arrow

आज दुईपटक उद्धेगबेला, यस्तो हुनेछ समग्रमा दिन

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ भदौ १४ आइतबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ भाद्र १४ गते आइतबार, इस्वीसंवत अगष्ट ३० तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको द्धादशी तिथि रहनेछ । आज उत्तरषाढा नक्षत्र, विष्कुम्भादि योगमा सौभाग्य, करणमा कौलव, आनन्दादि योगमा अमृत रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । 

आज दिनमान ३१ घटि ४७ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४२ मिनेटमा रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर २५ मिनेटमा हुनेछ । 

आजको राशिफल
मेषः
आज स्वास्थ्यको हिसावले खराव रहेको छ । घुँडा दुख्ने, शरीर दुख्ने, रुघाखोकीले पनि हैरान पार्ने अवस्था छन् । त्यसकारण उमालेको पानी पिउने, खाना तातो खाने, शरीरलाई चिसोबाट जोगाउनु पर्नेछ । आफूले गरेका काममा चित्त बुझ्नेछैन । शरीरको कुनै पनि अंग दुख्ने, चोटपटक लाग्ने सम्भावना छ, यात्रामा ज्यादै सतर्क रहनु आवश्यक छ ।

मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार पूजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरू समयमा नै सम्पन्न हुनेछन् । 

वृषः आज आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । प्रत्येक दिन गाईलाई रोटी र परेवालाई चारो दिनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

मिथुनः आज आशानै नगरेको ठाउँबाट धन लाभ हुनेछ । जमीन किन्नु छ भने आजै किन्नुहोला । उच्चस्तरीय घनिष्ट मित्रसंगको भेटले पेशागत क्षेत्रमा नयाँ लाभ, गरेका हरेक कार्यमा सबै प्रकारले चित्त बुझ्दो उन्नति प्रगति गर्न सक्नुहुनेछ । समग्रमा आजको समय राम्रो रहेकाले उपयोग गर्न सके लाभ मिल्नेछ । यात्रा भने सावधान भएर गर्नु अत्यन्तै राम्रो हुनेछ ।

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन, पूजा, आराधना, एवं हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । 

कर्कटः आज लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानसिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । यसअघि रोकिएका सबै काम आज पूरा हुनेछन्, समयको सही उपयोग अवश्य गर्नुहोला । टाढाको यात्रामा भने केही समस्या आउन सक्नेछ । आज कसैलाई पैसा दिने काम नगर्नुहोला । आफन्तको विश्वास पनि नगर्नुहोला ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर  सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । 

सिंहः आज पनि समय ज्यादै फाइदाको रहेको छ । त्यसकारण काम गर्दा धेरै महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला । जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका काम शुरु गर्नुहोला । समय शुभ रहेकाले यसअघि अवरोध भएका काममा अब सुधार हुँदै जानेछन् । आज धार्मिक क्षेत्रको भ्रमण फलदायी हुनेछ । 

सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ ।

कन्याः आज आँखामा एक्कासी समस्या आउन सक्नेछ । यातायात क्षेत्रबाट आर्थिक घाटा हुन सक्नेछ । कसैलाई नगद सापट दिएमा उठ्नै कठिन हुनेछ । चिसोले स्वास्थ्यमा गडबढी आउने सक्ने देखिन्छ । समय खराब रहेकाले सबै प्रकारले सतर्क भई हिंड्नुहोला । आज टाढाको यात्रा, नयाँ मित्रसंगको भेटघाट समेत विफल हुने देखिएको छ । आज नयाँ व्यापार व्यवसायमा लगानी पनि गर्नुहोला ।

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले अत्यधिक सफलताका लागि हरियो कपडा लगाने र गणेश भगवानको पूजा गर्नु लाभदायक मानिन्छ । 

तुलाः आज जोकसै व्यक्तिले धोका दिने प्रयास गर्नेछन् । आफ्नो क्षमता अनुसार जे काम गर्नुछ एक्लै गर्नुहोला । जसमाथि तपाईंले ठूलो विश्वास गर्नुभएको छ ति व्यक्तिहरूबाट नै काम बिग्रनेछन्, विशेष सतर्क रहनुहोला । समग्रमा भन्नुपर्दा आज समय शुभ रहेको छैन । प्रत्येक काममा व्यर्थैमा लगानी गर्नुभन्दा गरिरहेको पेशालाई यथावत नै रहन दिनु उचित हुनेछ ।

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । 

वृश्चिकः आज आकस्मिक रूपमा नगद प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ पाइने समय छ । विद्यार्थीहरूलाई उच्चतम् लाभ मिल्ने, नयाँ रोजगारीको अवसर मिल्ने छ । आदर–सत्कार, प्रतिष्ठा बढाउने काममा लगानी गर्ने शुभ अवसर आइलाग्ने छन्, प्रयास गर्नुहोला । समय शुभ रहेकाले समयको महत्व बुझेर अघि बढेमा लाभ मिल्नेछ । यात्रा पनि शुभ रहनेछ ।

 वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । दान–पुण्य गर्नाले मानसिक चिन्ता कम हुनेछ । 

धनुः आज चिसो र पखालालाले ठूलो दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । पिसाब सम्बन्धी रोग एक्कासी देखापर्न सक्छ । एक पटक स्वास्थ्य जाँच गराउनु नै उचित हुनेछ । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला । यात्रामा पनि शुभ समय रहेको छैन । आज टाढाको यात्रा गर्दै नगर्नुहोला ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले अधिक सफलता पाउन पहेंलो रंगको कपडा लगाउनुहोस् । आफ्ना गुरुलाई सम्मान गर्दै गुरुमन्त्रको जप गर्ने बानी बसाल्नुहोस् ।

मकरः आज सबै प्रकारले शुभ रहेको छ । पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । जे काम गर्नुछ आज थालनी गर्नुभएमा राम्रो हुनेछ । धार्मिक एवं सामाजिक कार्य पनि राम्रो हुनेछ । टाढाको यात्रा, मित्रसंगको भेटघाट पनि सुखद् हुन सक्ने देखिन्छ । माता पिताको आशिर्वाद लिएर काम गर्दा निकै राम्रो लाभ हासिल हुनेछ । 

मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ ।  

कुम्भः आज गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, वायुरोगले सताउने, खानामा गडबढी, कुनै चिन्ता पर्ने समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परे पनि निराश नभई सक्रियरुपमा आफ्नो कार्य सम्पादन गर्नुहोला । शैक्षिक क्षेत्रबाट पनि त्यति राम्रो फाइदा हुने देखिंदैन । समय खराब छ, आज पश्चिम दिशाको यात्रा ठीक छैन ।

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवको पूजा गर्ने, भोका व्यक्तिलाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

मीनः आज स्वास्थ्य ठीकठाक रहनेछ । गर्न खोजेका केही काम सफल, केही असफल हुनेछन् तैपनि कडा परिश्रम गर्नुभएमा निश्चित रुपमा केही नहुनु भन्दा राम्रै हुनेछ । तपाईं महिला पुरुष जो भए पनि आज नराम्रो आरोप लाग्न सक्छ । त्यसकारण जो कसैसंग लेनदेन कारोवार गर्दा ज्यादै सतर्क रहनुहोला । समय मध्यम छ, टाढाको यात्रामा पनि खासै उपलव्धि देखिंदैन । 

मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपिडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । 

साइतः आज चन्द्रमा मकर राशिमा छन् त्यसैले दक्षिण र पूर्व बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 

बिहान ५ः४२ बजेदेखि         ७ः१२ बजेसम्म        उद्धेग बेला
बिहान ७ः१२ बजेदेखि         ८ः४२ बजेसम्म        चर बेला
बिहान ८ः४२ बजेदेखि         १०ः१२ बजेसम्म        लाभ बेला
बिहान १०ः१२ बजेदेखि        ११ः४२ बजेसम्म        अमृत बेला
बिहान ११ः४२ बजेदेखि        १ः१२ बजेसम्म        काल बेला
दिनमा १ः१२ बजेदेखि         २ः४२ बजेसम्म        शुभ बेला
दिउँसो २ः४२ बजेदेखि          ४ः१२ बजेसम्म        रोग बेला
दिउँसो ४ः१२ बजेदेखि        ५ः४२ बजेसम्म        उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ