काठमाडौं । दक्षिण एसियाली फुटबलमा खेल सुधार गरिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीले यही जेठ(मे)मा लाओससंग मैत्रिपूर्ण फुटबल खेल्ने भएको छ । मैत्रिपूर्ण फुटबलका लागि तयारी भइरहेपनि खेलको मिति तय नभएको अखिल नेपाल फुटबलसंघ एन्फाले जनाएको छ ।
एन्फा प्रवक्ता इन्द्रमान तुलाधरका अनुसार एन्फाको आन्तरिक छलफलमा ढिलाई भएपनि खेल तयारी र छनोटमा कुनै असर परेको छैन । उनले लाओससंग खेल्ने नेपाली टोली घोषणाको तयारी भइरहेको बताए । उनले भने, ‘आइतबार (आज) टोली घोषणा हुन्छ ।’ खेल जेठ १६ (मे २९) मा हुने भनिए पनि यकिन भएको छैन ।
विश्व फुटबलमा १७६औ स्थानमा रहेको लाओसले एएफसी एसियन कप अन्तर्गतको पहिलो लेगमा भारतको सामना गर्नु अघि नेपाल सँग खेल्ने बताइएको छ । लोओसले एसिया कपको प्ले–अफ अन्तर्गतको पहिलो लेगमा जुन २ मा भारतसंग खेल्दै छ ।
लाओस फुटबल सघंका सेक्रेट्रीले खेलबारे जानकारी दिएपनि एन्फाले यकिन नभएको बताएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले सो खेलको लागि तयारी गरिरहेको छ । विश्व बरियतामा नेपाल भन्दा चार स्थान माथि रहेको लाओस बलियो मानिन्छ । नेपाल फिफाको विश्व वरियतामा १८०औं स्थानमा छ ।