arrow

संक्रमितको सम्पूर्ण खर्चसमेत बैंक तथा वित्तीय संस्थाले नै व्यहोर्न निर्देशन

logo
प्रकाशित २०७७ साउन २९ बिहिबार
nepal-rastra-bank.jpg.jpeg

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ संक्रमण भएका र उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्न निर्देशन दिएको छ । 

केन्द्रीय बैंकले बिहिबार विशेष परिपत्र जारी गर्दै कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएकाले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमकितामा राखेर बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिएको हो । 

बैंकले ‘कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई व्यवस्थितरुपमा घर, अस्पताल वा होटलमा सुरक्षित आइसोलेशनमा राख्न र संक्रमितको  सम्पर्कमा आएकाको ‘कन्टयाक ट्रेसिङ’ गर्न भनेको छ । संक्रमित कर्मचारीलाई  आवश्यकतानुसार घर वा होटलमा सुरक्षित तरिकाले राख्न र त्यसको सम्पूर्ण खर्चसमेत बैंक तथा वित्तीय संस्थाले नै व्यहोर्नुपर्ने निर्देशनमा उल्लेख छ । 

आइसोलेशन तथा क्वारेन्टिनमा रहेका संक्रमित कर्मचारीको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएपछि मात्र कार्यालय आउने व्यवस्था गर्न आग्रह गरिएको छ ।  केन्द्रीय बैंकले २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला र काठमाडौँ उपत्यकाभित्रका बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालो प्रणालीबाट कार्यसम्पादन गराउनसमेत निर्देशन जारी गरेको छ । यस्तै बाँकी कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउनुपर्ने, हाजिरी हुने व्यवस्था गर्नुपर्ने र पूरा तलब दिनुपर्ने निर्देशनमा उल्लेख छ । 

 बैंकले घरबाटै काम गर्ने कर्मचारीको हाजिरीमा अतिरिक्त बिदा र ‘वर्क फ्रम होम’ उल्लेख गरी हाजिरी गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको बिहिबार जारी विज्ञप्तिमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ