arrow

सुनको मूल्यमा तेस्रो दिन पनि गिरावट, तोलाको १ लाख माथी नै

logo
प्रकाशित २०७७ साउन २७ मंगलबार
gold-pure2.jpeg

काठमाडौं। निरन्तर उकालो लागेको सुनको मूल्य लगातार ओरोलो लाग्न थालेको छ। एक लाख ३ हजार ५ सय रुपैयाँ प्रतितोला पुगेपछि सुनको मूल्यमा आइतबार निरन्तर गिरावट आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।

महासंघका अनुसार मंगलबार सुनको मूल्य १ लाख १ हजार ६ सय रुपैयाँ प्रतितोला कायम भएको छ। यअसघि सोमबार प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ र आइतबार १ लाख २ हजार ६ सय रुपैयाँ प्रतितोलामा सुन कारोबार भएको थियो। सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार सुनको मूल्य १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो।

किन घट्न थाल्यो ?
नेपाल सुन चाँदी व्यवसायी महासंघका निर्देशक राजेन्द्र तुलाधरले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएका कारण त्यसैको प्रभावस्वरुप नेपालमा पनि घटेको बताए। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार २० डलर रहेको छ। ‘आइतबार २ हजार ३५ डलर र सोमबार २ हजार ३० डलर प्रतिऔंस रहेको सुनको मूल्य मंगलबार २ हजार २० डलरमा पुगेको छ’ तुलाधरले भने, ‘अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि स्वाविक रुपमा घटिहाल्छ नि।’

पछिल्लो समय व्यवसायीले बैंकहरुबाट सुन किनेर स्टक राख्न थालेका छन्। सुनको मूल्य निरन्तर बढ्न थालेपछि व्यवसायीले बैंकहरुबाट सुन किनेर राख्न थालेका हुन्। नेपाल बैंकर्स एसोसिएसनका अनुसार पछिल्लो दुई हप्तामा ४५ किलो सुन बैंकहरुले विक्री गरेका छन्। बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले लकडाउन यता पछिल्लो दुई हप्तामा बैंकहरुले उक्त परिणामको सुन विक्री गरेको जानकारी दिए।

सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँ रहेको छ। त्यस्तै चाँदीको मूल्य मंगलबार प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ