arrow

कोभिड १९ को अनुगमन गर्न उपसमिति

logo
प्रकाशित २०७७ भदौ ९ मंगलबार
corona-doctors.jpg

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागि  गरेका प्रयासको अनुगमन तथा निरीक्षण गर्नका लागि उपसमिति गठन गरेको छ । 

 समितिको मंगलबार कोभिड १९ को विषयमा भएको  भर्चुअल छलफलमा समितिका सदस्य जीवनराम श्रेष्ठ,  अञ्जना विशंखे, तिलकबहादुर महत क्षेत्री, सन्तकुमार थारु,  एकवाल मियाँ,  सरिता न्यौपाने र  नमिताकुमारी चौधरी रहेको सात सदस्यीय उपसमिति गठन गरिएको समितिका सभापति जयपुरी घर्तीले जानकारी दिइन् । 

संक्रमणको कारणले जोखिमयुक्त जिल्लामा कन्टयाक ट्रेसिगलाई प्रभावकारी बनाउने, पिसीआर परीक्षण गर्ने र त्यसको रिपोर्ट तोकिएको समयमा यथाशीघ्र सम्बन्धित व्यक्तिलाई जानकारी दिन पनि सरकारलाई निर्देशन दिएको छ । छलफलमा संक्रमितलाई व्यवस्थित आइसोलेसनमामा अक्सिजनसहितको व्यवस्था गर्नुपर्ने र संक्रमितलाई स्वास्थ्यवर्धक र सन्तुलित आहारको प्रबन्ध मिलाउनसमेत निर्देशन दिएको छ । 

छलफलमा कोभिड १९ को उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तह बीचमा सक्रिय समन्वय र सहकार्य गर्न समेत निर्देशन दिइएको छ । छलफलमा काठमाडौं  उपत्यकामा समयमा नै  उपचार, रोकथाम र नियन्त्रणको लागि व्यवस्थित र सशक्त कदम चाल्न नसकेमा स्थिति निकै भयावह हुने देखिएकोले स्थानीय तहसँगको छलफल गरी चाँडो  नियन्त्रण गर्न  र संक्रमितलाई तत्काल आइसोलेसन सेन्टरमा राख्ने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ । 

कोभिड १९ वाहेकका बिरामी र गर्भवतीलाई हालसम्म पनि अस्पतालमा  सहज उपचारको व्यवस्था हुन नसक्दा मृत्युवरण गर्नुपर्ने वाध्यात्मक अवस्था रहेको हुदाँ यथाशिघ्र सहज उपचारको व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ । समितिले कोभिड १९ बाहेकका िबरामीको उपचार व्यवस्था ठीक हिसाबले भएको छ छैन जाँच गर्न निर्देशन र अनुगमनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । 

यस्तै निषेधाज्ञाको अवस्थामा सर्वधारणलाई दैनिक उपभोग्य सामग्री (तरकारी, खाद्यान्न) खरिद गर्न टोलटोलमा साना पसलहरु खोल्ने व्यवस्था गर्नुपर्ने, कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि खोपको अनुसन्धान भइरहेको र अन्तिम परीक्षणमा पुगेकाले नेपालमा पनि यसको परीक्षणलाई शीघ्र परिणाम आउने गरी खोप प्रयोगको लागि योजना निर्माण गरी तिव्र तयारीमा लाग्न समेत निर्देशन दिइएको सभापतिले जानकारी दिए । 

छलफलमा कोभिड १९ र कोभिड १९ बाहेकका बिरामी अस्पताल जान आउन एम्बुलेन्सको उचित व्यवस्था नहुँदा ठूलो कठिनाइ भोग्नु परिरहेको हुँदा तत्काल आवश्यक व्यवस्था गर्नुपर्ने, विदेशबाट आएका नेपाली कामदारलाई क्वारेन्टिन, खाना बस्नेको व्यवस्था सरकारले गर्नुपर्ने र खाडी राष्ट्रमा राहदानीको अवधि समाप्त भई अलपत्र परिरहेका, टिकट किन्न नसक्नेलाई सरकारले टिकटको व्यवस्था गरी समयमा नै नेपाल फर्काउने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ । 

समितिले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागिा अग्रपंक्तिमा  बसी काम गरी रहेका स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र उनीहरुको खाना र बसोबासको उचित व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ । 

यस्तै ६० वर्ष माथिका समुहमा संक्रमणको अनुपात बढ्दै गइरहेकोले ती समूहहरुलाई बचाउन समुदायलाई सचेत र जानकारी गराउनुका साथै ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरु लागू गर्न र संक्रमण रोकथामका उपायबारेमा सबै स्वास्थ्यकर्मीलाई तालिम दिनसमेत समितिले आग्रह गरेको छ । 

छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ डा रोशन पोखरलले संक्रमित बढी देखिएका ठाउँमा केन्द्रबाट चिकित्सकको टोली खटाइएको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ