arrow

निगमका कर्मचारीमा संक्रमण, ३ दिनका लागि बन्द

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
oil-corporation.jpeg

काठमाडौं । भैरहवा विमानस्थल कार्यालयमा रहेको नेपाल आयल निगमको डिपोमा कार्यरत ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । निगमको उक्त डिपोमा कार्यरत ४ जनाले सञ्चो नभएको बताएपछि बुटवलको नेसनल प्याथल्याबमा परिक्षण गराउँदा ४ जनाकै कोरोना रिपोर्ट पोजिटिभ देखिएको हो । निगमको भैरहवा डिपो प्रमुख राजन नेपालले ४ जनाकै कोरोना रिपोर्ट पोजिटिभ देखिएपनि अवस्था सामान्य रहेको जानकारी दिए ।

४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि निगमले डिपोमा कार्यरत अन्य कर्मचारीको पनि कोरोना परिक्षण गर्ने भएको छ । डिपो प्रमुख नेपालका अनुसार हाल उक्त डिपोमा कुल ९ जना कर्मचारी कार्यरत रहेको छन् । ‘साथीहरुले तीन चार दिन देखि ज्वरो आएको, सञ्चो नभएको बताएपछि बुटवलको नेशनल प्याथल्याबमा परिक्षण गर्न पठाउँदा ४ जनाको रिपोर्ट पोजिटिभ आएको हो’ नेपालले भने, ‘उहाँहरुको आइसोलेसनमा हुनुहुन्छ । डिपोबाट हुने रिफिलिङको कार्य ३ दिनका लागि बन्द गरेका छौं ।’

नेपालका अनुसार उक्त डिपोबाट हुने रिफिलिङ कार्य हाललाई ३ दिनको लागि बन्द गरिएको छ । निगमको केन्द्रिय कार्यालयबाट ब्याक टोली पठाउने कुरा भइरहेकाले टोली पठाएपछि पनि कार्यालय स्यानिटाइज गरेर मात्रै खुला गराइने नेपालले बताए । कोरोना देखिएका कर्मचारीको परिवारका सदस्यको पनि कोरोना परिक्षण गरिने भएको छ ।

हाल भैरहवा विमास्थलमा हुने साधारण उडान बन्द भएपनि इमर्जेन्सी उडानहरु हुँदै आएका थिए । निगमको सो डिपोले इमर्जेन्सी उडानमा इन्धन भर्ने काम गर्दै आएपनि केही दिनलाई सो कार्य रोकिएको छ । डिपो प्रमुख नेपालले विमानस्थल कार्यालयलाई अहिलेको अवस्था जानकारी गराइएकाले केही दिनका लागि वैकल्पिक डिपोबाट इन्धन भर्न आग्रह गरिएको बताए ।

यता नेपाल आयल निगमको केन्द्रि कार्यालयले पनि केन्द्रबाट आवश्यक कर्मचारी पठाउने विषयमा छलफल भइरहेको बताएको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भैरहवा डिपोमा कार्यरत कर्मचारीमा कोरोना देखिएको बारे जानकार रहेको भन्दै त्यहाँ कर्मचारी पठाउने विषयमा छलफल भइरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ