arrow

स्वेच्छाले होटल क्वारेन्टाइनमा बस्नेका लागि मूल्य सार्वजनिक, पाँच तारे होटलमा नौ हजार

logo
अशोक घिमिरे,
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
hotel.jpg

काठमाडौँ । सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टाइनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र मूल्य सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका होटलमा तीन हजार ५०० शय्या क्षमता रहेको छ ।
 
जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यही भदौ २ गते कोभिड–१९ विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७ बमोजिम विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने र स्वेच्छाले होटल क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई राख्न होटल सूचीकृत गर्ने निर्णय गरेको थियो ।
 
सोही निर्णयका आधारमा पर्यटन विभागले बिहीबार क्वारेन्टाइन प्रयोजनार्थ होटलको विवरण र मूल्य जिल्ला प्रशासन कार्यालय काठामाडौँलाई उपलब्ध गराएको थियो । तारे होटलदेखि सामान्य पर्यटकस्तरका होटलको सूची र मूल्य सार्वजनिक गरिएको जिप्रका काठमाडौँका प्रशासकीय अधिकृत रमा घिमिरेले जानकारी दिए ।
 
पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नसक्ने क्षमता भएका होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सूचीकृत गरिएको जानकारी दिए । “अहिले हामीले तीन हजार ५०० शय्या भएको होटललाई तयारी अवस्थामा राखेका छौँ, चरणबद्ध रूपमा यो थपिन सक्छ”, उनले भने, “स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्न सम्भव भएका होटललाई सूचीकृत गरेको हौँ, सबै होटलमा त्यो सुविधा नहुन सक्छ ।”
 
सकभर आइसोलेटेड क्षेत्रमा भएका, कम्पाउण्ड भएका, बाहिरी व्यक्तिसँग घुलमिल हुन नसक्ने, सामाजिक दूरी कायम गर्न सक्ने होटललाई सूचीकृत गरिएको उनले जानकारी दिए । होटल व्यवसायी महासङ्घ, होटल एसोसियसन तथा व्यवसायीसँग छलफल गरेर क्वारेन्टाइन होटलको सूची सार्वजनिक गरिएको उनको भनाइ छ । पर्यटकीय क्षेत्र ठमेल, ताहाचल, गौशाला, बत्तिसपुतली, दरबारमार्ग, सानो गौचरन, नक्साल, भक्तपुर, लाजिम्पाट, गोदावरी, कमलादी, स्वयम्भू, झम्सीखेल, बूढानीलकण्ठ, लैनचौर कमलपोखरी र बागबजार क्षेत्रमा होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिने छ ।
 
विभागले क्वारेन्टाइनमा प्रयोग गरिने पर्यटकस्तरका होटलको मूल्य र खानाको मेनु पनि सार्वजनिक गरेको छ । पाँच तारे होटलमा एकल रु नौ हजार र दुई जना साझेदारीमा बस्नेका लागि प्रतिव्यक्ति रु छ हजार तोकिएको छ । यस्तै चारतारे होटलमा एकल रु आठ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति रु पाँच हजार ५००, तीनतारे तथा डिलक्स रिसोर्टमा एक जनाको रु छ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति रु पाँच हजार, दुई तारेमा एकल रु पाँच हजार र दुई जना भएमा प्रतिव्यक्ति रु तीन हजार ५००, एकतारेमा एकल रु चार हजार र दुई जना भएमा प्रतिव्यक्ति रु दुई हजार ५०० तथा पर्यटकस्तरको होटलमा एकल रु दुई हजार ८०० र दुई जना भएमा प्रतिव्यक्ति रु एक हजार ८०० शुल्क तोकिएको छ ।
 
पर्यटकस्तरको होटलका लागि दिनको चार पटक दिइने खानाको मेनु पनि तोकिएको छ । पर्यटकस्तरको होटलले क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई बिहानको नास्ता, खाना, खाजा र बेलुकाको खाना खुवाउनुपर्नेछ । तारे होटलले खुवाउने खाना आफ्नै ढङ्गको हुनेछ ।
 
सरकारले चार्टर्ड उडानमार्फत कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकको उद्धार गर्ने निर्णय गरिसकेको छ । त्यसरी विदेशबाट उद्धार गरिएको व्यक्ति कम्तीमा पनि एक साता होटल क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । कोभिड–१९ महामारीका बीचमा यही भदौ ३ गतेसम्म ५९ देशबाट करिब ५२ हजार नेपाली स्वदेश फर्किका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ