लापर्वाहीले महाव्याधि संक्रमण बढाउँदै

गोपालप्रसाद बराल, प्रकाशित मिति : २०७७ श्रावण २५ आइतबार

महोत्तरी । “बुबा, हजुर कहाँ पुगेर आउनुभयो ? कोरोना देख्नुभयो ?”, दिनभरिको रिपोर्टिङबाट फर्कंदा चार वर्ष पूरा नपुगेकी मेरी नातिनी बिनिभाले सोध्ने पछिल्ला पाँच महिनायता सधैँजसोको जिज्ञासा हुने गरेको छ । बिनिभाले खेल्ने मोबाइल, घरको टिभी र रेडियोले बराबर कोरोना भाइरसबारे चर्चा गरिरहँदा यसबारे उनको जिज्ञासा बढेको म अनुमान लगाउँछु । सधैँको दोडादौडीले घरपरिवारका अन्य सदस्यले पनि ‘किन यति हिँडिरहनु परेको’ भन्ने गरेका छन् । सामान्यतया घरबाहिर निस्कँदा मास्क लगाउने, भरसक भीडभाडमा नपस्ने र भौतिक दूरी निर्वाहमा ध्यान पुर्‍याइएको छ । 

यद्यपि साँझमा घर फर्कंदा नातिनीको जिज्ञासाले मन झस्काउने गरेको छ । आफ्नै परिवेशको कुरा गर्दा कोभिड–१९ महाव्याधिको सन्त्रास झेल्दै आएको पाँच महिना नाघिसकेको छ । अन्य मुलुकमा सन् २०२० को प्रारम्भसँगै बढेको यो महाव्याधि हामीकहाँ भने गत चैत दोस्रो सातासँगै पसेको भेटिन्छ । यद्यपि चैत पहिलो सातामै अन्तर्राष्ट्रिय उडानबाट मुलुक भित्रिएकामा पहिलोपटक संक्रमण पुष्टि भएको हो । शुरुमा युरोप र अरब राष्ट्रबाट फर्केकामा संक्रमण पुष्टि भएको यो महाव्याधि महोत्तरीसहितका प्रदेश–२ मा भने नयाँ वर्ष २०७७ सँगै झाँगिदै गएको तथ्याङ्कले देखाउँछन् । सरकारले पनि चैत ११ गतेदेखि ‘लकडाउन’ लागू गरेर संक्रमण रोकथाममा प्रयत्न थाल्यो । युरोप र अन्य अरब राष्ट्रबाट फर्कनेको जाँचले दुई अङ्क ननाघेको संक्रमणको सङ्ख्या भारतबाट घर फर्कने बढेसँगै भने ह्वात्तै फड्को मारेको तथ्याङ्कले नै स्पष्ट पारेको छ । 

संक्रमण सन्त्रास बढिरहेबीच वैशाख दोस्रो साता मसहितका १० सञ्चारकर्मीको पिसिआर परीक्षण भयो । रिपोर्टिङका क्रममा बच्दाबच्दै भीडमा परेर बढेको मानसिक बेचैनीलाई परीक्षणको नेगेटिभ नतिजाले सान्त्वना दियो  । स्वाब सङ्कलन गरिएको दिनदेखि नतिजा प्राप्त भएको छ दिनको बीचमा कतै ननिस्की घरै बसिरहँदा सबैभन्दा खुशी मेरी नातिनी बिनिभा थिइन् । यद्यपि मसँग खेल्न र गफिन पाउँदा खुशी हुने बिनिभालाई यो अवसर धेरै मिलेन । रिपोर्टिङमा फेरि जुट्नु नै थियो । मास्क लगाएर हिँड्ने, यथाशक्य भौतिक दूरी निर्वाह गर्ने मसहितका अन्य सहकर्मीको प्रयत्न क्वारेन्टिन केन्द्रमा हुने कोलाहलले बिच्क्याउँथ्यो । ‘हाम्रा ओछ्यान छैनन्, खान राम्रो पाइएको छैन, बसोबास कोलाहलपूर्ण छ’ भन्दै कराउने क्वारेन्टिनमा बसेकाहरुको गुनासो स्थानीय तहका प्रतिनिधिसम्म पुर्‍याएर यथाशक्य उचित प्रबन्धको अनुरोध गरेर हलुको हुनेबाहेक हामीसँग दिने अन्य कुरा थिएनन् । यद्यपि ठाउँठाउँमा हाम्रो यो प्रयत्नले क्वारेन्टिन केन्द्रको व्यवस्थापन सुध्रिएको पाउँदा हामी दङ्ग पथ्र्यौं ।

आमरूपमा यहाँ मानिसलाई भीडभाडमा नजान, मास्क सधैँ प्रयोग गर्न र एकअर्काबीच भौतिक दूरी निर्वाह गर्न गरिने आग्रहको खासै सुनुवाइ भएको अनुभूति लिन सकिएन । यहाँ संक्रमणको यो डरमर्दो रूप वास्तवमा सुरक्षा प्रबन्धप्रतिको अरुचिमात्र हैन बेवास्ता नै हो भन्ने हामी सञ्चारकर्मीको निष्कर्ष हुने गरेको छ । गहिराइमा बुझ्न खोज्दा जीवन गुजाराका लागि गरिब घरबाट निस्कन बाध्य भएका भेटिए पनि धेरैजसोमा अटेरीपन नै कारण भेटिएको महोत्तरीका सञ्चारकर्मी अमृतकुमार महतो बताउछन् । यद्यपि विपद्का बेला राज्य पक्ष (सरकारका अङ्गहरु, स्थानीय तह) को सघन उपस्थिति नहुनु र योजनाबद्ध रोकथामका उपाय अवलम्बन र प्रभावकारी अनुगमनको कमी पनि संक्रमण बढ्नाका कारण रहेको अमृतको ठम्याइ छ । 

पाँच महिना नाघेको यो त्रासदीपूर्ण अवधिबीच हालसम्म कोरोना भाइरस संक्रमणले मुलुकमा ७३ जनाको ज्यान लिइसकेको छ । प्रदेश–२ मै यो सङ्ख्या २६ पुगेको छ । यसरी यो महाव्याधिले ज्यान गुमाउनेमा मेरै जिल्ला महोत्तरीका पनि एकजना परेका छन् । दिनहुँ संक्रमित बढिरहेका छन् । मृत्युको कहालीलाग्दो चर्चा पनि सबैतिर भएको सुनिन्छ । “बुझ्नु भो गोपालजी, यो कोरोनाले मर्नेको त बोक्ने, घाट पुर्‍याउने र सद्गतका अन्य विधि पनि परिवारजनले गर्न पाउन्नन् रे !”, महोत्तरीको भारतीय सीमावर्ती नाका सम्सीको भीडमा भेटिएका एक परिचित मलाई भन्दै थिए ।  चिया पसलमा बसेर कोरोना असरबारे एकोहोरो बोलिरहेका उनले न मास्क लगाएका थिए, न भौतिक दूरीको नै उनले पर्वाह गरेको देखिन्थ्यो । मैले परैबाट “तपाईं मास्क पनि लगाउनु भएको छैन, चिया पसलको भीडमा हुनुहुन्छ, अलि ख्याल गर्नुहोस्” भनेँ । उनी भीडमै रमाइरहे ।  

मुलुकमा संक्रमण भित्रिएको प्रारम्भिक चरणमै मेरो जिल्ला महोत्तरीसहितका प्रदेश–२ का आठवटै जिल्लामा संक्रमण रोकथामका सचेतना अभियान निरन्तर चलाइए । चोकबजारमा मास्क बाँड्नेदेखि घरबाट ननिस्कन अपिल गरिँदै राहतको नाउँमा दालचामल पनि बाँडियो । प्रदेशका सबै रेडियोहरुले लगातार घरबाहिर ननिस्कन, भीडभाडमा नजान, मास्क लगाउन, भौतिक दूरी कायम गर्न र बाहिरबाट आउनेलाई क्वारेन्टिन केन्द्रमा पुर्‍याउन पहलकदमी लिन अपिल गरिरहे । यद्यपि प्रदेश–२ मा भारतसँगको खुला सीमाका कारण भीड भित्रिने क्रम रोकिएन । भित्रिएका सबै आ–आफ्ना बस्तीमा स्वच्छन्द रूपले हिँडडुल गरेपछि यहाँ संक्रमण ह्वात्तै बढेको देखिन्छ । लकडाउन अवधिमा पनि महोत्तरी र प्रदेशका सबैजसो हाटबजारमा सदाबहार  भीडभाड जमी नै रह्यो । सीमा क्षेत्र (नेपाल–भारत सीमा क्षेत्र) मा हुने दोहोरो आवागमन नरोकिँदा, नेपाल प्रवेश गर्ने सबैको प्रारम्भिक स्वास्थ्य जाँचसमेत गर्न नसकिँदा यस क्षेत्रमा संक्रमण ह्वात्तै बढेको स्वास्थ्यकर्मी नै बताउँछन् । 

प्रदेश–२ मा संक्रमण पश्चिमी जिल्ला पर्सामा शुरु भयो । चैत अन्त्यमा भारतबाट आएका तीन जना भारतीयमा संक्रमण पुष्टि भएको हो । चैत सकिँदा प्रदेशमा तीन सङ्ख्यामात्र रहेको यो संक्रमण क्रमशः सर्लाही, सप्तरी र रौतहट हुँदै प्रदेशका सबै जिल्लामा पसेर वैशाख मसान्तमा आइपुग्दा मेरै जिल्ला महोत्तरीका दुई जनामा समेत प्रदेशभरिमा ९५ मा पुग्यो । महोत्तरीसहितका प्रदेश–२ का जिल्लामा जेठ दोस्रो साताको प्रारम्भसँगै भारतबाट फर्कनेको सङ्ख्या थामिनसक्नु भयो । खासमा सीमा क्षेत्रका दुवैतर्फ जोडिएका गुजुमुज्ज बस्तीबाट रातारात हजारौँ भित्रिए । न कसैको लगत बन्यो, न कुनै अभिलेख ! यस क्रमले जेठ मसान्तमा प्रदेशमा संक्रमित सङ्ख्या दुई हजार १४ पुग्यो । यतिञ्जेलमा मेरो जिल्ला महोत्तरीमा पनि संक्रमित १८८ पुगे । भित्रिने हरुको लगत नभएपछि उनीहरुको स्वच्छन्द घुमफिरले संक्रमण बढ्दै गयो भने भारतबाट यता भित्रिने क्रम असारभरि नै पनि जारी रह्यो । असार मसान्त आइपुग्दा प्रदेशभरिमा तीन हजार ९११ र मेरो जिल्ला महोत्तरीमा संक्रमित सङ्ख्या ७३८ पुगिसकेको थियो । 

मध्य असारअघि महोत्तरीको भारतीय सीमावत्र्ती सम्सी गाउँपालिकामा त भारतबाट फर्कनेको भीड थामिनसक्नु भयो । हामी केही सङ्ख्याका सञ्चारकर्मी पनि त्यहाँको अवस्था हेर्न पुग्यौँ । सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मी सबैको पहलकदमीमा सम्सीमा मात्रै क्वारेन्टिनमा बस्ने दुई हजार नाघे । बस्तीमा भर्खर भारतबाट को आएको छ भन्दै खोजी गरेर निकाल्दै जाँदा त्यहाँको क्वारेन्टिनमा यो सङ्ख्या पुगेको हो । त्यहाँ गरिएको पिसिआर परीक्षणमा २७५ जनामा संक्रमण पुष्टि भयो । यसबाहेक जिल्लाका अन्य नाकाबाट लुकीचोरी भित्रिने क्रम पनि रोकिएन । संक्रमण बढ्दै जाँदा महोत्तरी प्रदेशमै रौतहटपछि सबैभन्दा बढी संक्रमितको जिल्ला बन्यो । अहिले प्रदेशमा संक्रमण पुष्टि भएका पाँच हजार ६३१ मध्ये ८६८ (शनिबारसम्मको अद्यावधिक तथ्याङ्कअनुसार) महोत्तरीका छन् । 

लकडाउन अवधिमै पनि भीडभाड र हाटबजार नियन्त्रण हुन नसकेको महोत्तरीसहितका प्रदेश–२ का जिल्लामा साउन ७ गते लकडाउन हटेयता संक्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेयता (साउन ७ देखि हालसम्म) नै प्रदेश २ मा एक हजार ३६७ र महोत्तरीमा ११७ संक्रमित बढेका छन् । त्यसअघि साउन १ देखि ६ गतेसम्मका छ दिनमा प्रदेशभरिमा ३५३ र महोत्तरीमा १३ जना संक्रमित बढेका थिए ।  यो प्रदेश २ को सामाजिक विकास मन्त्रालयले अद्यावधिक गरेको अभिलेखअनुसारको सङ्ख्या हो । यद्यपि यो विपद्भित्र एउटा आशलाग्दो पक्ष उपचारले ठीक भएर घर फर्कनेको सङ्ख्या पनि अहिलेसम्म तीन हजार ३३४ पुगेको छ । यो कूल संक्रमित पाँच हजार ६३१ को ५९ दशमलव २० (५९.२०%) प्रतिशत हो । 

यसभित्र २६ जना (०.४६%) को दुःखद मृत्यु भएको छभने दुई हजार २७१ (४०.३३%) अझै उपचारका क्रममा छन् । प्रदेशमा हालसम्म ६७ हजार ४२० को पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । तीमध्ये महोत्तरीका चार हजार ३७३ जना छन् । प्रदेशमा स्वाब सङ्कलन गरिएकामध्ये चार हजार ३८४ को भने  परीक्षण नतिजा आउन बाँकी देखिन्छ । जताततै बढेको भीड रोक्न पछिल्लो पटक गत साता (साउन १९ यता) देखि नै महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाका मुख्य बजार क्षेत्र र महोत्तरी गाउँपालिका–३ र ५ मा जिल्ला प्रशासन कार्यालय महोत्तरीले कफ्र्यु (निषेधाज्ञा) जारी गरेको छ । 

यसैगरी जिल्लाका भङ्गाहा नगरपालिकाले आफ्नो नगर क्षेत्रका हाटबजार लाग्न साउनभरि रोकेको छ । यसै क्रममा बर्दिवास नगरपालिका–१, २ र १४ वडासमिति र बर्दिवास उद्योग वाणिज्य सङ्घले भीडभाड रोक्न हाटबजार नलगाउन र भीडभाडमा ननिस्कन सर्वसाधारणलाई अपिल गरेका छन् । स्थानीय तह र उद्योगी व्यापारीको यो प्रयत्नले भीडभाड घटेको देखिँदो छ । यद्यपि संक्रमण बढ्न नदिन अपनाउनुपर्ने सुरक्षा प्रबन्धमा देखिने उदासीनताले  जोखिम कायम नै छ । 

पिसिआर परीक्षण तत्काल गरिनुपर्ने र गर्न इच्छुकको सङ्ख्या उल्लेख्य छ तर स्वाब सङ्कलनदेखि त्यसको परीक्षणसम्मका लागि आवश्यक उपकरण, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री पर्याप्त नहुँदा अपेक्षित परीक्षण हुन सकेको छैन । भर्खरै प्रदेश–२ सरकारले तीन पिसिआर मसिन, ५० भेन्टिलेटर, ५०० श्ययाको आइसोलेसन कक्ष बढाउने र सो सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरेपछि परीक्षण र अझ प्रभावकारी उपचार प्रबन्ध बढ्ने कुराको आश जागेको छ । आफ्नो जिल्ला र प्रदेशको यो अवस्थाबीच सधैँ घर पुग्दा नातिनी बिनिभाले राख्ने कोरोनाबारेको जिज्ञासाले उनलाई काखमा लिन पनि डर लाग्ने गरेको छ । “बुबा, कोरोना देख्नुभयो ?”, बिनिभा सोध्छिन् । उनी झ्वास्सै मलाई समात्न नआई पुगुन् भनेर म ‘नानी, मामुलाई नछोड’ भन्दै साबुनपानीले हातगोडा धुन धारातिर जान्छु । नानीको रहर न हो, म धाराबाट फर्कनासाथ बिनिभा झ्याप्प मलाई समाउँछिन्, म डराउँदै डराउँदै उनलाई डोर्‍याएर उनकी मामु (आमा)निर पुर्‍याउँछु ।

नयाँ