arrow

नेपाली भाषालाई राष्ट्रिय भाषा बनाउन पाएपछि गर्व गर्दै यसो भन्छन् सिक्किमका मुख्यमन्त्री गोले

logo
प्रकाशित २०७७ भदौ ४ बिहिबार
ps-gole-chief-minister-sikk.jpg

काठमाडौं । भारतको सिक्किम सरकारका मुख्यमन्त्री पीएस गोलेले राष्ट्रिय भाषाले मानव समुदायको राजनीतिक अस्तित्व प्रमाणित गर्ने बताएका छन् । 

उनले भनेका छन्, ‘कुनैपनि नागरिकको राष्ट्र निर्माणप्रति प्रारम्भिक सिढी राष्ट्रियता हो भने कुनै पनि भाषाले राष्ट्रियतालाई सबल बनाउने कार्य गरेको हुन्छ ।’

उनले अगाडि भने, ‘मातृभाषा विश्वका सबै समाजको जीवन हो । राष्ट्रियताको महत्व राष्ट्रभन्दा पनि ठूलो छ । यसले मानिसको राजनैतिक अस्तित्व प्रमाणित गर्दछ अनि मातृभाषाले टेवा पुर्याएको समाजले राष्ट्रियतालाई गौरवशाली बनाएको हुन्छ ।’

उनले मातृभाषालाई मुटु भन्दै अगाडि भन्छन्, ‘मातृभाषा मानवजीवनको मुटुको स्पन्दन हो । भाषाले राष्ट्रको मौलिक विशेषतालाई कलात्मक ढंगले प्रस्तुत गरिरहेको हुन्छ । नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त भएको भारतको राष्ट्रिय मान्यता प्राप्त भाषा हो ।’

मुख्यमन्त्री गोलेले नेपाली भाषालाई संविधानमा राख्न सफल भएकोबारे भने, ‘नेपाली भाषालाई भारतको संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्त गराउन सिक्किमका त्यसताकाका मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारी, तत्कालिन सांसद श्रीमती दिलकुमारी भण्डारी अनि भारतभरीका नेपालीभाषी बौद्धिक तथा जनमानसले गरेको योगदानलाई आज हामीले स्मरण गर्ने मात्र होइन उहाँहरूको सोचलाई जनहीतमा हामीले अंगीकार गरेको हुनुपर्छ ।’

उनले कोभिड–१९ को कारणले सरकारले यसपटकको भाषा मान्यता दिवस भव्य रूपमा मनाउन नसके पनि सरकारलाई यसको महत्व अवगत भएको जानकारी गराउन चाहेको बताए । 

मुख्यमन्त्री गोलेले भने, ‘भाषा मान्यता दिवसको अवसरमा भाषा मान्यताको पक्षमा संसदीय कार्यको निम्ति हस्ताक्षर गर्ने तमाम तत्कालिन सांसदहरू, प्रमुख योद्धा स्वर्गीय नरबहादुर भण्डारी अनि तत्कालिन सांसद श्रीमती दिलकुमारी भण्डारी, भारतभरिका सबै भाषा संग्रामी अनि दृश्य अदृश्य सबै महानुभवहरूमा म भाषा मान्यता दिवसको हार्दिक शुभकामना जनाउँदछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ