- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
“बुख्याचा”नेवारी सांस्कृतीक शब्द हो । नेवारीभाषामा “बु”भन्नाले बारी/खेत हुन्छ भने “ख्या”भुत अथवा ख्याक भन्ने बुझिन्छ र अन्तमा “चा”जोडेर “बुख्याचा”शब्द बनेको छ ।
यसरी “बुख्याचा”खेतबारीमा राखिएको नक्कली मानिसरुपी पुत्ला हो । “बुख्याचा”ले बालीनालीलाई नराम्रो नजर(आँखा नलागोस) बाट र बालीनाली नास गर्ने पशुपंक्षीहरुलाई खेतबारीमा प्रबेश गर्न रोक्छ भन्ने मान्यताको आधारमा खेतबारीमा राख्ने गरेको पाईन्छ ।
“बुख्याचा”लाई मानिसको नक्कली रुप दिईएको हुन्छ र यसको अस्तित्व तबसम्म रहन्छ जबसम्म यसको आवश्यकता रहन्छ । तपाई हामी देख्न सक्छौं खेतीबारीबाट जब बालीनाली भित्र्याइन्छ सबै “बुख्याचा”हरुलाई नस्ट गरिन्छ । जब अर्को बाली लगाइन्छ किसानले फेरी “बुख्याचा” बनाउँछन् र खेतबारीको डिलमा झुन्ड्याउछन् । यसरी नै “बुख्याचा”को जीवन चक्र चलिरहेको हुन्छ ।
“बुख्याचा”का तीन मुख्य विशेषताहरु
पहिलो, यसको कुनै आफ्नो अतिस्त्व नहुनु हो । त्यसैले यसको आफ्नो न कुनै शक्ती हुन्छ न कुनै प्रकारको क्षमता । तर पनि यसलाई किसानहरुले एक शक्तीशाली मानिसको रुपमा उभ्याएर बाली खान खेतबारीमा आउने पशुपंक्षीहरुलाई तर्साउन सफल भएका हुन्छन् । ति पशुपंक्षीहरुले “बुख्याचा”लाई एक डरलाग्दो शक्तीशाली जीव देखेका हुन्छन् ।
अर्को विशेषता यसको नक्कली रुप । “बुख्याचा”टाढाबाट हेर्दा मान्छे जस्तै देखिन्छ जब नजिक पुगिन्छ अनि थाहा हुन्छ कि यो त मानिसको डमी मात्र हो । यसलाई मानिस जस्तै देखिन सजिसजाउको साथ किसानहरुले बनाएका हुन्छन् । ति अबोध पशुपंक्षीहरु यही नक्कली रुपलाई मानिस सम्झेर “बुख्याचा” उभ्याईएको बालीनालीको वरीपरि जादैनन् । यसरी किसानहरुले सजिलैसँग आफ्नो बालीनाली जोगाउन सफल हुन्छन ।
तेश्रो विशेषता भनेको “बुख्याचा” निश्चित उद्देश्य पुर्तिको लागी बनाइएको हुन्छ । जब त्यो उद्देश्य प्राप्त हुन्छ “बुख्याचा”लाई नष्ट गरिन्छ । त्यसैले यो प्रायोजित र नियोजित एक नक्कली सुरक्षा कवच हो । यसको बास्तविक शक्ती त हुँदैन तर पनि यो एक शक्तीशाली भएर नै उभिएको हुन्छ, जबसम्म यसको बास्तविक रुप बाहिर आउदैन ।
माथि ब्याख्या गरेको ३ वटा “बुख्याचा”को विशेषताहरु नेपाली राजनीतिका पुराना, विभिन्न उत्तरचढाब बिच आजसम्म आएका व्यक्तित्व बामदेबसँग कताकता मिलेको देखिन्छ । हुन त नेकपाका नेता बामदेबको इतिहास सम्झन लायक छ । उनको नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रीक आन्दोलनमा महत्वपूर्ण भुमिका रहेको छ । बामदेवको हिजोको त्यो समय गौरवान्वित थियो भन्न हिच्किचाउनु पर्ने कुनै आधार छैन ।
तर आज बामदेब गौतमले आफुलाई जसरी प्रस्तुत गरिरहेकाछन् उनले हिजोको त्यो राजनीतिक उचाई निरन्तर घटाउदै लगेकाछन् । यसले उनको राजनितीक जीवनमा त पक्कै पनि घाटा हुन्छ नै साथसाथ नेकपाको राजनीतिलाई पनि अन्यौल र धुमिल पर्ने निश्चित देखिन्छ ।
बामदेब गौतमले देखाउनु भएको राजनितीक व्यबहारले उनी माथि आज थुप्रै प्रश्न उब्जिएको छ । उनले समयको अन्तरसँगै कुनै कुनै राजनीतिक यात्रामा उनी माथि तेर्सिएको यि तमाम प्रश्नहरुको अवश्य उत्तर दिनुपर्नेछ ।
राजनिती पदको लागि हुन सक्दैन, यो त एक आर्दश, सिद्धान्त र विचारको लागि हो । जसले देशको विकास र समृद्धि ल्याउन सकोस् । जब तपाई आर्दशको लागी हिडनु हुन्छ, अबश्य पद, प्रतिष्ठा प्राप्त हुन सक्छ नै यो कुनै मागेर, बाढेर लिने बस्तु नहुनु पर्ने हो । यो त ति व्यक्तिहरुले आन्दोलनबाट, आर्दशबाट पाउने सम्मान हो ।
तर बामदेब जसरी पनि सांसद हुन चाहन्छन् । उनको आजको एउटा मात्र लक्ष्य भनेको सांसद अनि उपप्रधान वा प्रधानमन्त्री हुनु हो । ५ बर्षको लागी जनताको मतले पराजीत उनी किन साम, दाम, दण्ड, भेद प्रयोग गरेर जुन सुकै अवस्थामा पनि सांसद हुन चाहान्छन् ? के देश र जनताको सेवा पार्टीमा बसेर गर्न नसकिने नै हो र ? अनि अब बाँकी २ बर्ष सत्ता बाहिर बसेर, पाटी र जनताको काम गरी फेरी जनतामा चुनावमा जान सकिदैन र ? उनीमा यतिसम्मको सत्तामोह किन ?
अर्को कुरा उनी हिजो उपप्रधान देखी बिभिन्न मन्त्रीहरु बनेर जनताले “परिक्षण गरिएको”व्यक्ति नै हुन् । त्यस्तो उनमा कुन बिशेषता छ अथवा थियो जसले उनी नै आजको सरकारमा वा पदमा चाहिने ? त्यस्तो कुनै देखिएको छैन । यस अवस्थामा सांसद पदको लागी उनको जुन आशक्ती देखियो यो एक नैतिकवान राजनीतिज्ञको लागी सुहाउने विषय हुनै सक्दैन ।
यसरी उनको पद र सत्ता प्रतिको आशक्ती बुझेका नेकपाका दुई अध्यक्षले उनलाई “बुख्याचा”बनाएर आफ्नो बाली जोगाउने कोशिस गरेको प्रष्ट देखिन्छ । बामदेवमा आफ्नो राजनितीक अडान, विचार, सिद्धान्त हुदो हो त यसरी उनलाई उभ्याएर एकले अर्कोलाई तर्साउने अवस्था हुने थिएन ।
उनलाई कहिले प्रचण्डले बोकेर हिड्छन् र ओलीलाई तर्साउछन्, त्यसको ५-७ घन्टा बित्न नपाउदै फेरी ओलीले बामदेबलाई बोक्छन् र प्रचण्डलाई तर्साउछन् । उनी कुन शिद्धान्त र आर्दशको लागी यसरी वारीपारी गरि रहेका छन ? अवश्य वारीपारीको त्यो संसर्ग कुनै देश र जनताको विकास र संबृद्धीको लागी थिएन र छैन पनि यदि थियो भने पदको ललीपपमात्र थियो र छ ।
यो अवस्था नेकपाको लागि त अन्तर्घात नै हो, जसले पार्टीलाई यस्तो महामारीको अवस्थामा गतिहिन बनाएकोछ । महिनौसम्म पनि एक स्थायी कमिटीको बैठक बस्न सक्ने अबस्था छैन । आम पार्टी पङती अनि केही आशा गरेका आम नेपालीहरुको लागि पनि यो पार्टीको गतिहिन अवस्थाले नेता, विचार, राजनीतिप्रति नै एक नैराश्यता बढाएकोछ ।
झण्डै दुई तिहाईको नजिक शक्तीका साथ नयाँ संबिधान, नयाँ शासन पद्धती, नयाँ संरचना विच शत्तामा विराजमान नेकपा प्रति आम जनताको ठूलो आशा थियो । देश सबैधानिक राजतन्त्रबाट संघिय गणतन्त्रमा मात्र परिबर्तन भएको थिएन, व्यबस्थाका साथ पुरै नेतृत्व परिबर्तीत यो अबस्थामा हिजो जनताको घर दैलोमा जुन विकास र समृद्धिको नारा शत्तासिन अहिलेका नेताहरुले दिएको थिए त्यही बाचाहरुलाई व्यवहारमा परिबर्तन गरेको देख्ने जनताहरुको सपना आँखा र मनमा हुनु स्वभाविक नै थियो ।
तर यस प्रकारको नेकपा पार्टीको खिचातानीले राष्ट्रिय राजनिती, विकास र संमृद्धीको त्यो नाराहरु सबै खोक्रो बनाई दिएकोछ । देशलाई राजनितीक संकटमा उभ्याएको छ । उनी “बुख्याचा”होइन, हुनुपर्ने एक नैतिकवान नेता थिए । तर उनमा जुन आत्मविश्वासको कमि भयो जसले आज दुई अध्यक्षले “बुख्याचा” बनाएका छन्।
यहाँ बामदेब जस्तो अनुभवी नेताले के बुझिराखेका छैनन् भने तिनै दुई अध्यक्षहरु नै पदको लुछाचुडी गरिरहेको अबस्था छ । उनीहरु नै पदको लागी छिनाझप्टी गरीरहेको अवस्थामा विचमै खोसेर हात पार्ने जुन आशा बामदेबले गरेका छन्, के त्यो त्यती सहज र यथार्थपरक छ ? सोचनिय छ ।
अन्तमा, बामदेवले २ अध्यक्षको भागबण्डाको फण्डामा वारीपारी गर्ने भन्दा पनि हिजो पार्टी एकताको आधारमा उनीहरुलाई सहजीकरण गर्न सक्ने हो भने अवश्य उनको नेतृत्व सहजै कसैले नचाहेर पनि स्थापित हुन्छ । त्यो अवस्थामा कुनै भागबण्डा नै चाहिदैन पद, सत्ताको लागी ।
फेरी हालसम्म भएका जतिपनि सम्झौता तथा समझदारी के कार्यान्वयन भएका छन र ? हिजो पाटी एकता हुदाँ आधाआधा प्रधानमन्त्रीको कुरा होस् या पछि फेरी प्रचण्डको लागी दिएको कार्यकारी अध्यक्षको कुरा होस् हालसम्म कुन पालना भएको छ र ?
उनीसँग भएका समझदारी कार्यान्वयन हुने कुनै आधार नभएको यो अवस्थामा दुई अध्यक्षको “बुख्याचा” भन्दा पनि एक दृढ र नैतिकबान नेता भएर उभिने हो भने उनले पार्टी तथा देशकै सहजीकरणमा महत्वपूर्ण भुमिका निभाउन सक्नेछन् । नत्र उनको पनि आउँदो राजनितीक जिवन कसैको “बुख्याचा” भन्दा माथि जान सक्ने अवस्था देखिदैन ।