arrow

राष्ट्रिय चेस प्रतियोगिताको तयारी पुरा

logo
प्रकाशित २०७३ जेठ ५ बुधबार
PRESS-MEET.jpg.jpeg
काठमाडौं । इलाममा बिहीबारदेखि हुन लागिरहेको राष्ट्रिय चेस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । शिवानी एअरलाईन्सको प्रमुख प्रायोजन तथा नेपाल निर्माण व्यवसायी महासंघ र गजुरमुखी निर्माण कम्पनीको सह प्रायोजनमा इलाम सदरमुकाममा शुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो । 
 
बिहीबारदेखि ६ दिनसम्म सञ्चालन हुने १९ औं राष्ट्रिय चेस प्रतियोगिता तथा चौथो महिला राष्ट्रिय चेस प्रतियोगितामा ५३ खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । उक्त च्याम्पियनसीपमा खुलातर्फ ३५ तथा महिलातर्फ १८ खेलाडीको सहभागीता रहने कार्यक्रम संयोजक एवं नेपाल बुद्धिचाल संघका बरिष्ठ उपाध्यक्ष विदुरप्रसाद गौतमले जानकारी गराए ।
 
यस प्रतियोगिताको विजेता १९ औं राष्ट्रिय चेस च्याम्पियन हुनेछन भने महिलातर्फका विजेता चौथो राष्ट्रिय विजेता घोषित हुनेछन् । साथै प्रतियोगितामा उत्कृष्ट पाँच स्थानमा रहने खेलाडीले आगामी सेप्टेम्बर १ देखि १४ तारिखसम्म अजरबैजानको बाकुमा हुने ४२ औं चेस ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
 
नेशनल ए को रुपमा पहिलोपटक सञ्चालन हुन लागेको प्रतियोगितामा सहभागीताका लागि गत बैशाख महिनामा ललितपुरमा नेशनल बि च्याम्पियनसीपको आयोजना भएको थियो । उक्त प्रतियोगिताबाट खुलातर्फ २० तथा महिलातर्फ १२ खेलाडी छनौट भएका हुन । त्यसैगरी ४१ औं चेस ओलम्पियाडका सहभागी, विभिन्न उमेर समुहका राष्ट्रिय विजेता तथा विभागीय टिमका १ एकएक जना खेलाडीले नेशनल एमा प्रतिष्पर्धा गर्नेछन् ।
 
फिडेको स्विस लिग अनुसार ९ चरणसम्म स्थानीय होटल समिटमा हुने प्रतियोगिताको औपचारिक उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले गर्नेछन् । बिहिबार झाँकी तथा र्‍यालीसहित बजार परिक्रमा गरेर गौतम बुद्ध सभागृहमा भव्य उद्घाटन हुने कार्यक्रमका स्थानीय व्यवस्थापक ईलाम जिल्ला बुद्धिचाल संघका अध्यक्ष याम लिम्बुले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ