arrow

राज्य पुग्न नसकेको लिदी, पहिरोले कति मार्यो छैन अत्तोपत्तो, घाइते छट्पटिँदै

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
jugal-pahiro.jpg

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान साढे ६ बजेतिर गएको भीषण पहिरोले कति जनालाई मार्यो भन्ने अत्तोपत्तो छैन । अनुमान मात्र लगाइएको छ । 

फरक फरक सूचना आइरहेका छन् । यकिन भन्न सक्ने अवस्थै नरहेको प्रहरी समेत बताउँछ । सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेका अनुसार घटनास्थलमा सुरक्षाकर्मी पुग्न अझै एक घण्टासम्म लाग्न सक्नेछ । 

जलबिरे, जिल्ला प्रहरी कार्यालय र कात्तिकेबाट प्रहरी टोली घटनास्थलका लागि गइसकेको काफ्लेले बताए । उनका अनुसार कम्तिमा २३ घर पुरिएको भन्ने सूचना प्रहरीले पाएको छ । थुप्रै हताहती भन्ने उनले बुझेका छन् । 

यकिन तथ्यांक घटनास्थलमै पुगेपछि मात्र पत्ता लाग्नेछ । नेपाली सेना पनि जाने प्रयासमा रहेको छ । 

डिएसपी काफ्लेका अनुसार सभामुख अग्नि सापकोटा हेलिकोप्टरमार्फत घटनास्थलमा जाने कार्यक्रम रहेको छ । तर उनी कतिबेला जान्छन् अझै यकिन छैन । 

शुक्रबार बिहान गएको पहिरोले २१ घर पुरेको जुगल गाउँपालिका २ का वडाध्यक्ष प्रताप लामाले बताएका छन् । 

उनले सम्पूर्ण जानकारी पाउन सक्ने अवस्था नरहेको बताउँदै भने, ‘२१ घर पुरेको खवर छ । बेपत्ता हुनेमा एकै परिवारका ७ जना समेत छन् । अर्को घरका ४ जनासमेत पुरिएका छन् ।’

उनले ११० घर जोखिममा परेको बताए । सम्पर्कविहीनहरुको खोज र उद्धार हुन सकेको छैन । उनी पनि घटनास्थलमा छैनन् । तसर्थ हेलिकोप्टरबाट जाने प्रयास भइरहेको बताए । 

भौगोलिक विकटता र भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भएको छ । जो ठीकठाक छन् तिनीहरु सुरक्षित स्थलतर्फ भागिसकेका छन् । किनकि पहिरोले बाँकी रहेका घर पनि बगाउने स्थिति रहेको छ । 

वडाध्यक्ष लामाले हेलिकोप्टरबाट उद्धारको प्रयास भइरहेको बताए । उनले भने, ‘काठमाडौंबाट हेलिकोप्टर आउँदैछ । म पनि जान्छु ।’

उक्त वडाका कांग्रेस नेता निमा लामाले पाएको सूचना अनुसार कम्तीमा ३५ देखि ५० जनाको ज्यान गइसकेको हुनुपर्छ । 

उनले भने, ‘कम्तीमा ३५ देखि ५० जनाको ज्यान गएको हुनुपर्छ । १५–१६ जना घाइतेहरु छन् । तिनीहरुको उद्धार गर्न हेलि आउँदैछ । एक डेढ घण्टामा त्यहाँ पुगिएला ।’

स्थानीय नेता तथा नेविसंघका केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनाले भने, ‘यसपटक मेरो क्षेत्रलाई निकै नै तहसनहस पार्यो । त्यो ठाउँ निकै विकट ठाउँ हो । उद्धार सजिलै हुने देखिँदैन । स्तब्ध बनाएको छ ।’

लिदीकै तरुण दलका नेता दावा जाङबु शेर्पाले ३०–३२ घर पूर्ण रुपमा पुरिएको बताएका छन् । उनका अनुसार ३५–४० जनाको मानवीय क्षति भएको छ । 

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले ‘पहिरोले लामा गाउँ पुरिदा १३ घर पुरै क्षति भएको, १५ जना घाइते आफैं निस्किएको, उद्धार गर्न जान सक्ने अबस्था नरहेको, पुरिएका ५ घरका सबै सम्पर्कविहिन रहेको र कति जना पुरिए भन्ने अझै खुल्न बाँकि रहेको स्थानियले जानकारी दिएका छन् ।’ भनी फेसबुकमा लेखेका छन् । 

न्यौपानेको पछिल्लो अपडेटमा ‘३ घरका २१ जना पुरिएको, ३ गम्भीरसहित ५ घाइते, उद्धार जारी, विस्तृत विवरण आउन बाँकी’ लेखिएको छ । 



नयाँ