arrow

बजेटको आकार भन्दा पनि खर्च गर्ने क्षमता बढाउनु पर्नेमा अर्थविद्धहरुको जोड

logo
प्रकाशित २०७३ जेठ ७ शुक्रबार
budget-bag.jpg.jpeg
काठमाडौ। अर्थविद्धहरुले बजेटको आधार बढाउनु भन्दा पनि खर्च गर्न सक्ने सरकारी क्षमता बढाउने हिसावले आगामि बजेट ल्याउनु पर्नेमा जोड दिएका छन । 
 
साक्षात्कारमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले सबैलाई खुसी बनाउनेगरी बजेटको आकार बढाउनु भन्दा पनि पुजिगत खर्च बढाउने मद्दत गर्ने खाल्को बजेट ल्याउनु पर्ने बताए । 
 
साक्षात्कारमा उनले भने,‘ सबै क्षेत्रमा बजेट बढाउने र टुक्रे योजनामा पैसा बाड्ने हो भने अर्थ तन्त्र धारासायी हुन्छ। औषत भन्दा बढी मुल्य बृद्धि हुन सक्छ । त्यसैले अन्तर्राष्ट्रिय विमानस्थल, फास्टट्रयाक, ठूला सिचाई आयोजनालाई प्राथमिकता दिएर पुजिगत खर्च बढाउनु पर्छ ।’
 
डा. शर्माले बजेटले संविधान कार्यान्वयन र पुनःर्निमाणलाई केन्द्रमा राख्नु पर्ने सुझाव दिदै आर्थिक बृद्धिदर बढाउनकोलागि लगानीको बातावरण बनाएर निजी क्षेत्रको लगानी आर्कषित गर्नु पर्नेमा जोड दिए । 
उनले प्रधानमन्त्रीले पछिल्ला समयमा सार्वजनिक रुपमा भन्ने गरेको रेललाईन विस्तार, पानी जहाज सञ्चालन, पेट्रोलियम पदार्थको उत्खनन आजको भोली हुने विषय नभएको भन्दै त्यसकोलागि कम्तिमा २० वर्षको योजना बनाउनु पर्ने सुझाव दिए । डा. शर्माले भने,‘ यदि ति कुराहरु सम्भव छन भने गर्दा राम्रो हो । चार–पाँच वर्षमा सक्ने गरी बजेट ब्यवस्था गर्नु पर्छ ।’
 
पूर्व अर्थसचिव रामेश्वर खनालले आगामि बजेटले भुकम्पपछिको पुनःर्निमाण र नाकाबन्दीले थिल्थिलिएको अर्थतन्त्रलाई उकास्ने गरी  कार्यक्रम ल्याउनु पर्ने भन्दै बजेटको आधार ठूलो हुँदा अर्थतन्त्रमा सकारात्म भन्दा धेरै नकारात्मक असर पर्ने भएकोले त्यसमा ध्यान दिनु पर्ने सुझाव दिए । 
 
उनले भने,‘ बजेट वितरणमुखी खाले बनाउनु हुँदैन । यसले अर्थतन्त्रलाई राम्रो गर्दैन । पुजि निर्माण गर्ने योजनाहरुमा ध्यान दिनु पर्छ । चालु खर्च बढाउँदा यसले मुल्यबृद्धि भई आर्थिक बृद्धिदरमा ह्रास ल्याउँछ ।’
खनालले अहिलेसम्म मुलुकसँग खर्च गर्न सक्ने सार्मथ्य नभएकोले यस्तो अवस्थामा पपुलिष्ट बजेट ल्याउनु भन्दा पनि खर्च गर्न सक्ने क्षमता बढाउने तर्फ ध्यान दिनु पर्ने धारणा राखे । 
 
उनले ब्यापार र पारवहनलाई विविधीकरण गर्ने गरी बजेटमा ब्यवस्था गर्नु पर्ने आवश्यकता औल्याउँदै आर्थिक कोरिडोर निर्माणकोलागि बजेटमा उचित ब्यवस्था गर्नु पर्नेमा जोड दिए । 
 
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. चन्द्रमणि अधिकारीले बजेटले योजनाको संख्यामा भन्दा पनि योजनाको गुणस्तरीयतामा ध्यान दिनु पर्ने धारणा राख्दै उर्जा, कृषि र रोजगारी सृजनामा विशेष ब्यवस्था गर्नु पर्ने बताए । 
उनले भने,‘ शिर्ष नेतृत्वबाट नयाँ सोच र कल्पना आउनु पर्छ तर ति कुराहरु योजनामा प्रतिबिम्बित हुन्छ कि हुँदैन भन्ने कुरा महत्वपूर्ण हुन्छ । तर अहिलेको बजेटमा त्यस्ता कुरा समेटिने संकेत देखिएको छैन ।’
अधिकारीले बजेटको आकार बढाउँदा कार्यान्वयनमा समस्या पर्ने आशंका ब्यक्त गर्दै प्राथमिकता निर्धारण गरेर कार्यान्वयन हुन सक्ने योजनालाई मात्र अगाडि बढाउनु पर्ने सुझाव दिए । 
 
उनले भने,‘ बजेटको आधार बढाउँदा यसका चुनौति, प्राथमिकता र  कार्यान्वयनको क्षमतामा ध्यान दिनु पर्छ । साधन र स्रोत पुर्याउन सकिन्छ कि सकिदैन, कार्यान्वयन गर्न सक्ने भौतिक ब्यवस्थापकिय र प्राविधिक लगायतका क्षमता छ कि छैन त्यसतर्फ पनि ध्यान दिनु पर्छ ।’
 
अधिकारीले अबको बजेट कार्यान्वयन गर्ने रणनीतिसहितको आउनु पर्नेमा जोड दिदै त्यसकोलागि कानून संसोधन गर्ने, बन्द हडताल रोक्ने, बजेटलाई उत्तरदायी बनाउन नयाँ ऐन ल्याउने विषयमा ध्यान दिनु पर्ने बताए । 
उनले चलिरहेका योजना हरुलाई अगाडि बढाउन उचित बजेटको ब्यवस्था गर्नु पर्ने भन्दै सुन्दा मात्रै नभई कार्यान्वयनमा समेत पपुलिष्ट हुने खाल्को बजेट ल्याउनु पर्ने बताए । 
 
प्राडा मदन दाहालले सरकारी असक्षमता र भ्रष्टाचारको कारणले अर्थतन्त्र धारासायी बन्न पुगेको दावी गर्दै  बजेट ब्यापार घाटा घटाउने, आर्थिक बृद्धि गर्ने, मुल्य बृद्धि घटाउने र लगानीको बातावरण बनाउने तर्फ उन्मुख हुनु पर्ने सुझाव दिए । 
 
उनले बजेटले जीवन निर्वाह र रक्षा, पुनःनिर्माण र पुर्नबासलाई प्राथमिकतामा राखेर अर्थतन्त्रलाई आत्मनिर्भरता तर्फ उन्मुख गराउन पर्यटन, उर्जा, मेडिकल, कृषि लगायतका क्षेत्रमा लगानी बढाउनु पर्ने बताए । 
 
उनले त्रिवर्षीय योजनाले राखेको ७.१ प्रतिसतको आर्थिक बृद्धिदर सम्भव नभएकोले अधिकतम ५ प्रतिसतको हाराहारीमा प्राप्त गर्ने गरी गतिविधी अगाडि बढाउनु पर्ने आवश्यकता औल्याउँदै पुजिगत खर्चमा विनियोजित बजेटको १५ देखि २५ प्रतिसत मात्रै खर्च हुँदा आर्थिक बृद्धिमा नकारात्मक असर परेकोले खर्च गर्न सक्ने क्षमता बढाउनु पर्नेमा जोड दिए । 
 
दाहालले कृषिमा लगानी बढाउनु पर्ने, मल कारखाना निर्माणकोलागि पीपीपी मोडलमा प्रक्रिया अगाडि बढाउनुु पर्ने, निर्यातमुखि उद्योगलाई प्रर्वद्धन गरि आयात प्रतिष्थापन गर्ने बातावरण निर्माण गर्नु पर्ने, लगानी आर्कषितगराउनु पर्ने र उर्जा उत्पादन बढाउने गरी बजेटलाई केन्द्रीत गर्नु पर्ने बताए । 
 
उनले करको दरमा बृद्धि नगरी लगानी आर्कषित गर्ने बातावरण निर्माण गर्नु पर्ने भन्दै घर घरमा सिप बढाउ, गरिबी घटाउ कार्यक्रम सञ्चालन गर्नु पर्ने आवश्यकता औल्याए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ