arrow

सेवा दिने तरिका यही हो भन्दै अनमी भट्टमाथि कुटपिट

logo
प्रकाशित २०७७ साउन २६ सोमबार
nurse1.jpg

बैतडी । बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ स्वास्थ्यचौकी अन्र्तगतको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि कुटपिट भएको हो ।

स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कुटपिट गरेको भट्टले बताइन् । पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरले कुटपिट गरेको हो । 

स्थानीय एक बृद्धा बिरामीलाई स्लाईन चढाइरहेका र सोही बेला ती युवकले कुटपिट गरेको उनले बताइन् । उनले भनिन्, “बृद्धा आमा कान नसुन्ने र उहाँसँग ठूलो स्वरले बोल्दा स्वास्थ्यकर्मीले सेवा दिने तरिका यही हो भनेर गालीगलैच गर्दै कुटपिट गरे ।” ती युवाको कुटपिटबाट जानकीको हातको औला भाचिँएको, मुख, छाति र टाउकोमा चोट लागेको छ । उनको हातमा उपचार भइरहेको छ । 

आफू अहिले न्यायको खोजीका लागि नगरपालिकामा पुगेको जानकीले बताइन् ।  कुटपिट गर्ने ती युवकले स्वास्थ्यकेन्द्रमा कार्यरत स्वीपर(कार्यालय सहयोगी) बिमला कुँवरमाथि पनि हातपात गर्नुका साथै कार्यालयमा रहेका कागजात पनि च्यातेको बताइएको छ ।  कुटपिटपश्चात जानकीले ती युवालाई पक्राउ गरी आवश्यक कार्वाहीका लागि प्रहरी चौकी पुरघाटमा निवेदन दिएकी छन् । 

स्वास्थ्यकर्मीमाथि स्वास्थ्य संस्थामै कुटपिट र दुव्र्यवहार भएकोले आफू असुरक्षित रहेको न्वादेउ स्वास्थ्य चौकीका इञ्चार्ज गणेश धानुकले बताए । उनले भने“स्वास्थ्य कर्मीमाथि कुटपिट गर्ने जोसुकैलाई पनि कानूनी कार्वाही हुनुपर्छ, स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण बन्नुपर्छ ।” 

यसैबीच कुटपिट गर्ने ती दुबै युवक फरार रहेका छन् । फरार रहेका मोहन कुँवर र वीरेन्द्र कुँवरको खोजी जारी रहेको प्रहरीले जनाएको छ । 

महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्ने उजुरी आएको र घटनाको थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । फरार रहेका युवकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ