arrow

हजार लिटरका ४.५ अर्ब वटा पानी ट्याङ्की बराबरको बुढीगण्डकी जलाशय आयोजना

बुढीगण्डकी जलाशय आयोजनालाई कति आउला बजेट?

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ जेठ ६ बिहिबार
Budhigandaki-hydro-3.jpg.jpeg
काठमाडौं। १२ सय मेगावाट क्षमताको विद्युत उत्पादनको लागि बन्न लागेको बुढीगण्डकी जलाशय युक्त परियोजना हो। अहिलेसम्म जलाशययुत्तः आयोजनाबाट ९२ मेगावाट क्षमताको विद्युत आयोजना मात्रै बनेकोमा यति ठूलो आयोजना जलाशययुक्त बनाउन लागिएको हो। अहिले वार्षिक सबै आयोजनाको क्षमता जोड्दा ३ सय ६० करोड युनिट विद्युत उत्पादन हुनेमा बुढी गण्डकी एक्लैले ३ सय ४० करोड युनिट विद्युत उत्पादन गर्नेछ। 
 
यसरी बन्ने परियोजनाको बाँध दुई सय ३६ मीटर उचाईको डबल आर्च कर्भेचरको बन्नेछ। समुन्द्र सतहदेखि ५ सय ४० मीटरको उचाईमा उच्चतम जलसतहको अवस्थिती रहने उक्त परियोजनाको लागि निर्माण हुने जलाशयमा ४.५ अर्ब घनमीटर अर्थात् हजार लिटरका ४.५ अर्ब वटा पानी ट्याङ्की बराबरको पानी संचित हुने बताईएको छ। त्यस्तैगरी, गोरखाका १४ तथा धादिङका १३ गाविसका केही भाग डुवान क्षेत्रमा पर्ने बताईएको उक्त परियोजनाको जलाशयको क्षेत्रफल नै ६३ वर्ग किलो मीटरको हुनेछ।
 
यो जलाशय १५ वटा फेवाताल जत्रो हुने बताइएको छ। दुई खर्ब ५० अर्ब लागतको अनुमान गरिएको उक्त परियोजना आसपासमा कृषि पर्यटन तथा बहुद्देश्यीय जलस्रोत विकास परियोजनाको रूपमा अगाडि बढाउन समेत सकिने जनाईएको छ। 
 
कति आउला बजेट?
सबैको प्रतीक्षाको विषय बनेको बुढीगण्डकी जलविद्युत आयोजनाको लागि सरकारले कति बजेट छुट्टाउला भन्ने विषय सबैको चासोको विषय बनिरहेको छ। त्यो भन्दा चासोको विषय त सरकारले कहिले सक्ला यसको काम भन्ने विषय पनि महत्वपूर्ण रहेको छ। तर, बजेटमात्रै छुट्टाउने र काम भने प्रभावकारीनगर्ने पुरानो प्रवृत्ति सुधार्नु भने आवश्यक छ। तर यस विषयमा व्यवस्थापिका संसद्का केही सांसद्हरूले पनि गम्भीर रूपमा यसको निर्माणको पक्षमा लविङ गर्दै हिँडेकोले पनि यसको निर्माणमा सरकारलाई थप दबाब बढेको छ। 
 
कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले यसको निर्माणको लागि योजनाबद्ध ढङ्गले जान लागिएको भन्दै सरकारले यसको लागि बजेट छुट्टाउन भने कञ्जुस्याईं नगर्न आग्रह गरेका छन्। तर, अर्थमन्त्रालयका एक अधिकारीले भने अन्य परियोजनालाई प्राथमिकतामा राख्ने नाममा बुढी गण्डकी ओझेलमा पार्न लागिएको भन्दै चिन्ता व्यक्त गरे। जे होस् सरकारको बजेट आउन पनि अझै केही दिन बाँकी नै रहेकोले बुढीगण्डकी आयोजनाको प्रवद्र्धनको लागि सरकारले पनि उदारता देखाउनेमा आशा मार्न भने सकिँदैन।
 
केही वर्षदेखि आम मानिसमा रहेको एउटा आशाको केन्द्र बुढी गण्डकी रहेको छ। पछिल्लो पटक १२ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना बुढीगण्डकीलाई नेपालमा लोडसेडिङ अन्त्यको एकमात्रै आधार हो भन्ने सोचाई आम मानिसमा रहेको छ।
 
नेपालमा आजको दिनमा दैनिक झण्डै १३०० मेगावाट विद्युतको माग छ भने बर्खा याममा मात्रै बढीमा हामीले ७ सय १८ मेगावाट विजुली उत्पादन गरिरहेका हुन्छौं। बाँकीमा लोडसेडिङ रहेको बाहेक हामीले आवश्यक विजुली बर्खायाममा २०० र सुख्खायाममा २५० मेगावाट छिमेकी मुलुक भारतबाट खरिद गरी राष्ट्रिय प्रसारणमार्फत् वितरण गर्दै आएका छौं। 
 
अहिले नेपालमा कूल एकसय ३ वटा आयोजनाहरूले नेपाल विद्युत प्राधिकरणबाट अनुमति लिएर काम गरिरहेका छन्। यसरी अनुमति लिएका कूल आयोजनाले उत्पादन गर्ने विद्युत भनेको जम्मा २३ सय ८१ मेगावाट मात्रै हुन्छ। तर बुढीगण्डकीलाई निर्माण गर्ने हो भने नेपालमा अहिले माग रहेको कूल १३ सय मेगावाट विद्युतको हिस्सा बुढी गण्डी एक्लैले उत्पादन गर्ने भएकोले पनि आम मानिसमा बुढी गण्डकीप्रति बढी आशा जागेको हो। 
 
माथि उल्लेख गरिएका एक सय ३ परियोजना भनेको निर्माण पनि सुरू नभएका परियोजना नै बढी रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। अहिलेसम्म सम्पूर्ण प्रक्रिया पूरा गरेर निर्माणको चरणमा रहेका आयोजना संख्या भने मात्रै ४२ वटा रहेको पनि प्राधिकरणको तथ्याङ्कले देखाएको छ। अहिले निर्माणाधिन रहेका कूल ४२ परियोजनाबाट पनि मात्रै १४ सय ६३ मेगावाट विद्युत उत्पादन हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ