arrow

अर्थमन्त्रीमा फेरि ल्याइनु अघि खतिवडाको राष्ट्रिय सभामा मनोनयन हुने

खतिवडा दोहोरिने यस्ता छन् कारण

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १३ शनिबार
finance-minister-yubaraj.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा जोडिएका अर्थमन्त्री डा. युवराज खतिवडाको भदौ २१ गतेबाट म्याद सकिनै लाग्दा उनलाई निरन्तरता दिने वा अरु नेतालाई अर्थ मन्त्रालय दिएर पार्टी विवादलाई मत्थर पार्ने भन्ने बारेमा प्रधानमन्त्री केपी शर्मा ओली दोधारमा रहेका छन् ।

गत पुसमा राष्ट्रिय सभाका सदस्यमा डा. खतिवडालाई उम्मेदवार नबनाएपछि अर्थमन्त्रीमा उनको निरन्तरता हुने–नहुने विषयले बजार तरंगित भएपनि फागुन २१मा ओलीले उनलाई संविधान अनुसार ६ महिनाको लागि मन्त्री बन्न पाउने प्राबधानलाई टेकेर अर्थमन्त्रीमा निरन्तरता दिएका थिए ।

अहिले भने विवाद समाधान कार्यदलले समेत मन्त्रिपरिषद पुर्नगठनको प्रसंग उठाएर डा खतिवडाको पदलाई धरापमा पारेको छ भने ओलीलाई पनि दोधार बनाएको छ । खासगरी अर्थमन्त्रीबाट खतिवडा हट्दै छन् भन्ने हल्ला चलाएर सेयर बजारमा तीव्र चलखेल सुरु भएसँगै सत्तारुढ दलभित्र पनि उनको विषयमा चासो बढेको छ ।

यतिबेला राष्ट्रिय सभाका लागि राष्ट्रपतिबाट मनोनयन गर्न बाँकी एक सिट खाली नै रहेका कारण उनको निरन्तरताको संभावना भने कायमै रहेको छ ।  ‘राष्ट्रिय सभा सदस्यमा खतिवडा जुन प्रक्रियाबाट नियुक्त भएका हुन्, सोही प्रक्रियाबाट पुनः आउन सक्ने सम्भावना कायमै छ, प्रधानमन्त्री ओलीलाई मन लाग्यो भने उनै दोहोरिनसक्छन्’, नेकपाका एक स्थायी कमिटी सदस्यले भने ।

फागुन अघि डा.खतिवडा राष्ट्रपतिबाट मनोनीत भएर राष्ट्रिय सभा सदस्य बनेका थिए । राष्ट्रपतिबाट मनोनीत तीन जनामध्ये खतिवडाको कार्यकाल फागुनमा सकिएको थियो । उनी मनोनित भएनन् भने आउदो भदौ २० गतेसम्म मात्रै मन्त्रीका रुपमा रहने छन् ।

अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्रीमा आफूले पूर्ण कार्यकाल काम गर्ने संकेत भने खतिवडाले गरेका छन् । अर्थमन्त्री खतिवडाको कामसँग प्रधानमन्त्री केपी ओलीको प्रतिष्ठा पनि गाँसिएको कारण उनलाई मनोनयन गराएर अर्थमन्त्रीमा निरन्तरता दिन सकिने एक नेताको दावी छ।

नेकपामा राष्ट्रिय सभाबाट मनोनयन गर्नुपर्ने नेताहरुमा पार्टीभित्र योगदान गरेका युवराज ज्ञवाली, शिवकुमार गुरुङ, जगन्नाथ खतिवडा, युवराज कार्की लगायतका दर्जनौं रहे पनि ओलीले उनीहरुलाई वेवास्ता गर्दै खतिवडालाई मनोनयन गरेर अर्थमन्त्री बनाएका थिए । ओलीलाई अर्थमन्त्री खतिवडा असफल हुनु भनेको प्रधानमन्त्री आफैं असफल हुनु हो भन्ने लाग्यो भने उनी दोहोरिने संभावना प्रबल रहेको वालुवाटार निकट स्रोतको दावी छ ।

‘पार्टीभित्रबाट यसअघि खतिवडालाई अर्थमन्त्री बनाउनु हुँदैन भन्ने चरम दबाबबीच ओलीले खतिवडालाई नै अर्थमन्त्री बनाए, यसबीचमा खतिवडाले प्रधानमन्त्रीको विश्वास जित्दै नजिकको सहयोगीका रूपमा काम गरिरहेका छन्’, वालुवाटार स्रोतको दावी छ।

यतिबेला सरकारले गरेका काम–कारबाहीका विषयमा तथ्यांकसहित बलियो रूपमा बचाउ गर्ने काम अर्थमन्त्री खतिवडाले गर्दै आएका छन् । त्यस्तै, प्रधानमन्त्रीका तर्फबाट अन्तर्राष्ट्रिय दाताहरूसँग समेत उनैले समन्वय गर्ने गरेका छन् । विकास साझेदारसँग राष्ट्रको हितका विषयमा कडा र स्पष्ट अडान लिन सक्ने अर्थमन्त्रीको छवि उनले बनाएका छन् । ‘विकास साझेदारहरूले समेत खतिवडालाई नै निरन्तरता दिन प्रधानमन्त्रीलाई सुझाब दिँदै आएका छन्,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो ।

प्रधानमन्त्री अस्वस्थ हुँदा सरकारका काम–कारबाहीको मुख्य जिम्मा उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री खतिवडाले पाउने गरेका छन् । यसअघि राष्ट्रिय अनुसन्धान विभागसँग सम्बन्धित विशेष सेवा ऐनमा आफ्नातर्फबाट उत्तर दिन प्रधानमन्त्रीले खतिवडालाई नै राष्ट्रिय सभामा पठाएका थिए ।

विगत लामो समयदेखि प्रधानमन्त्रीको विश्वासपात्र अर्थमन्त्री नै हुन् । एक विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारलाई मन्त्रिपषिदको बैठक बोलाएका छन् । मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बस्ने भएपनि शनिबार बिहानै मन्त्रीहरुलाई आइतबारका लागि मन्त्रिपरिषद बोलाइएको जानकारी गराइएको छ। ‘सायद अर्थमन्त्रीको विषयमा छलफल हुने संभावना रहेको छ’, ती मन्त्रीले भने।

पार्टीभित्र सो मन्त्रालयमा अन्य नेतालाई लैजाने कि हालकै अर्थमन्त्रीलाई निरन्तरता दिने भन्ने विषयमा छलफल शुरु हुन पाएको छैन । पार्टी कमिटीका सबै बैठकहरु अवरुद्ध भइ अर्थमन्त्रालयको विषयमा छलफल हुन नसकेको बेला ओली एक्लैले सो निर्णय अघि बढाउन सक्ने संभावना रहेको छ । तर प्रधानमन्त्री ओली यो विषयमा नबोल्दासम्म केही कुरा प्रष्ट हुन नसकेको नेकपाका एक नेताले बताए ।

अर्थमन्त्रालयमा पार्टीका प्रभावशाली धेरै नेताहरुले आँखा गाडिरहेका बेला खतिवडाको निरन्तरता भएन भने सुरेन्द्र पाण्डेलाई मन्त्री बनाउने हल्ला पनि चलिरहेको छ। अर्थमन्त्रीमा पाण्डेको हल्ला यसअघि पनि चलेको हो। तर उनलाई प्रधानमन्त्रीले भनेको नमान्ने नेता र फरक गुटका भएका कारण मन्त्री बनाउनबाट बञ्चित गरिएको थियो । अहिले पार्टीको विवाद समाधान सुझाव कार्यदलमा माधव नेपाल समूहको चित्त बुझाउन उनलाई राखिएको स्रोतको दावी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ