arrow

महामारीमा ओली सरकारको उपहार : गरिबले पिउने पानीको मूल्य बढाइयो, हाकिमले पिउने पानीको मूल्य घटाइयो

logo
पीबी चन्द,
प्रकाशित २०७७ साउन २६ सोमबार
dept-commerce.jpg

काठमाडौं। महामारीको चपेटामा परेका सर्वसाधारण उपभोक्ताका लागि केपीशर्मा ओली नेतृत्वको सरकारले उपहारस्वरुप पानीको मूल्य बढाएको छ। ओली नेतृत्वको सरकारले सर्वसाधारणले पिउने जारको पानीको मूल्य बढाएको छ भने सरकारी कार्यालय एवंम हाकिमहरुले पिउने एक लिटर बोतलको पानीको मूल्य घटाएको छ।

सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पत्रकार सम्मेलन गर्दै ओली सरकारले पानीमा गरेको मूल्यवृद्धिको उपहार सगौरव सुनाएको हो। विभागका अनुसार आगामी भदौ १० गते देखि लागु हुनेगरी सर्वसाधारणले पिउने पानीको मूल्य बढाएर प्रतिजार ५० रुपैयाँ र हाकिमहरुले पिउने बोतलको पानीको मूल्य प्रतिबोतल (लिटर) १६ रुपैयाँ कायम गरिएको छ । यसअघि जारको मूल्य प्रतिजार ३५ रुपैयाँ देखि ४० रुपैयाँमा उपभोक्ताले पाउँदै आएका छन् । सोमबार समेत जारको पानीको मूल्य प्रतिजार ४० रुपैयाँ नै रहेको छ । डिल्ली बजार पिपलबोटमा रहेको सिग्देल किराना पसलका सञ्चालक विवेक सिग्देलले सोमबार दिउँसो पानीको जारको मल्य प्रतिजार ४० रुपैयाँ दरले विक्री गरिरहेको बताए । आफुहरुले ३० रुपैयाँमा खरिद गर्ने भएकाले ढुवानी, भाडा सबै जोड्दा ४० रुपैयाँमा पानीको जार विक्री गर्दा सन्तुष्ट हुनु परेको व्यवसायी बताउँछन्।

त्यस्तै विभागले एक लिटर पानीको बोतलको मूल्य सोमबार २० रुपैयाँ देखि २५ रुपैयाँ रहेको किराना व्यवसायीहरुले बताएका छन्। पानीको मूल्य घटाएको दावी गरेको विभागकै कर्मचारीहरु पनि घरको परियोजनको लागि खरिद गरिने जारको पानी २५ रुपैयाँमा खरिद गरिरहेको बताउँछन् । विभागले पानीको मूल्य निर्धारणका सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलका संयोजक सागर मिश्रले आफुले जारको पानी प्रतिजार २५ रुपैयाँमा खरिद गरिरहेको पत्रकार सम्मेलनमा नै बताए । यद्यपि उनले ढुवानीको हिसावले नजिक रहेका कारण आफुले पानी सस्तोमा खरिद गरिरहेको बताए । त्यस्तै उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले पनि आफुले जारको पानी ४० रुपैयाँमा नै खरिद गरिरहेको स्वीकार त गरे । तर, पानीको मूल्य जवर्सस्ती बढाउने कार्यदलमा स्वयमं प्रेमलाल महर्जन समेत सहभागी छन्।

विभागका हाकिम भन्छन्– ‘हामी खुसी छौं’
विभागले व्यवहारमा कार्यान्वयन रहेको जारको पानीको मूल्य प्रतिजार ४० रुपैयाँबाट बढाएर ५० रुपैयाँ पुर्‍याउँदा पनि विभागले मूल्य घटाएकै दावी गरिरहेको छ । २०७३ सालमा जारको पानीको मूल्य प्रतिजार ६० रुपैयाँ कायम गरिएको रिफ्रेन्स विभागले लिएको छ । तर, त्यसपछि हालसम्म जारको पानी भने ४० रुपैयाँ भन्दा कममै उपभोक्ताले पाइरहेका छन्।

तर, कुनै सन्दर्भ विना नै विभागले अध्ययनका नाममा महामारीका बीच उपभोक्ता मूल्य बढाउँदा पनि विभाग भने मूल्य घटाएको दावी गर्दै कार्यदलको कामप्रति खुसी रहेको दावी गर्छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले पछिल्लो पटक समायोजन गरिएको मूल्य कार्यान्वयनका लागि चुनौती रहेको बताउँदै कार्यदलको कामप्रति गर्व लागेको बताए । ‘नयाँ समायोजन मूल्य कार्यान्वयनका लागि आँट चाहिन्छ’ उनले भने, ‘सबैको सहमतिमा अहिले मूल्य समायोजन भएको छ । अध्ययनमा सहभागी सबै जना धन्यवादका पात्र हुनुहुन्छ ।’

प्रचण्ड निकट सुवेदीको ओलीलाई बदनाम गराउने षडयन्त्र
महानिर्देशकको रुपमा विभागको नेतृत्व गरिरहेका सुवेदी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् । प्रचण्ड निकट रहेकै कारण भरतपुर महानगरपालिका चितवनको प्रमुख कार्यकारी अधिकृत रहेका उनको सरुवा गतवर्ष कार्तिकमा विभागमा भएको हो । विभागमा आएपछि उनले मातहतका कर्मचारीहरुलाई बजार अनुगमन नगर्न निर्देशन दिए । प्रचण्डकै आडमा कोलकाताको महावाणिज्यदूतको सपना देखेका उनी ४ देखि ५ महिना विभागमा बसेर महावाणिज्यदूतको योग्यता पुरा गर्ने योजनामा थिए । सोही अनुसार उनले मातहतका कर्मचारीलाई बजार अनुगमन नगर्न निर्देशन दिएका थिए । ‘म कलकाताको महावाणिज्यदूतको क्याण्डिेट हुँ । मलाई विवादमा ल्याउनेगरी बजार अनुगमन नगर्नुहोला मित्रहरु’ उनलाई उदृत गर्दै विभाग स्रोतले त्यतिबेला भनेको थियो ।

उपभोक्ताका लागि मर्यादित बजार बनाउने अधिकार पाएको निकायका हाकिमले बजार अनुगमन रोक्नु निर्देशन दिनु अचम्म मात्रै थिएन ओली सरकारलाई असफल बनाउने षडयन्त्र अन्तरगत सुवेदीको पहिलो कदम पनि थियो । ओली सरकारले चैतमा सुवेदीको कलकाताको महावाणिज्यदूतको सपना लत्याउँदै ईश्वर पौडेललाई महावाणिज्यदूत नियुक्त गरेपछि उनको निरन्तरता विभागमा नै रह्यो ।

तर, विभागमा उनको नेतृत्वमा भने एकपछि अर्को कामले ओली सरकारको आलोचनामा थप मदत पुगेको छ । पछिल्लो समय नेटवर्किङ व्यवसायलाई बैधता दिएर ओली सरकारलाई विवादमा ल्याउने अर्को बखेडा सुवेदी नेतृत्वको विभागले झिकेको छ । त्यस्तै सोमबार पत्रकार सम्मेलन नै गरेर पानीको मूल्य बढेको सगौरव सुनाउन उपभोक्ताका लागि मार्काको विषय हो भने ओली सरकारका लागि थप आलोचनाको विषय हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ