नेपालमा कोरोनाः अपर्‍याप्त भेन्टिलेटर,  औषधि पटक्कै छैन, अपुरो तयारी

सर्वेमार्फत परिक्षण बढाऔं

प्रकाशित मिति : २०७७ श्रावण २५ आइतबार
फाईल तस्विर।

काडमाडौं । सरकारले गत साउन ६ गतेदेखि लकडाउन खोलेसँगै पछिल्लो समय कोरोनाका बिरामी ह्वात्तै बढेका छन् । लकडाउन खुल्नु अघि कोरोना संक्रमितमा लक्षण नभेटिएपनि पछिल्लो समय लक्षणयुक्त केस पनि निरन्तर बढिरहेका छन् । लक्षण देखिदा बिरामीलाई अक्सिजनको खाँचो हुने बताउँछन् स्वास्थ सेवा विभागका पूर्वमहानिर्देशक लक्ष्मीराज पाठक । पाठकले सरकार कोरोना नियन्त्रणका लागि गर्नुपर्ने तयारीमा पूर्णरुपमा चुकेको दावी गरेका छन् । कोरोना नियन्त्रणका लागि सरकारले चालेका कदमले नपुगेको र अझैपनि सरकारले धेरै सुधार गर्नुपर्ने रहेको पाठक बताउँछन् । हाम्राकुराकर्मी पीबी चन्दले कोरोनाको पछिल्लो स्थितिबाट जोगिन सरकारले के के गर्नुपर्ला लगायतका विषयमा पाठकसँग कुराकानी गरेका छन् । प्रस्तुत छ पाठकसँग गरिएको कुराकानी उनकै शब्दमाः

सरकारको पूर्व तयारी कस्तो?

कोरोना नियन्त्रणका सम्बन्धमा सरकारले गरेको पूर्वतयारी नै भएन भनेर मैले भन्दै आएको हुँ । कोरोना नियन्त्रणका लागि पूर्वतयारी गर्नमा सरकार पुरै चुकेको हो । अहिलेको परिस्थति सरकार चुकेको प्रतिफल हो ।

लकडाउन विकल्प होइन

लकडाउन भन्ने कुरा साधन हो, साध्य होइन । त्यो कुनै औषधि होइन, खाली एउटा उपाय मात्रै हो । सधैं लकडाउन गरिराख्नु पर्छ भन्ने छैन । लकडाउन खोल्नु आफैंमा ठुलो उपलब्धि पनि होइन र नराम्रो पनि होइन ।  तर, मूख्य दुईवटा कुरा, लकडाउन लगाउन भन्दा अगाडी पनि सरकारको तयारी भएन । किन लकडाउन लगाउँदैछौं? के कारणले लगाउँदै छौं । कुन कुन ठाउँमा हामी लगाउँदैछौं? लकडाउन गरिसकेपछि सरकारले योजनाबद्ध रुपमा के के गर्नुपर्छ? जनताले आफैंले के गर्नुपर्छ? स्वास्थकर्मीले आफैंले के गर्नुपर्छ? भन्ने कुराहरु कुनै तयारी भएन ।

त्यसपछि सरकारले गरेको लकडाउनको कुनै अर्थ नै देखिएन । त्यो लकडाउन एकदमै अव्यवस्थित थियो । लकडाउन गर्ने त कन्टेनमेन्टको लागि न हो । तर, त्यो खुकुलो थियो, त्यही बेला पनि ओहोर दोहोर भइरहेकै थियो । गाडीहरु पनि चलिरहकै थिए । अब लकडाउन खोलियो, त्यो खोल्नु भन्दा अगाडी ठुलो गृहकार्य हुनुपर्थ्यो, त्यो नभएको देखियो । गृहकार्य नगरीकनै खोल्नुपर्छ भन्ने माग त भयो । उद्योग, व्यवसायीको माग भयो, गरिब जनता, श्रमीकहरुको माग भयो, सबैले माग त गरिरहेका थिए । उनीहरुले माग गर्नुपनि जायज थियो, खोल्नु पनि नाजायज होइन । तर, खोलिसकेपछि हामीले के के गर्नुपर्छ भन्ने कुराहरुप्रति सजग हुनुपर्थ्यो । योजनाबद्ध रुपमा योजना र रणनीति बनाउनु पर्ने थियो । त्यो नबनाएको देखियो । त्यसैले लकडाउन खुल्ने वित्तिकै ह्वात्तै मान्छेहरुले के के न भयो भनेर सबैले आफ्नो सुरक्षा उपाय पनि अपनाउन छोडेर बाहिर निस्किए ।

जो संक्रमित नहुनुको लागि घरभित्रै बसेको थिए, तिनीहरु पनि बाहिर निस्किए, जो भित्रभित्रै संक्रमित थिए, उनीहरु पनि बाहिर निस्किए । भनेपछि दुइटैको सम्पर्क भयो, त्यसपछि यो संक्रमण बढ्यो । अर्को कुरा हाम्रो बोर्डरहरुमा  जुन किसिमले व्यवस्थित हुनुपर्थ्यो, कसरी स्क्रिनिङ गर्ने भन्ने कुराहरु त्यो बेलुकलै व्यवस्थित हुँदै भएन । कुनै कुनै बोर्डरमा त नाम पनि लेख्या छैन । रजिष्टरमा नाम मात्रै लेखेर पनि हुँदैन, उसको घरको ठेगाना, उसको फोन नम्बर, घरको फोन नम्बर सबै राखेर त्यही नै टेष्ट गरेको भए हुन्थयो । हामी पहिले देखि नै भन्दै आएका हौं, त्यही क्वारेन्टाइन बनाउनुपर्छ, अरु बनाउन खर्च गर्नै पर्दैन भनेर । टेष्ट गरेर पोजिटिभ आएको छ, भने त्यहीबाट सुरु गर्ने, त्यही क्वारेन्टाइनमै राखिदिने । त्यसो पनि गरेन ।

अनियन्त्रित भइसक्यो

अर्को परिक्षण गर्न समय लाग्थ्यो भने, त्यसलाई त्यही क्वारेन्टाइन बनाएर त्यही व्यवस्थित राखिदिने गर्नुपर्ने हो । त्यसरी स्क्रिनिङ गरेको भए अहिले छिर्न पाउँदैन्थ्यो ।

भनेपछि यो अब अनियन्त्रित रुपमा समुदायमा जान थालेको भान हुन लाग्यो । दुई नम्बर प्रदेशको बोर्डर क्षेत्रको कुरा गर्दाखेरी वीरगञ्जदेखि सप्तरी, विराटनरगमा पनि आफु बाहिर पनि नगएको, कसैसँग सम्पर्कमा नगएको भन्नेलाई पनि पोजिटिभ भयो भनेपछि समुदायमा गयो भन्ने देखिन्छ ।

दिल्लीमा जस्तै सर्वेमार्फत परिक्षण बढाऔं

ठुलो चुनौती संक्रमण बढ्दै जाने तर, सरकारले गुर्नपर्ने परिक्षण चाँही नगर्ने । अबको उपाय त्यही दुईटा त हो । एउटा परिक्षणको सँख्या होइन, दायरा बढाउने । परिक्षणको दायरा बढाउनै पर्छ । सर्वेलेन्स गरेर दायरा बढाउनु पर्छ । हामीले पहिले देखि नै सर्वेलेन्स गरेनौं । गरे त भन्छन्, त्यो वैज्ञानिक  भएन । सर्वेलेन्स गरेर हटस्पट कहाँ हो भन्ने कुराहरु पत्ता लगाउनु पर्छ । दिल्लीमा कोरोनाको भयावह स्थिति आएको थियो । उनीहरुले दिल्लीको कुल जनसँख्यामा सर्वेलेन्स गरे । र त्यो सर्वेलेन्स गरिसकेपछि हटस्पट कहाँ हो? कहाँ बढी संक्रमित छन्? स्रोत के हो संक्रमण भएको र बढ्न सक्ने स्रोत के हो भनेर पत्ता लगाएर झण्डै २३ प्रतिशत जनसँख्या प्रभावित भएको निष्कर्ष निकाले । उक्त २३ प्रतिशतको परिक्षणमा उनीहरुले कभर गरे । त्यस्तै हाम्रो पनि हटस्पट पत्ता लगाउने हो । लकडाउन लगाएर साध्य हुँदैन । सर्वेलेन्स गर्ने, त्यति गरेपछि संक्रमण भएका र हुनसक्ने सम्भावित ठाउँहरु पत्ता लगाएर तिनीहरुलाई सिल गर्ने हो । व्यापक रुपमा टेष्ट गर्ने । त्यसरी दायराको कुरा गरेको हो । नम्बर बढाएर हुँदैन । नम्बर त जो आयो त्यसलाई परिक्षण गरेर बढाइदियो त्यसरी काम छैन । मलाई पनि कोरोना छ कि? भनेर आउने पनि होलान् त्यस्तोलाई परिक्षण गरेर परिक्षणको सँख्यात्मक रुपमा हेर्नु हुँदैन भनेर मैले मन्त्रालयमा पनि भनेको छु । लकडाउन लगाउने हो भनेपनि हटस्पट पत्ता लगाएर निश्चित क्षेत्रमा मात्रै लाउने हो ।

आइसीयु र भेन्टिलेटरको व्यवस्था गरौं

संक्रमण बढेपछि हामीलाई चाहिने भनेको उपचार नै हो । आइसोलेसन बेड चाहिने हो, भेन्टिलेटर चाहिने हो । उपचार चाहिने हो । त्यसको लागि हाम्रो तयारी नै छैन । वीरगञ्जले त हामी गर्न सक्दैनौं भनेर हात उठाइसक्यो । उनीहरुसँग भएको आइसोलेसन, आइसीयु, भेन्टिलेटर जति उपलब्ध थिए, ती सबै प्रयोग भए । अब हामी सक्दैनौं भने ।

त्यो परिस्थिति अब सबै ठाउँ आउन सक्छ । त्यसको लागि त केही सुरसार नै छैन । मूख्य कुरा त्यसको तयारी गर्नुपर्‍यो । जस्तै संक्रमण साउन–भदौदेखि फागुनसम्म ‘म्याक्सिमम’ हुन्छ भनेर सरकारले नै प्रक्ष्येपण गरेको छ । प्रक्ष्येपण अनुसार साउनको अन्मितसम्म ३० हजार संक्रमित हुने र त्यसपछि क्रमिक रुपमा बढ्दै फागुनमा ८० हजार हुने भन्ने प्रक्ष्येपण छ । त्यो आधारमा आइसोलेसन बेड कति चाहियो? भेन्टिलेटर कति चाहियो? यी कुरा त थाहा भइहाल्छ नि । तर, त्यसको तयारी खोइ? भेन्टिलेटर पनि जम्मा १ सय ६० वटा किनेको रहेछ । यही हिसावले बिरामी बढेमा १ सय ६० वटा भेन्टिलेटरले पुग्दैन । अहिलेकै हिसावले संक्रमणको सँख्या बढ्ने हो भने त त्यो पनि छिटै भरिन्छ । त्यो तयारी गर्नमा सरकार चुकेको छ । त्यो तयारी गर्नुपर्‍यो । आइसोलेसन बेड थप्ने, भेन्टिलेटर थप्ने ।

अक्सिजनको आपूर्ति महत्वपूर्ण

अक्सिजन निर्वाध रुपमा उपलब्ध हुनुपर्‍यो । किनभने यसले अक्सिजनमै अट्याक गर्ने हो । अक्सिजनकै कमी गर्ने हो । त्यसैले अक्सिजन निर्वाधरुपमा आपूर्ति हुनुपर्‍यो । सबैले निर्वाध रुपमा अक्सिजन पाउनुपर्‍यो ।

पहिला लक्षणविनाका बिरामी भेटिन्थ्यो । अहिले लक्षणसहीतका भेटिन थालेका छन् । डब्ल्युएचओले पनि बदमासी गरेको छ । डब्ल्युएचओले पहिला लक्षण नभएकाबाट सर्दैन भन्यो, पछि वैज्ञानिकहरुले दवाव दिएपछि डब्ल्युएचओले धेरैपछि लक्षण नभएकाहरुबाट पनि सर्छ भन्यो । त्यो बदमासी नै हो ।

यहाँ पनि त्यही डब्ल्युएचओकै रिपोर्टलाई विश्वास गरेर लक्षण नभएकालाई त्यतिकै घर पठाउनेसम्मका काम गरियो । लक्षण नदेखिएकालाई पनि हामीले क्वारेन्टाइनमा राखेको भए, टेष्ट गरेर उसको स्थिति हेरेको भए, त्यसले नि केही हदसम्म रोक्थ्यो । अरुलाई संक्रमण गर्दैन्थ्यो ।

अहिलेका जतिपनि केसहरु आएका छन्, ती सबै लक्षणयुक्त छन् । लक्षण देखियो भन्नुको अर्थ के हो भने उनीहरुलाई अक्सिजन चाहिने भयो । दोस्रो कुरा भेन्टिलेटर आवश्यक पर्न सक्छ । तेस्रो कुरा त्यसका लागि चाहिने औषधि जुन अहिले विश्वमा एन्टिभाइरल औषधि प्रयोग भइरहेको छ, त्यो औषधि पनि हामीसँग छैन । त्यो एन्टिभाइरल औषधि नेपालमा भित्रिएकै छैन । त्यो औषधि मगाउनु पर्‍यो छिटो भनेर हामीले भनिरहेका छौं ।  त्यो औषधिले भेन्टिलेटर जानु भन्दा अगाडीको अवस्थामा काम गर्छ । भेन्टिलेटर जानबाट रोक्नेसम्मको काम गर्छ । बाहिरतिर रोकेको देखियो । त्यो औषधि हामीसँग उपलब्ध नै छैन । त्यस्तै  अहिले लक्षण भएका बिरामी आइरहेका छन् । तर हामीसँग आइसोलेसन, आइसीयु बेडहरु र भेन्टिलेटरको कमी छ । र प्रोटेकल अनुसार औषधि उपचार हुन सकिरहेको छैन ।  औषधिको व्यवस्था हुन सकेको छैन । जस्तै अस्ती डा. ज्ञानेन्द्र कार्कीलाई प्लाज्माथेरापी दिइयो, त्यो प्लाज्मा थेरापीले मात्रै सफल भएको हैन । उनले आफ्नो नीजि प्रयासमा एन्टिभाइरल औषधि मगाएर खाएका हुन् । त्यही भएर निको भएको हो ।

त्यो औषधि अरु जनताले चाँही नपाउने? त्यो उपलब्ध हुनुपर्‍यो नि त औषधि । त्यो औषधि उपलब्ध छैन । ठुलो चुनौती छ । लक्षण भएका केसहरु आइरहेका छन्, औषधि त्यस्तो उपलब्धता छैन हाम्रोमा । विश्वभरि प्रयोग भइरहेको, अलिकति राम्रो परिणाम दिइरहेको छ, भनेपछि त त्यसलाई त हामीले पनि मान्नु पर्‍यो नि । त्यो एन्टिभाइरल उपलब्ध नै छैन ।

स्वास्थकर्मीको मनोबल बढाऔं

स्वास्थकर्मीहरुमा मनोबल घट्दो क्रममा छ । न उनीहरुको इन्स्योरेन्स गरेको छ, न उनीहरुलाई ढुक्कसँग काम गर्नुपर्ने वातावरण बनाइदिएको छ । त्यसैले उनीहरुको मनोबल घट्दो क्रममा रहेको छ । प्रोत्साहन भत्ता पनि दिइएको छैन । खाली ल्याबमा काम गर्नेहरुलाई मात्रै प्रोत्साहन भत्ता दिइएको छ । त्यसले गर्दाखेरी उनीहरुको मनोबल घट्दो छ । अबको अवस्था चाँही अलकिति क्रिटिकल हुन सक्छ । तर, त्यस्तो नहोस् । हामीलाई पशुपतिनाथले बचाउन् ।

यदि साँच्चीकै यही हिसावले जाने हो भने धान्न सक्ने स्थिति छैन । एकदम ठुलो चुनौती आएको छ । अब हामीले सरकारले गरेको प्रयास नपुगेको हुनाले जनताले आफ्नो सुरक्षा आफैं गुर्नुपर्छ भनेर अपिल गर्नुपर्छ । जनताले नै अग्रसरता लिनुपर्‍यो अब । अरु विकल्प नै छैन । जनताले आफुले आफ्नै सीमीत दायरामा बस्नु पर्‍यो । सुरक्षाका उपाय अपनाउनु पर्‍यो ।

नयाँ