arrow

दोस्रो सबैभन्दा बढी प्रसूति गराउने अस्पतालमा फैलियो कोरोना

प्रमुखसहित चिकित्सक स्वास्थ्यकर्मी संक्रमित

logo
प्रकाशित २०७७ साउन ३२ आइतबार
bharatpur-aspatal-news.jpeg

चितवन ।  कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको छ ।
 
अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी र स्त्री तथा प्रसूतिरोग विभाग प्रमुख डा सुनिलमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ । आकस्मिक कक्षका एक चिकित्सक र एक स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । सोही अस्पतालमा आवासीय चिकित्सकका रूपमा काम गरेर शनिबार मात्र काठमाडौँ फर्किएका एक चिकित्सकमा पनि कोरोना देखिएको छ । 
 
काठमाडौँको प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति गराउने अस्पताल भरतपुर अस्पताल हो । प्रसूति  विभागका प्रमुखलाई कोरोना संक्रमण देखिएपछि अन्य स्वास्थ्यकर्मी र बिरामीको कन्ट्याक्ट ट्रेसिङ गरिँदै छ । तीन दिनअघि गरिएको परीक्षणमा सोही अस्पतालको सघन उपचार कक्षमा कार्यरत एक चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । 

अस्पताल विकास समितिका अध्यक्ष अधिकारीले चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण देखिएको भए पनि अस्पतालको नियमित उपचारमा भने कुनै असर नहुने बताएका छन्। उनले भने, “यो सङ्कटको घडीमा जे–जति हामी चिकित्सक, स्वास्थ्यकर्मी स्वस्थ छौँ, उपचारकार्यमा निरन्तर खट्नेछौँ ।”

जिल्लामा रहेका दुई मेडिकल कलेज र निजी अस्पतालसँग समन्वय गरेर कोरोना संक्रमित र अन्यको उपचारमा भरतपुर अस्पतालले नेतृत्वदायी भूमिका निर्वाह गर्ने पनि उनले बताए । अस्पतालका संक्रमणमा परेका चिकित्सक र स्वास्थ्यकर्मीको अवस्था खतरामुक्त रहेको अधिकारीले जानकारी दिएका छन्। गएको सोमबार जिल्लाको अर्को सरकारी अस्पताल रत्ननगर वकुल्लहर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्ववन्धु बगाले र उनकी श्रीमती भरतपुर अस्पतालमा नै कार्यरत चिकित्सकमा पनि कोरोना संक्रमण देखिएपछि हाल घरकै आइसोलेसनमा बसिरहेका छन् ।
 
भरतपुर क्षेत्रमा रोगको संक्रमण निकै बढेपछि शुक्रबार राति १२ बजेदेखि एक साताका लागि महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पछिल्लोपटक शनिबार राति आएको नतिजामा २८ जनामा कोरोना पुष्टि भएकामा २७ चितवनका हुन् । तीमध्ये २१ भरतपुर महानगरपालिकाभित्रका छन् । जिल्लामा हालसम्म कोरोना संक्रमितको सङ्ख्या १९९ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ