arrow

छोरा र श्रीमानको नागरिकता पाएपछि अन्तर्राष्ट्रिय निकाय जाने गंगामायाको तयारी

नसाको औषधि नपाउँदा गंगामायालाई अस्पतालमै मुस्किल 

logo
यमुना भण्डारी, 
प्रकाशित २०७७ भदौ १५ सोमबार
gangamaya-FNL.jpg

काठमाडौं । कोरोना संक्रमण र संक्रमणबाट मृत्यु भएका खबर सुनिनु अहिले नौलो कुरा भएन । कोरोनाका कारण सामान्यजनले निकै कष्ट भोगिरहेका छन् । 

अवस्था थप जटिल बन्दै गएको छ । अस्पतालमा सर्वसाधारणले सामान्य रोगको उपचार र औषधि नपाउने स्थिति सिर्जना भएको छ । कोरोना त छँदैछ सामान्य रोगको उपचार नपाएर मान्छे मर्ने अवस्था समेत सिर्जना भएको छ। 

न्यायका लागि संघर्षरत गोरखा फुजेलकी गंगामाया अधिकारी झण्डै दशकदेखि वीर अस्पतालको शय्यामा छिन् । उनले केही समय यता नसाको औषधि पाएकी छैनन् । पाए पनि मुस्किलले एक दुई दिनलाई मात्रै पाइरहेकी छिन् । 

औषधि सरकारले दिने हो, तर उपलब्ध गराउने फार्मेसीले छैन भन्छ । नसाको औषधि खान छुट्यो भने खुट्टा टन्केर खपिनसक्नु हुन्छ, गंगामायालाई । 

त्यतिमात्रै होइन कोरोना महामारीले गंगामायालाई केन्द्रीय कारागारमा रहेका जेठो छोरा नुरप्रसादको सञ्चो बिसन्चोको खबर पनि बुझ्न दिएको छैन । 

गंगामाया छोराको हालखबर बुझ्न दुई तीन पल्ट केन्द्रीय कारागार पुगिन्, तर ‘सन्चै होला केरे’ भन्दै फर्काइयो । अर्कोतिर हालसालै साउन २२ मा सर्वोच्चले काठमाडौं कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या अभियोग लागेका तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनका ब्रिगेड कमाण्डर गोविन्दबहादुर बटालालाई सफाइ दिने फैसलाको पूर्ण पाठ सार्वजनिक गरेपछि उनको मन फेरि भाँचियो । 

उनले यो खबर थाहा पाएपछि कान्छो छोरा कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा फरार रहेका रुद्र आचार्य पनि उम्किनेतर्फ चिन्ता गरिन् । कृष्णप्रसादको हत्या आरोपी १३ जना मध्ये १२ जनाले सफाई पाइसकेका छन् । विदेशमा लुकेर बसेका रुद्रविरुद्धको मुद्दा मुल्तवी छ । १२ जनालाई सफाई दिने चितवन जिल्ला अदालतको फैसलाविरुद्ध सरकारले पुनरावेदन गरेको भनिएको छ । तर, अदालती कारबाहीबारे थप कुरा आएको छैन, गंगामायालाई । 

कोरोनाकैबीचमा गंगामायाले थुप्रै पल्ट अनसन बस्न खोजिन् । तर, सबैले यस्तो बेलामा असन बस्नु घातक हुन्छ भनेपछि रोकिइन् । यो बीचमा उनको केही कागजात भने राष्ट्रसंघको नेपालस्थित कार्यालय पुगेका छन् । 

विकास बस्नेतले फाइल र गंगामायाको निवेदन बोकेर गएका हुन् । गंगामायाले अहिले एउटा कुराको अहिले निकै खोजी गरिरहेकी छिन् । त्यो हो, जेठो छोरा र श्रीमानको नागरिकता । 

ती दुई प्रमाणपत्र भेटे अब आफुलाई अन्तर्राष्ट्रिय निकाय जान कसैले नरोक्ने उनले बताएकी छन् । उनले भनेकी छन्, ‘छोरा र श्रीमानको नागरिकता पहिले नै कता गायब पारिदिए । अहिले प्रतिलिपि भए पनि त्यो नागरिकता मैले मागेकी छुँ । मेरो नागरिकता र पासपोर्ट दुबै बनिसकेको छ ।’

‘छोरा र श्रीमानको नागरिकता पाएँ भने म एक्लै पनि अन्तर्राष्ट्रिय निकाय जान्छु, उनले भनेकी छिन् । अहिलेसम्म अरुले हामी गरिदिन्छौ भनिरहेका छन्, गंगामायाले अगाडि थपिन्, ‘अहिलेसम्म मैले ल्याप्चे लगाउने र उहाँहरुले निवेदन र फाइल बोक्न जाने मात्रै काम भइरहेको छ ।’

मानव अधिकारकर्मीहरुप्रति गुनासो
मानव अधिकारकर्मीसँग गंगामायाका गुनासै गुनासा छन् । कनकमणि दिक्षित र सबोध प्याकुरेलले त आफुलाई छोडिसकेको उनको बुझाई छ । हुन पनि कनकमणिले वर्ष दुई जति भयो, फर्केर आउनु त के टेलिफोनसम्म पनि गरेका छैनन् । जेठो छोरा नुरप्रसाद जेल परेदेखि कनकमणिले चिहाउनसम्म आवश्यक ठानेनन् । गंगामाया भन्छिन्, ‘हिजो बोकेका हुन्, उनीहरुले । तर, आज के भो के छोडेर गए ।’ 

पछिल्लो समय नजिकिएका ईन्द्र अर्याल र ओमप्रकाश अर्यालले गएको जेठ २४ पछि सम्झिएका छैनन् । ‘मेरो फोन बिग्रिएकाले पनि होला, फोन गर्नेहरुको पनि फोन आएको छैन । चरण प्रसाँइ हुन् पछिल्लो समय बढी चिन्ता गर्ने । कोरोनाका कारण उनी पनि आउन पाएका छैनन् । यस्तो बेला आएनन् भन्नु हुँदैन । तर, मैले यहाँ औषधि नपाउँदा कसैले त सम्झाउनु पर्ने थियो अस्पताल प्रशासनलाई’ उनले अगाडि भनिन्, ‘मलाई कुर्न पठाएका प्रहरी नानीहरु घरि फार्मेसी कुद्नु पर्ने घरि यता आउनु पर्ने । कुरुवालाई दुःख भइरहेको छ ।’ 

अस्पतालले खानेकुरा त दिइरहेको छ, तर औषधिमा जहिल्यै कमजोरी देखिएको छ । पहिले यस्तो हुँदा मानव अधिकारकर्मीहरु र मिडियाले सतर्क गराई दिन्थे, गंगामायाले भनिन्, ‘कोरोनाले गर्दा पनि होला, अहिले मैले गुनासो पोख्न पाइरहेकी छैन ।’ 

गंगामायालाई कहिले औषधि त कहिले अन्य स–साना व्यवस्थापनले सताइरहन्छ । अहिले उनको पुरानो क्याविन (७ नम्बर) पनि फेरिएको छ । उनलाई अहिले पश्चिमपट्टीको क्याविनतिर सारिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ