानीय तहलाई दिने छलफल पनि नगरेको होइन।

यसैबीचमा सिन्धुलीको गोलान्जोर गाउँपालिकाको वडा नम्बर दुई । सो वडाका वडाध्यक्ष हुन् दौलत कार्की । उनले लामो समय लकडाउन भएपछि विद्यार्थी विग्रिने भन्दै विद्यालय खुलाउनका लागि अभिभावक, शिक्षक विद्यार्थीलगायत सरोकारवालासँग छलफल गरे । ‘अभिभावकहरुले लामो समय घरमै हुँदा आफ्ना छोराछोरी बिग्रिरहेको र विद्यालय खुलाएर पढाई सुरु गर्दा उपयुक्त हुने सुझाव दिए’ कार्की भन्छन्, ‘छलफलमा सबै सकारात्मक देखिएपछि आफ्नो वडा अन्तर्गत रहेका सबै ८ वटा विद्यालय खुलाउने निर्णय गरियो।’

उनको वडामा अहिलेसम्म कोरोना भाइरसका संक्रमित एक जना पनि छैनन् । गोलान्जोर गाउँपालिकाका प्रवक्ता समेत रहेका कार्की भन्छन् ‘गाउँपालिकामा नै कोरोना संक्रमित छैनन् । संक्रमित नभेटिएपछि विद्यालय खुलाएर दुरी मेन्टेन गरेर पढाई सुरु गराएका हौं ।’ सो वडा अन्तरगत रहेका ८ वटै विद्यालयमा गरेर करिब ७ सय जना विद्यार्थी रहेका छन् । 

लामो समय घरमै बसेर वाक्क बनेका विद्यार्थीहरु अहिले पढ्न पाउँदा खुसी भएको बताउँछन् शैक्षिक अभियन्ता जिम्मी लामा । ‘विद्यालयमा पुग्दा एउटा बेन्चमा दुई जना मात्रै बसाएर पढाएको देखियो’ उनले भने, ‘स्थानीय स्तरमा कोरोना संक्रमण नरहेकाले त्यस्तो जोखिम पनि छैन । सुरक्षित तरिकाले पढाई सुरु गरिएको देखियो ।’

तर, पछिल्लो समय जिल्ला प्रशासन कार्यालयले विद्यालय खुलाउँदा कोरोना संक्रमण फैलिन सक्ने भन्दै विद्यालय बन्द गर्न दवाव दिइरहेको छ । वडाध्यक्ष कार्कीले जिल्ला प्रशासनले विद्यालय बन्द गर्न भनिरहेको बताउँदै त्यसबारेमा सबै पक्षले छलफल थालेको र छलफलपछि मात्रै बन्द गर्ने वा पढाईलाइृ निरन्तरता गर्ने भन्ने निष्कर्षमा पुग्ने बताए । यद्यपि गाउँपालिकामा नै कोरोना संक्रमित व्यक्ति नभेटिएकाले त्यस्तो जोखिम नरहेको र विद्यालय सुचारु गर्न उपयुक्त हुने कार्कीको भनाई थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ