arrow

कोरोना संक्रमित राख्न अभाव, रंगेलीद्धारा सय वेडको आईसोलेशन सेन्टर सञ्चालन 

logo
किरण न्यौपाने, 
प्रकाशित २०७७ साउन २६ सोमबार
rangeli-nagarpalika-isolati.jpg

रंगेली । प्रदेश नं १ स्तरीय कोरोना उपचार अस्पतालहरु भरिएपछि रंगेली नगरपालिकाले आफै आईसोलेशन सेन्टर संचालनमा ल्याएको छ । 

रंगेलीमा  समुदाय स्तरमै फैलिएपछि कोरोना संक्रमितलाई राख्न समस्या भएपछि नगरपालिकाले आईसोलेशन सञ्चालनमा ल्याएको हो । 

रंगेली नगरपालिकाले आफ्नै स्रोत र साधन परिचालन जनता क्याम्पसमा एक सय वेड क्षमताको कोरोना उपचारका लागि आईसोलेशन सेन्टर सञ्चालन गरेको हो । 

सेन्टरमा कोरोना संक्रमण पुष्टि भई लक्षण देखा नपरेका विरामी राखेर उपचार गरिने र थप उपचार आवश्यक परेका कडा लक्षणका विरामीहरुलाई प्रदेश कोरोना अस्पतालमा लगिने व्यवस्था मिलाएको रंगेली नगरपालिका मेयर दिलीप वगडियाले जानकारी दिए ।  

मेयर वगडियाले पालिकास्तरीय आईसोलेशन सञ्चालन कार्य विधि अनुरुपको मापदण्ड अनुसार  क्याम्पस भवनमै आईसोलेशन सेन्टर बनाएको जानकारी दिए । 

यसअघि नगरपालिकाले क्याम्पस भवनलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्दै आएको थियो । मेयर वगडियाले भने, ‘प्रदेश १ मा  कोरोना संक्रमित दिन प्रतिदिन बढ्दै गएकाले हामीले रंगेलीबासीलाई उपचारमा समस्या नहोस् भनेर आईसोलेशन सेन्टर संचालन गरेका हौं ।’

आईसोलेशनमा अक्सिजन, तातो पानी, खाना, चिया फलफुलको प्रवन्ध गरिने छ । साथै साबुन, शौचालय र पानीको उचित प्रवन्धसंगै सरसफाईमा समेत ध्यान दिइने मेयर वगडियाले बताए । 

आईसोलेशनमा उपचारका लागी रंगेली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रोहेन्द्र पाँडे नेतृत्वमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी रहने छन् ।  

पछिल्लो समय रंगेलीका ३ स्वास्थ्यकर्मी , ५ विद्युत कर्मचारी र एकै परिवारका १४ जना सहित २२ जनामा पहिलो पटक समुदाय स्तरमै कोरोना पोजेटिभ संक्रमित फेला परेका थिए । 

त्यसैगरी कन्ट्याक ट्रेसिङमा थप ३० जना संक्रमित थपिएपछि प्रदेशका कोरोना उपचार केन्द्रले राख्न नमानेपछि  नगरले जनता क्याम्पसलाई आईसोलेशनमा रुपान्तरण गरेको बुझिएको छ । 

नगरले संक्रमितको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी २४ घण्टा एम्वुलेन्स सेवा व्यवस्था मिलाएको छ । हाल रंगेली जनता क्याम्पसको आईसोलेशनमा लक्षण देखा नपरेका तर कोरोना पुष्टी भएका २८ जना कोरोना  संक्रमित रहेका छन् । 

साथै नगरपालिकाले रंगेली तिरुपति बालाजी मन्दिरको भवनमा छुट्टै १ सय वेड क्षमताका क्वारेन्टिनसमेत रहिरहने  छ । सो स्थानमा अन्य मुलुकबाट फर्की आएकाहरुलाई राखिने व्यवस्था मिलाएको जनाएको छ ।

प्रदेश सरकारले सञ्चालनमा गरेको कोशी, विपी र गोठगाऊको उपचार केन्द्र तथा आईसोलेशनहरुमा थप संक्रमण पुष्टि भएकाहरुलाई राख्ने ठाउँ नभएको बताउदै संक्रमित लिन नमान्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ