arrow

काठमाडौंका १० सांसदले भने,‘सरकारले कुरा सुनेन’  

कांग्रेस सांसदहरुको झै नेकपाका सांसदहरुको पनि गुनासो उस्तै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १० बुधबार
valley-mp.jpg

काठमाडौं। काठमाडौंबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने निर्वाचित सांसदहरुले कोरोना संक्रमणका विषयमा सरकारलाई पटक पटक दिइएको सुझाव सरकारले नसुनेको बताएका छन् । 

बुधबार एकै ठाउँमा जम्मा भएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र प्रतिपक्षी दल नेपाली कांग्रेसका १० जना सांसदले कोरोना महामारी नियन्त्रणका लागि सरकारलाई पटक पटक सुझाव दिइए पनि सरकारले नसुनेको बताएका हुन् । 

कांग्रेस सांसद गगनकुमार थापाले सरकारले संक्रमणको गति तिव्र रुपमा बढ्दै जाँदा समेत न्युनिकरणका लागि ठोस योजना नबनाएको र विज्ञको सुझावलाई समेत अटेर गरेको बताए । ‘सरकारलाई पटक पटक सचेत गराएका छौं, अवस्था यो छ यस्तो हुँदैछ भनेर पटक पटक भन्यौं, तर सरकार सुन्दैन, नसुने जस्तो गर्छ,’ कांग्रेस सांसद थापाले भने । 

नेकपा सांसद शशि श्रेष्ठले कोरोना महामारी नियन्त्रणतर्फ केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार बीच जसरी संयोजन हुन नसकेको बताइन । ‘यो महामरीका बेला केन्द्र, प्रदेश र स्थानीय सरकार बीच जसरी संयोजनका साथ काम हुनु पर्ने हो त्यो भइरहेको छैन,  महामारीमा सरकारलाई जिम्मेवार बनाउन अब संयुक्त दलीय संयन्त्र बनाउँन दबाब दिनुपर्छ,’ श्रेष्ठले भनिन । 

कांग्रेस सांसद भीमसेनदास प्रधानले संक्रमितको संख्या बढ्दै गएको वर्तमान अवस्थामा निर्वाचन क्षेत्र विकास कोषको रकमबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड बनाइनु पर्ने बताए । ‘निर्वाचन क्षेत्र विकास कोषको रकमबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड बनाउनेतर्फ सरकारको ध्यान जाओस, सम्वन्धित क्षेत्रको सांसद त्यसको इनिसियसन लिन तयार रहौं,’ प्रधानले भने । 

नेकपा सांसद राजेन्द्रप्रसाद श्रेष्ठले महामारीको वर्तमान अवस्थामा केन्द्र सरकारका मन्त्री र प्रधानमन्त्रीले सांसदको कुरा नसुनेको बताए । ‘महामारीको वर्तमान समयमा केन्द्र सरकारका मन्त्री र प्रधानमन्त्रीले सांसदको कुरा सुनेनन र सुन्नेतर्फ ध्यान नै दिएनन्,’ सांसद श्रेष्ठले भने । 

कांग्रेस सांसद दिव्यमणीराज भण्डारीले सरकारले आफ्नै दलका नेता, जनप्रतिनिधि र आफ्नै दलबाट प्रतिनिधित्व गर्ने संसदीय समितिको सभापतिको समेत कुरा नसुनेको बताए । ‘सरकारले कोरोना महामारीका सन्दर्भमा आफ्नै दलका नेता, जनप्रतिनिधि र आफ्नै दलबाट प्रतिनिधित्व गर्ने संसदीय समितिको सभापतिको समेत कुरा नसुनेको सुनिन्छ, यो कस्तो सरकार हो ?,’ उनले भने । 

नेकपा सांसद जीवनराम श्रेष्ठले संक्रमितलाई राख्न होम आइसोलेसन उपयुक्त नभएको भन्दै सरकारले नै संस्थागत रुपमा आइसोलेसन बेड तयार गर्नुपर्ने बताए । उनले समयमा नै संक्रमित देखिएकाहरुको रिपोर्ट नआउँने अवस्थामा समेत सरकार जिम्मेवार बन्नुपर्ने र सोही कारण नै संक्रमितको संख्या झनै बढ्दो अवस्थामा गइरहेको बताए । 

कांग्रेस सांसद राजन केसीले सरकारले उपत्यकाका सांसदहरुको गुनासो तथा सुझाव नसुनेको भन्दै उपत्यकाका सांसदहरुको साझा फोरम बनाएर दबाब सृजना गर्नुपर्ने बताए । 

नेकपाकी सांसद रामकुमारी झाँक्रीले सरकारको मानसकिता नै नसुन्ने र सुनेपनि व्यवहारमा लागू नगर्नेतर्फ केन्द्रित रहेको बताइन । ‘अवस्था झनझन बिग्रदै छ, सरकार सुन्दैन, सुने पनि व्यवहारमा लागू गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको छैन, स्थानीय जनप्रतिनिधिदेखि प्रधानमन्त्री र मन्त्रीसम्म नै नसुन्ने प्रवृती देखियो,’ झाँक्रीले भनिन । 

कांग्रेस सांसद प्रधानको पहलमा भएको उपत्यकाका सांसदहरुको छलफलमा नेकपा सांसद कृष्ण राई, बिन्दा पाण्डे सहितले धारणा राखेका थिए । 

प्रधानले उपत्यकाका समस्याको समाधानका लागि सांसदहरुको साझा संयन्त्र शुशिल कोइराला प्रधानमन्त्री हुँदा समेत रहेको र सोही संयन्त्र ब्युताएर समस्या समाधान गर्नेतर्फ सबै सांसदहरु एकताबद्ध र एकिकृत भएर अघि बढ्ने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ