arrow

बुटवलको कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु

logo
प्रकाशित २०७७ भदौ ११ बिहिबार
butwal-corona-hospital.jpg

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पतालमा उपचार गराइरहेका दुई कोरोना संक्रमितको मृत्यु भएको छ । उक्त अस्पतालमा उपचाररत संक्रमितमध्ये कपिलवस्तुका एक पुरुषको मृत्यु भएको करीब १२ घण्टा बित्न नपाउँदै बिहिबार बिहान करीब १०:३० बजे एक महिलाको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका– २, जानकीनगरकी करीब ७० वर्षीया महिलाको कोरोना अस्पतालमा उपचारका क्रममा बिहिबार बिहान मृत्यु भएको हो । सो महिलामा थाइराइड र उच्च रक्तचाप समस्या रहेको उनले बिहिबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनलाई गत साउन २६ गते कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेशनमा राखिएको र स्वास्थ्यमा समस्या देखिँदै गएपछि साउन ३१ गते कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई कोरोना विशेष अस्पतालको पहिलो प्लाज्मा थेरापीका माध्यमबाट चिकित्सकले उपचार थालेका थिए । पहिलोपटक प्लाज्मा दिएर बुधबार बेलुकासम्म स्वास्थ्यावस्थामा राम्रो सुधार देखिएको तर गए रातिदेखि स्वास्थ्य अवस्था बिग्रँदै गएपछि बिहिबार बिहान पुन: अर्को प्लाज्मा दिने तयारी भइरहेको अवस्थामा मृत्यु भएको हो । 

उनलाई प्लाज्मा दिनका लागि केही समयअघि कोरोना संक्रमणबाट मुक्त भएका कपिलवस्तुका एक युवक बिहिबार बिहान बुटवल आइपुगेका थिए । रुपन्देहीमा यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।

यसअघि गए राति करीब ११ बजे कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका– १ का ५० वर्षीय पुरुषको उपचारका क्रममै सोही अस्पतालमा मृत्यु भएको थियो ।

उनको राति स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार थालिए पनि राति नै मृत्यु भएको बताइएको छ । संक्रमितलाई यही भदौ ५ गते संक्रमण पुष्टि भएपछि कोरोना अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । उनलाई पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह र मिर्गाैला रोगको समस्या रहेको अस्पतालका सूचना अधिकारी डा गौतमले बिहिबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ