arrow

बजारमा दुषित पानी छ्यापछ्याप्ति

अनुगमन गरेर कारवाही गर्नुको सट्टा मिलेमतोमा मूल्य बढाउन उद्यत वाणिज्य विभाग

logo
पीबी चन्द,
प्रकाशित २०७७ साउन २८ बुधबार
jar-water-nepal.jpg

काठमाडौं। सर्वसाधारणले पिउने जारको पानी पिउन अयोग्य रहेको पटक पटक भेटिएपनि सरकारले उत्पादकलाई कारवाही गर्नको सट्टा व्यवसायीसँगै मिलेर पानीको मूल्य बढाएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले गरेको परिक्षण अनुसार जार र बोतलको पानी पिउन अयोग्य भेटिएपनि नियामक वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने त्यस्तो पानी उत्पादन गर्ने व्यवसायीलाई कारवाही गर्नको सट्टा उनीहरुसँगै मिलेर मूल्य बढाउन उद्यत भएको हो। नाष्टका अनुसार काठमाडौं उपत्यकामा उपभोग हुँदै आएको जारको पानीमा अत्यधिक कोलीफर्म, अम्लीयपना, कडापना लगायत अत्यधिक फोहोर रहेको छ।

नाष्टको प्रतिवेदनले काठमाडौं उपत्यकाका उपभोक्ताले पिउने जारकै पानी अत्यधिक फोहोर रहेको देखाउँछ। जबकी उपभोक्ताले स्वच्छ पानी भएको विश्वास गर्दै जारको पानी पिउने गरेका छन्। तर, उपभोक्ता हितकै निम्ति खडा गरिएको सरकारी निकाय   वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको समन्वयनमा पानी परिक्षण गरी फोहोर पानी उत्पादन एवंम विक्री, वितरण गर्ने व्यवसायीलाई कारवाही गर्नुको सट्टा मिलेमतोमा  जारको पानी ५० रुपैयाँमा विक्री गर्ने बाटो खुला गरेको छ।

जारको पानी हाल २५ देखि ४० रुपैयाँमै पाइदै आएको छ। विभागले व्यवसायीसँगको मिलेमतोमा आगामी १० भदौदेखि लागु हुनेगरी पानीको मूल्य प्रतिजार ५० रुपैयाँ निर्धारण गरेको छ। यसले एकातिर उपभोक्ताले महंगो मूल्यतिर्नु र अर्कोतिर फोहोर पानी पिउनुपर्ने अवस्था यथावत नै छ।

के छ नाष्टको प्रतिवेदनमा ?
नाष्टले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पानीमा दिशामा पाइने जीवाणु (कोलीफर्म), धमिलोपना, अमिलोपना र पानीको कडापना मापदण्ड विपरित रहेको छ। पानीमा  धमिलोपना र कडापना हुनुको अर्थ त्यसमा अत्यधिक माटो लगायतका फोहोर वस्तु रहेको नाष्टका अधिकारीहरु बताउँछन्। नाष्टले जारको पानीको ३२ वटा नमुना संकलन गरेर आन्तरिक अध्ययनका लागि परिक्षण गरेको थियो। त्यसमा ११ वटा नमुनामा कोलीफर्म, धमिलोपना र अमिलोपना रहेको पाइएको नाष्टका बरिष्ठ वैज्ञानिक भोजराज पन्तले जानकारी दिए।

पानीको मापदण्ड अनुसार पानीमा कोलीफर्मको मात्रा प्रतिसय मिलिलिटरमा शुन्य हुनु पर्छ। तर, ५० कोलोनी प्रतिसय मिलिलिटर सम्म कोलीफर्म पाइएको नाष्टको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै जारको पानी धमिलो रहेको समेत परिक्षणका क्रममा पत्ता लागेको छ। राष्ट्रिय खानेपानी मापदण्ड २०६२ अनुसार पानीमा बढीमा ५ एनटीयूसम्मको धमिलोपना हुनु पर्ने भएपनि परिक्षणका क्रममा भने ६ दशमलव २५ एनटीयूसम्म धमिलोपना रहेको पाइएको हो।

त्यस्तै पानीमा अमिलोपना ९ दशमलव ३७ पिएच रहेको पाइएको छ। राष्ट्रिय खानेपानी मापदण्ड अनुसार पिएचको मात्रा बढीमा ८ दशमलव ५ हुनुपर्छ। कोलीफर्म,  धमिलोपना र अमिलोपनाका कारण उपभोक्ताको स्वास्थमा गम्भीर असर पर्ने वैज्ञानिक पन्त बताउँछन्। अमिलोपना, धमिलो पना र कोलीफर्मले स्वास्थमा असर पार्ने र म्युकस मेम्ब्रेन हुने, पाचन प्रणालीमा नै समस्या निम्तिने खतराको सम्भावना हुने पन्तको दावी छ।

कोलीफर्मले अन्य झाडापाखाला, आउँ, हैजा लगायतका रोगहरु सार्ने सम्भवना समेत उल्लेख्य रहने पन्त बताउँछन्। नाष्टले गरेको उक्त परिक्षणको नतिजा पछिल्लो समय बेलायतको ‘वाटर सस्टेनिविलिटी एण्ड डेभेलपमेन्ट’ जर्नलमा प्रकाशित गरिएको पन्तले बताए।

नाष्टका अनुसार बोतलको पानी समेत दुषित हुने गरेको पाइएको छ। फिल्टर गरिएको बोतलको पानीमा अमिलोपना १२ दशमलव ५ पिएच, धमिलोपना २० दशमवल १३ एनटीयु र कोलीफर्मको मात्रा ७० दशमलव ८३ कोलोनी प्रतिसय मिलिलिटर सम्म रहेको पाइएको हो। मापदण्ड अनुसार उक्त पानी पिउन अयोग्य रहेको देखिएको छ। नाष्टले फिल्टर पानीको २४ वटा नमुना संकलन गरेर परिक्षण गरेको जानकारी दिएको छ।

उपभोक्तामाथि गम्भीर खेलवाड
उपभोक्ता हित संरक्षणको लागि गठन गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फोहोर पानी उत्पादन एवं विक्री वितरण गर्ने व्यवसायीलाई कारवाही नगर्नु नै उपभोक्ताको स्वास्थमाथि गरेको गम्भीर खेलवाड भएको उपभोक्ता अधिकारकर्मी बताउँछन्। उल्टै व्यवसायीसँग मिलेर मूल्यमा समेत उपभोक्ताको ढाड सेक्न नियामक निकाय उद्यत देखिएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए।

‘फोहोर पानी छ्यापछ्याप्ति भेटिँदा पनि नियामक वाणिज्य विभागले परिक्षणतिर ध्यान दिनुको सट्टा मिलेमतोमा मूल्य बढाएको छ’ उनले भने, ‘पानीको गुणस्तर सुधार गर्नतर्फ त ध्यान दिन सकेको थिएन नै। उल्टै ४० रुपैयाँमा पाइने पानीको जार ५० रुपैयाँमा विक्री गर्ने बाटो खुला गरिदियो।’ विभागको उक्त कामले विभाग उपभोक्ता संरक्षण नभएर उल्टै उपभोक्ता पोस्ने विभागका रुपमा प्रदर्शित भएकोले मूल्यवृद्धि फिर्ता लिनुपर्ने तिमिल्सिनाको भनाई थियो। यता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारको पानीमा अनुगमन गरी बेला बेलामा परिक्षण हुने गरेको प्रतिक्रिया दिएको छ। जारको पानी उमालेर पिउने गरेमा कोलीफर्म लगायतका जीवाणुहरु मर्ने भएकाले उपभोक्ताले उमालेर पानी पिउनु पर्ने सुझाव नाष्टले प्रतिवेदनमार्फत दिएको छ।

अब अनुगमन गर्छौं : वाणिज्य विभाग
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फोहोर पानीको विषयमा र मूल्यको विषयमा अब गम्भीर भएर अनुगमन गर्ने प्रतिक्रिया दिएको छ। विभागका निर्देशक एवंम पानीको मूल्य समायोजन कार्यादलका संयोजक सागर मिश्रले पानीमा समायोजन गरिएको मूल्य कार्यान्वयनमा सन्दर्भमा र गुणस्तरका विषयमा विभागले गम्भीर भएर अनुगमन गर्ने प्रतिक्रिया दिए। ‘गुणस्तरका कुरा पनि उठेका छन्’ मिश्रले भने, ‘अब विभागले गम्भीर भएर अनुगमन गरी गुणस्तर नपुर्‍याउने व्यवसायीलाई पनि कारवाही गरिने छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ