४६० महिलाले लिए प्रसुति सेवा

रासस, प्रकाशित मिति : २०७७ श्रावण २४ शनिबार
तस्बिर : फाइल

खोटाङ। जिल्ला अस्पताल खोटाङमा एक वर्षको अवधिमा ४६० जना महिलाले प्रसुति सेवा लिएका छन्। जिल्लाको एकमात्र १५ शय्याको अस्पतालबाट गत २०७६ असारदेखि २०७७ असार मसान्तसम्ममा ३०३ जनाको सामान्य, १०३ जनाको शल्यक्रिया र ५४ जनाले जटिल किसिमको सुत्केरी सेवा लिएका हुन्। 

विसं २०६८ देखि सिइओएनसीको सहकार्यमा प्रसुति सेवा शुरु गरिएको जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७५/०७६ मा ३६३ सामान्य, ९१ शल्यक्रिया र ३५ जना महिलाले जटिल किसिमका प्रसुति सेवा लिएका थिए । पछिल्लो समय एनएसआइको सहकार्यमा दक्ष चिकित्सकबाट प्रसुति सेवा सञ्चालन भइरहेको छ। 

पछिल्लो समय एमडिजिपि डाक्टरबाट जिल्लामै भरपर्दो प्रसुति सेवा सञ्चालन भएपछि जिल्लाबासीलाई सहज भएको छ। प्रसुति सेवाकै लागि चर्को शुल्क तिरेर हेलिकोप्टरमार्फत राजधानी काठमाडौँलगायत सुविधासम्पन्न अस्पताल लानुपर्ने महिलाका लागि जिल्लामै भरपर्दो प्रसुति सेवा सञ्चालन भएपछि सहज भएको हो। 

दिक्तेल बजारमा सञ्चालित जिल्ला अस्पतालमा अघिल्लो आर्थिक वर्ष बहिरङ्ग विभागबाट २४ हजार ७०७ जना र आकस्मिक कक्षबाट सात हजार ३०० बिरामीले सेवा लिएका छन्। उपचारका लागि अस्पतालमा आएका १२२ जना बिरामीलाई माथिल्लो स्वास्थ्य संस्थामा पठाइएको कार्यालय प्रमुख रवीन फुँयालले बताए।  

विसं २०४८ मा स्थापना भएको अस्पताललाई चालु आर्थिक वर्षबाटै ५० शय्यामा स्तरोन्नति गर्ने तयारी थालिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए। “अहिले पन्ध्र शय्यामा सञ्चालित अस्पताललाई राज्यको नीतिअनुसार ५० शय्यामा स्तारोन्नति गर्ने काम शुरु भइसकेको छ”, उनले भने, “उपचारका लागि अस्पताल आउने सेवाग्राहीलाई जिल्लामै सबै किसिमका सुविधा उपलब्ध गराउन आवश्यक उपकरण खरिद गर्नुका साथै प्रदेश सङ्घमा समन्वय गर्ने कामसमेत भइरहेको छ।”

लामो समयसम्म मेनुअल एक्सरे मेशिनबाट सेवाप्रवाह हुँदै आएको अस्पतालमा पछिल्लो समय डिजिटल एक्सरे मशिन सञ्चालनमा ल्याइएको छ। वर्षौदेखि मेनुअल एक्सरे मेशिनबाट सेवाप्रवाह गर्दै आएको अस्पतालले रु १६ लाख मूल्य पर्ने डिजिटल एक्सरे मेशिन जडान गरेर सञ्चालनमा ल्याएको हो।

अस्पतालमा डिजिटल एक्सरे मेशिन सञ्चालन भएपछि जुनसुकै प्रकारको एक्सरे जुनसुकै समयमा पनि गर्न सकिने अस्पतालका रेडियोग्राफर कल्याण बस्नेतले बताए। “डिजिटल एक्सरेले बढीमा पाँच मिनेटमा रिपोर्ट दिन्छ”, उनले भने, “डिजिटल एक्सरेको रिपोर्ट कम्प्युटरमा आवश्यकताअनुसार जुम गरेर हेर्न सकिने र मेनुअल एक्सरे रिपोर्टभन्दा धेरै गुणा राम्रो र छिटो हुनेछ।”

यसैबीच अस्पतालले आर्थिक वर्ष २०७६/०७७ मा नियमित बाहेकका सात वटा नयाँ स्वास्थ्य सेवा शुरु गरिएको जानकारी दिएको छ। अस्पतालमा आर्थिक वर्ष २०७६/०७७ देखि पिटिआइएनआर जाँच सेवा, टिएफटी जाँच सेवा, डिजिटल एक्स–रे, दन्त चिकित्सा सेवा, पोषण पुनःस्थापना, निःशुल्क प्रसुति र ब्लड बैङ्क स्थापना गरिएको कार्यालय प्रमुख फुँयालले जानकारी दिए।

दश स्थानीय तह रहेको जिल्लामा जटिल किसिमका बिरामीलाई थप उपचारका लागि राजधानी काठमाडौँ तथा तराईका जिल्ला लानुपर्ने बाध्यता छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको उत्तरी क्षेत्रको ऐसेलुखर्क र दक्षिणी क्षेत्रको चिसापानीमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन्।

नयाँ