कांग्रेसभित्र १४ औं महाधिवेशनको चटारो र रस्साकस्सी

डा राजकुमार राई प्रकाशित मिति : २०७७ श्रावण २८ बुधबार
डा राजकुमार राई

२०७२ साल फागुनमा भएको नेपाली कांग्रेसको १३ औं महाधिवेशनले दिएको म्यान्डेटले आफ्नो चार बर्षे कार्यकाल पूरा गरी एक वर्षको म्याद थप गरेको अवस्थामा चौधौं महाधिवेशनको मिति तय भइसकेको छ । यो चौधौं महाधिवेशनमा आफू कुन स्थानमा रहने भन्ने विषयमा वडाका साना नेता-कार्यकर्तादेखि केन्द्रका ठूला नेताहरूको चासो र जोड-घटाउ सुरु भइसकेको अवस्था छ । 

तेह्रौं महाधिवेशन पछि पार्टी चुस्त-दुरुस्त र सुदृढ हुनेछ भनेर धेरैले अपेक्षा गरेका थिए । तर के कति कारणले हो ? सोचेअनुसार नभएको धेरैका गुनासाहरू सुन्नमा आइरहन्छन् । पार्टीभित्र समस्याहरूका चाङ छन् ।  प्रत्येक ४/४ वर्षमा हुनु पर्ने महाधिवेशन समयमा हुन सकेको छैन । महाधिवेशन भएको दुई महिनाभित्र गठन हुनु पर्ने केन्द्रीय बिभागहरू ४ वर्ष पूरा गरेर पाचौं वर्षमा अर्थात अर्को महाधिवेशनको तिथिमिति तोकिइसकेपछि हाल धमाधम हुँदैछ । भातृ संस्थाहरूको ताल उस्तै छ । नेबिसंघ, तरूण दलजस्ता उर्जाशील संस्थाहरू तदर्थवादमा चलेका छन् । नेपाल महिला संघ केन्द्र र जिल्ला कार्यसमितिमा मात्र सिमित छ। त्यस्तै आदिवासी जनजाति संघ, किसान संघ, दलित संघ सहित अन्य भातृ संस्थाहरूको अधिवेशन नभएको वर्षौं भइसकेको छ। नेतृत्वले सबैलाई नसमेटेर आफ्नै गुटभित्रकालाई मात्र पक्षपोषण गर्ने गरेको आरोप लाग्दै आएको छ । पार्टीभित्र विचारको राजनीति लोप भइसकेको छ, खालि व्यक्तिवादी चरित्र हावी भइरहेको देखिन्छ ।      

माथि उल्लेखित समस्याहरूलाई चौधौं महाधिवेशनले सम्बोधन गर्ने अपेक्षा गर्न सकिन्छ । तर अहिले पार्टीभित्र भइरहेका क्रियाकलापहरूलाई हेर्दा तल्लोस्तरका नेता कार्यकर्ताहरू कांग्रेस बलियो हुनुपर्छ भन्ने चिन्ता गरिरहँदा माथिल्लो तहका नेताहरू आफू कसरी पार्टीभित्र हालीमुहाली गरिरहन सक्छु वा आफूले चाहेको पद कसरी प्राप्त गर्न सक्छु भन्ने ध्याउन्नमा ब्यस्त रहेको देखिन्छ । कांग्रेसभित्र विभिन्न गुट उपगुटहरू हुँदै गर्दा विशेष गरेर दुईटा धारहरू पार्टी सभापति शेर बहादुर देउवा सहितको संस्थापन धार र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको संस्थापनइतर धार हावी देखिन्छ ।  

अहिले सभापतिले बिभागहरू धमाधम भर्ने काम गरिरहनु भएको छ । जुन कुरा समय मै गरेको भए संगठन विस्तार र सुदृढीकरणमा ठूलो सघाउ हुने थियो । संस्थापन इतर पक्षधरहरू यसलाई ठूलो मुद्दा बनाएर विरोध गरेको देखिन्छ । उनीहरूको आरोप छ कि सभापतिले १४ औं महाधिवेशनमा आफू बलियो उम्मेदवार बन्नकालागि यो काम गर्दै हुनुहुन्छ । नेतृत्वलाई पार्टी विधि विधानअनुसार चलाउन लगाउनु स्वभाविक हो । तर यो संगसंगै उहाँहरूले पनि आफूहरू विच एकताको संदेश दिंदै सामुहिक प्रतिवद्दता सहितको आफ्नो कार्ययोजना दिन सके राम्रो हुने थियो। यसरी अधिकांस कार्यकर्ता तथा सुभेच्छुकहरू एकातिर पार्टी सभापतिको क्रियाकलापबाट चित्त बुझाउन नसकिरहेको अवस्थामा छ भने अर्कोतिर संस्थापनइतर पक्षधरहरू पनि एक मुख हुन नसकेकोप्रति चिन्तित र निराश भएको देखिन्छ ।    

नयाँ